close

एनभिडियाले ल्यायो ‘आरटीएक्स स्पार्क’ सुपरचिप, इन्टरनेटबिनै पीसीमा शक्तिशाली एआई एजेन्ट चल्ने

टेकपाना टेकपाना

जेठ १९, २०८३ १३:३

एनभिडियाले ल्यायो ‘आरटीएक्स स्पार्क’ सुपरचिप, इन्टरनेटबिनै पीसीमा शक्तिशाली एआई एजेन्ट चल्ने

काठमाडौँ । एनभिडियाले पर्सनल कम्प्युटर (पीसी) बजारमा क्रान्ति ल्याउने लक्ष्यसहित ‘आरटीएक्स स्पार्क’ (RTX Spark) नामको सुपरचिप सार्वजनिक गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले ताइपेईमा आयोजित कम्प्युटेक्स प्रविधि प्रदर्शनीको पूर्वसन्ध्यामा यो चिप प्रस्तुत गरेका हुन् ।

यो चिप १ पेटाफ्लप एआई कार्यक्षमतासहित आएको छ । अर्थात् यो चिपले प्रति सेकेन्ड १,०००,०००,०००,०००,००० (१ को पछाडि १५ वटा जिरो) सम्म जटिल गणितीय गणना गर्न सक्छ । सीईओ हुआङले पर्सनल एआई एजेन्ट चलाउनका लागि यो चिप डिजाइन गरिएको बताएका छन् । यो चिपले च्याटजीपीटी, जेमिनाईजस्ता एआईलाई इन्टरनेटबिना तपाईंको ल्यापटपमै छिटो चलाउने छ ।

यसमा ६,१४४ कुडा (CUDA) कोर भएको एनभिडियाको एआई केन्द्रित ब्ल्याकवेल जीपीयू र २० कोरको ग्रेस सीपीयू राखिएको छ । हालका सामान्य गेमिङ आरटीएक्स ४००० सिरिजमा १०,००० बढी कोर हुन्छन् । आरटीएक्स स्पार्क भने एआई कामका लागि अप्टिमाइज गरिएको हो ।

चिपले १२८ जीबीसम्म युनिफाइड मेमोरी सपोर्ट गर्ने बताइएको छ । यहाँनेर युनिफाइड मेमोरी भनेको एउटै साझा मेमोरी हो, जसलाई सीपीयू र जीपीयू दुवैले सजिलै प्रयोग गर्न सक्छन् । सामान्य ल्यापटप/पीसी मा सीपीयूको लागि अलग र्‍याम र जीपीयूको लागि अलग भीर्‍याम (VRAM) (जस्तै ८ जीबी वा १६ जीबी) हुन्छ । एआई वा ठुलो काम गर्दा डेटा सीपीयूबाट जीपीयूमा बारम्बार सार्नुपर्छ ।

प्रयोगकर्तालाई १२० अर्ब प्यारामिटरसम्मका ठुला ल्याङ्ग्वेज मोडेल (एलएलएम) हरू लोकल रूपमै सञ्चालन गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । यसका साथै १२के (12K) भिडिओ एडिटिङजस्ता उच्च मागका कामलाई पनि सहज बनाउने बताइएको छ ।

एनभिडियाले यो चिप विकास गर्नका लागि मिडियाटेकसँग सहकार्य गरेको छ । कम्पनीले यसलाई ‘पर्सनल एआई एजेन्ट’ हरू सञ्चालन गर्न विशेष रूपमा डिजाइन गरेको जनाएको छ ।

सीईओ जेन्सेन हुआङले चिपको बारेमा भन्छन्, “पीसी अब केवल उपकरण होइन, मानिसको सहयात्री बन्नेछ ।”

माइक्रोसफ्टसँगको साझेदारीमा यो चिप विन्डोज प्लेटफर्म (विशेषगरी ल्यापटप) का लागि ‘नेटिभ एआई एजेन्ट’ विकास गर्न प्रयोग हुनेछ । यसले ईमेल लेख्ने, फाइल व्यवस्थापन गर्ने, भिडिओ एडिट गर्ने, कोड लेख्ने, अनुसन्धान गर्ने वा दैनिक कामहरू स्वतः सम्हाल्ने छ ।

एडोबीले पनि आफ्ना चर्चित सफ्टवेयर फोटोशप र प्रिमियर प्रो लाई आरटीएक्स स्पार्कका लागि पुनर्संरचना गर्दै दुई गुणा बढी कार्यक्षमता दिने तयारी गरेको छ ।

डेल, एचपी, लेनोभो, आसुस, एमएसआई, माइक्रोसफ्ट सर्फेस जस्ता कम्पनीहरूले आउँदो अक्टोबर-नोभेम्बरसम्ममा यो चिप जडित ल्यापटप र डेस्कटप बजारमा ल्याउने योजना राखेका छन् ।

एनभिडियाको यो घोषणाले इन्टेल, एएमडी र एप्पल जस्ता प्रतिस्पर्धी कम्पनीहरूलाई चुनौती दिने देखिएको छ । पाँच ट्रिलियन डलरभन्दा बढी बजार मूल्यांकन भएको एनभिडियाले पीसी आर्किटेक्चरमा आफूलाई अब्बल सावित गर्दै आएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १९, २०८३ १३:१४