डेल प्रो सिरिजका तीन ल्यापटप नेपालमा, मूल्य १ लाख २० हजार रुपैयाँदेखि सुरु
जेठ २४, २०८३ १५:१९
काठमाडौं । डेल प्रो सिरिज अन्तर्गत नेपाली बजारमा तीन मोडेलका नयाँ ल्यापटप भित्रिएका छन् । टाइटेनियम पार्टनर म्याक्स इन्टरनेसनलले डेल प्रो १४, डेल प्रो १४ प्लस र डेल प्रो १४ प्रिमियम गरी तीन मोडेलका ल्यापटप ल्याएको हो ।
डेलले आफ्नो उत्पादन पोर्टफोलियोलाई डेल, डेल प्रो र डेल प्रो म्याक्स गरी तीन फरक भेरियन्टमा उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार डेल सिरिज दैनिक प्रयोग तथा साना व्यवसायलाई लक्षित गरी डिजाइन गरिएको हो । त्यस्तै डेल प्रो व्यावसायिक प्रयोगकर्ता तथा प्रोफेसनलहरूका लागि तयार पारिएको छ । जसमा रिमोट म्यानेजमेन्ट लगायतका व्यावसायिक फिचर समेत समावेश छन् ।
@techpana Work ready business laptop- Dell pro series in Nepal #dellproseries #delllaptops #itplaza #techpana
♬ original sound - TechPana
यसैगरी डेल प्रो म्याक्स उच्च क्षमताको कार्यसम्पादन आवश्यक पर्ने इन्जिनियर, डिजाइनर तथा इन्टरप्राइज प्रयोगकर्तालाई लक्षित गरिएको छ । नेपालमा उपलब्ध भएको डेल प्रो १४ सिरिजका ल्यापटपहरूमा प्रिमियम डिजाइन, इन्टेल कोर अल्ट्रा प्रोसेसर, एआईमा आधारित फिचर, ओएलईडी डिस्प्ले तथा शक्तिशाली ग्राफिक्स जस्ता विशेषता रहेका छन् ।
कम्पनीका अनुसार यी ल्यापटपहरू कार्यालय व्यवस्थापनदेखि आधुनिक कार्यस्थलका विभिन्न आवश्यकताहरू पुरा गर्न सक्षम छन् । साथै, हेभी वर्क लोड, मल्टिटास्किङ तथा लामो समयसम्मको प्रयोगलाई ध्यानमा राखेर यी ल्यापटप तयार गरिएको कम्पनीले जनाएको छ । हलुका तौल र मजबुत डिजाइनका कारण कार्यालय तथा यात्राका क्रममा पनि यी ल्यापटप सहज रूपमा प्रयोग गर्न सकिन्छ ।
डेल प्रो १४ को सुरुवाति मूल्य १ लाख २० हजार रुपैयाँ रहेको छ भने डेल प्रो १४ प्लस र डेल प्रो १४ प्रिमियमको सुरुवाति मूल्य क्रमशः २ लाख २० हजार रुपैयाँ र ३ लाख ६० हजार रुपैयाँ रहेको छ । यी मूल्य सुरुवाति भेरियन्टका आधारमा तय भएकाले ल्यापटपलाई आफ्नो आवश्यकता अनुसार कन्फिगर गर्दा मूल्य फरक पर्नसक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यी ल्यापटप खरिद गर्ने ग्राहकले कम्पनीबाट ३ वर्षको आधिकारिक वारेन्टी समेत प्राप्त गर्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८३ १५:१९
