खुला प्रतिस्पर्धाबाट कार्यकारी अध्यक्ष नियुक्त गर्दै मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय
जेठ २५, २०८३ ११:१४
काठमाडौँ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयको कार्यकारी अध्यक्ष (President) नियुक्त गर्ने भएको छ । नेपालमा विश्व स्तरीय विश्वविद्यालय स्थापना गर्ने उद्देश्यका साथ स्थापित विश्वविद्यालयले एक सूचना जारी गर्दै योग्य, अनुभवी र इच्छुक व्यक्तिहरूबाट आवेदन माग गरेको हो ।
इच्छुक उम्मेदवारहरूले आफ्नो आवेदन २३ असार २०८३ (७ जुलाई, २०२६) साँझ ५ बजेभित्र विश्वविद्यालयको आधिकारिक ईमेल [email protected] मा पठाउनुपर्नेछ ।
आवेदनसँगै सिफारिस समितिका संयोजक पद्म ज्योतीलाई सम्बोधन गरिएको हस्ताक्षरसहितको निवेदन, सीभी, विश्वविद्यालयको विकासमा उम्मेदवारले पुर्याउन सक्ने योगदान र कार्य योजना झल्कने ९०० देखि १००० शब्दको विवरण र योग्यता प्रमाणित गर्ने कागजातहरू पेस गर्नुपर्नेछ ।
अध्यक्ष पदका लागि उम्मेदवारले सम्बन्धित विषयमा विद्यावारिधि (PhD) हासिल गरेको हुनुपर्नेछ । यसका साथै उम्मेदवारमा प्रख्यात प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक संस्थाको सफलतापूर्वक नेतृत्व गरेको अनुभव समेत खोजिएको छ ।
सरकार, राजनीतिक दलका नेता, दातृ निकाय र अन्य सरोकारवालाहरूसँग नीतिगत संवाद गर्न सक्ने क्षमता, संस्थालाई राजनीतिक लगायत सम्पूर्ण बाह्य हस्तक्षेपबाट सुरक्षित राख्न सक्ने प्रमाणित क्षमता र कोष खडा गर्न (Fundraising) सक्ने प्रमाणित खुबीलाई समेत आधार बनाइएको छ ।
उम्मेदवारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उच्च शिक्षाका एजेन्डा र तिनको समाधानका दृष्टिकोणहरूको गहिरो ज्ञानका साथै इमानदारी, नवप्रवर्तन र दृढताका लागि समाजमा चिनिएको व्यक्तित्व हुनुपर्नेछ ।
पारिश्रमिक तथा सुविधा
विश्वविद्यालयको आर्थिक नियमअनुसार नियुक्त हुने अध्यक्षलाई मासिक ८५,०७७ रुपैयाँ तलब र ५,००० रुपैयाँ महँगी भत्ता प्रदान गरिनेछ । यसका अतिरिक्त अध्यक्षले सामाजिक सुरक्षा कोषको सुविधा पाउनेछन् ।
अध्यक्षलाई कार्यालयको सवारी साधन र चालकको व्यवस्था गरिनेछ । यदि अध्यक्षले आफ्नै सवारी साधन प्रयोग गर्न चाहेमा आर्थिक नियमअनुसार इन्धन, मर्मत र चालक खर्च उपलब्ध गराइनेछ । साथै अध्यक्षले आफ्नो कार्यकालमा वार्षिक दुई महिनाको दरले अधिकतम ८ महिनासम्मको सशुल्क बिदा पाउनेछन् भने कार्यकाल सकिँदा उपयोग नभएको अधिकतम ६ महिनासम्मको बिदाको रकम भुक्तानी लिन सक्नेछन् ।
अध्यक्षको मुख्य जिम्मेवारी
अध्यक्षले विश्वविद्यालयको बोर्ड अफ ट्रस्टी (BOT) का निर्णय र निर्देशनहरू कार्यान्वयन गर्नेछन् । विश्वविद्यालयको अल्पकालीन र दीर्घकालीन योजना तथा रणनीति अनुरूप राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्झौतामा हस्ताक्षर गर्ने, सार्वजनिक मामिलामा विश्वविद्यालयको प्रतिनिधित्व गर्ने र विश्वविद्यालयको समग्र कार्यसञ्चालनमा नेतृत्व प्रदान गर्ने जिम्मेवारी अध्यक्षको हुनेछ ।
यस सम्बन्धी थप जानकारीका लागि विश्वविद्यालयको वेबसाइट www.mbust.edu.np हेर्न वा तोकिएका सम्पर्क नम्बरहरू ९८४१६२७९९९ र ९८५१२२३३५२ मा सम्पर्क गर्न सकिने विश्वविद्यालयले जनाएको छ ।
कस्तो छ मदन भण्डारी विश्वविद्यालय ?
यो एक नमुना र पूर्ण रूपमा अनुसन्धानमा आधारित विश्वविद्यालय हो । काठमाडौँको कलङ्कीबाट करिब २२ किलोमिटरको दूरीमा रहेको मकवानपुरको चित्लाङमा अवस्थित यो विश्वविद्यालय नेपालमै पहिलो पटक बोर्ड अफ ट्रस्टीद्वारा सञ्चालित छ । साथै सम्पूर्ण रूपमा राजनीतिक तथा बाह्य हस्तक्षेपबाट मुक्त छ ।
२०७९ को ऐनद्वारा स्थापित यस विश्वविद्यालयमा हाल स्नातकोत्तर र विद्यावारिधि तहमा अर्गानिक एग्रिकल्चर, फरेस्ट बायो मटेरियल्स साइन्स एन्ड इन्जिनियरिङ, सस्टेनेबल एन्ड रेजिलियन्ट इन्फ्रास्ट्रक्चर, डेटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स जस्ता विषयमा अध्यापन भइरहेको छ । अन्डरग्राजुएट तर्फ डिजिटल टेक्नोलोजी विषय रहेको छ ।
यहाँका विद्यार्थीहरू भर्ना भएदेखि नै पूर्णकालीन रूपमा अनुसन्धानमा संलग्न हुन्छन् र उनीहरूलाई प्रोत्साहन स्वरूप विश्वविद्यालयले मासिक स्टाइपेन्ड (अध्ययन भत्ता) समेत उपलब्ध गराउँछ । यस विश्वविद्यालयमा विद्यावारिधि (PhD) गरेका प्राध्यापकहरूलाई मात्र उनीहरूको अनुसन्धान र प्रकाशन क्षमताका आधारमा नियुक्त गरिन्छ ।
शैक्षिक उत्कृष्टतासँगै वातावरणीय दिगोपनलाई पनि उत्तिकै महत्त्व दिइएको यस संस्थाले आफ्नै सोलार फार्ममार्फत ५०० किलोवाट विद्युत् उत्पादन गर्नुका साथै वर्षातको पानी सङ्कलन र बायोग्यास प्लान्टमार्फत फोहोर तथा ढल व्यवस्थापनको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ । यो विश्वविद्यालय परम्परागत शिक्षण पद्धतिभन्दा फरक रहेर विद्यार्थीलाई अनुसन्धान, नवप्रवर्तन र व्यावहारिक ज्ञानमा पोख्त बनाउँदै नेपालको आर्थिक र प्राविधिक विकासमा योगदान पुर्याउने लक्ष्यमा अग्रसर छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ ११:१६
