‘सनातनी राज्यको पक्षमा बोल्दा मलाई सामाजिक सञ्जालमार्फत बलात्कार र ज्यान मार्ने धम्की आयो’
जेठ २७, २०८३ १८:४
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सनातनी राज्यको पक्षमा आवाज उठाउँदा आफूलाई ज्यान मार्ने र बलात्कारको धम्की आएको खुलासा गरेकी छन् । बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद ओलीले सामाजिक सञ्जालमार्फत आफूमाथि नियोजित रूपमा भौतिक आक्रमण र चरित्रहत्याको धम्की आइरहेको जानकारी गराएकी हुन् ।
ओलीले यस्तो विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुधन गुरुङले संसदभित्रै उनीसँग भेट गरी घटनाबारे चासो व्यक्त गरेका छन् । गुरुङले प्रतिपक्षी बेन्चमै पुगेर ओलीसँग कुराकानी गर्दै धम्की दिनेहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाए ।
ओलीले आफूलाई आएका धम्की संसद्मा सुनाउँदै भनिन्, “९० प्रतिशत सनातनीहरू बसोबास गर्ने देशमा नेपाल सनातन राज्य हुनुपर्छ भन्ने आवाज उठाउँदा मलाई ज्यान मार्ने, बलात्कार गर्ने र भौतिक आक्रमण गर्ने धम्की दिइएको छ । के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?”
उनले थप भनिन्, “विदेशी मिसनरीहरूबाट पाठ पढाइएका नक्कली इसाईहरूले भ्रम फैलाएर धर्मान्तरण गराइरहेका छन् । त्यसको विरुद्ध बोल्दा मलाई निसाना बनाइएको छ । व्यक्तिगत रूपमा म यस्ता धम्की सहन सक्छु, तर यो सिंगो सनातन धर्ममाथिको प्रहार हो ।”
पछिल्लो अध्यावधिक: जेठ २७, २०८३ १८:१३
