close

एआईले आफ्नो थप शक्तिशाली संस्करण आफैँ निर्माण गर्ने युग अपेक्षाभन्दा चाँडै आउन सक्छ - एन्थ्रोपिक

टेकपाना टेकपाना

जेठ २२, २०८३ ७:२७

एआईले आफ्नो थप शक्तिशाली संस्करण आफैँ निर्माण गर्ने युग अपेक्षाभन्दा चाँडै आउन सक्छ - एन्थ्रोपिक

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले निकट भविष्यमै मानिसको प्रत्यक्ष संलग्नताबिनै आफ्नै थप शक्तिशाली संस्करण निर्माण, परीक्षण र प्रशिक्षण गर्न सक्ने अवस्था आउन सक्ने चेतावनी एआई कम्पनी एन्थ्रोपिकले दिएको छ । तर यसप्रति पर्याप्त चर्चा र वहस नहुनु चिन्ताजनक भएको कम्पनीले जनाएकाे छ । 

कम्पनीले हालै प्रकाशित गरेको ब्लग पोस्टमा ‘रिकर्सिभ सेल्फ इम्प्रुभमेन्ट’ (Recursive self-improvement) नामक अवधारणाबारे चर्चा गर्दै एआईले आफैँलाई निरन्तर सुधार गर्ने चरण अपेक्षाभन्दा चाँडै आउन सक्ने सङ्केत देखिएको जनाएको छ । एन्थ्रोपिकका अनुसार अत्याधुनिक एआई मोडेलहरूले कोड लेख्ने, त्रुटि सच्याउने र अनुसन्धान गर्ने कार्यलाई तीव्र बनाएका छन् । यसले एआई प्रणालीहरूले अझ उन्नत उत्तराधिकारी प्रणाली निर्माण गर्ने ‘फिडब्याक लुप’ सिर्जना गर्न सक्ने सम्भावना बढाएको छ ।

केही विश्लेषकहरुले एआई विकासको गति सुस्त हुने अनुमान गरे पनि उपलब्ध सङ्केतहरूले आगामी वर्षहरूमा यसको गति अझ बढ्ने देखाएको एन्थ्रोपिकको ब्लगमा उल्लेख छ । विज्ञान र चिकित्साजस्ता क्षेत्रमा एआईले उल्लेखनीय प्रगतिको सम्भवना बनाएको छ । यद्यपि एआईले आफैँलाई विकास गर्न थालेपछि त्यसको विश्वसनीयता, सुरक्षा र मानव हितसँगको अनुकूलता सुनिश्चित गर्न आवश्यक उपकरण र नीतिगत व्यवस्था विकास गर्नुपर्ने देखिन्छ ।

एन्थ्रोपिकको आफ्नै क्लाउड च्याटबोटको सुधारले एआई कोडिङ एजेन्टलाई उन्नत बनाएको छ । यसले स्वतन्त्र एजेन्टहरूको विकासलाई पनि गति दिएको छ । अब त्यसको अर्को चरणका रूपमा ‘रिकर्सिभ सेल्फ इम्प्रुभमेन्ट’ देखा पर्न सक्ने एन्थ्रोपिकले जनाएको छ । अर्थात, एउटा एआई संस्करणले अर्को अझ सक्षम संस्करण निर्माण गर्ने सम्भावना बढेको छ ।

ब्लग पोस्टमा कम्पनीले निकट भविष्यमा एआई प्रणालीहरू आफ्नै उत्तराधिकारीलाई डिजाइन, निर्माण र प्रशिक्षण दिन सक्षम बन्न सक्ने उल्लेख गरेको छ । यदि यस्तो भयो भने क्लाउडको नयाँ संस्करण अघिल्लो संस्करणले नै विकास गर्न सक्नेछ, जसमा मानवको प्रत्यक्ष भूमिका आवश्यक नपर्न सक्छ ।

एआई क्षेत्रको अर्को अग्रणी कम्पनी ओपनएआईले पनि यसअघि ‘रिकर्सिभ सेल्फ इम्प्रुभमेन्ट’ सम्बन्धी सम्भावित जोखिमबारे चेतावनी दिँदै अनुसन्धानकर्ताबिच जानकारी आदानप्रदान आवश्यक रहेको बताएको थियो । एन्थ्रोपिकले आगामी महिनाहरूमा यस विषयमा सांसद तथा नीति निर्माताहरूसँग छलफल गर्ने योजना बनाएको जनाएको छ । 

कम्पनीका अनुसार एआईले आफैँलाई निर्माण गर्ने युग नजिकिँदै गएपनि त्यसले विश्वमा पार्ने प्रभावबारे अझै स्पष्टता छैन । त्यसैले अहिले नै यसबारे सार्वजनिक बहस र तयारी आवश्यक देखिएको छ । एन्थ्रोपिकले सम्भावित जोखिम व्यवस्थापन गर्न नसकिने गरी उन्नत एआई प्रणालीहरूले आफैँलाई तीव्र गतिमा सुधार गर्न थालेमा एआई निर्माताहरुले विकासको गति घटाउने वा अस्थायी रूपमा रोक्ने संयन्त्र स्थापना गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ ।


 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८३ १३:५०