close

यस्ता छन्, पासवर्ड व्यवस्थापनका सुरक्षित ६ विकल्प

टेकपाना टेकपाना

कात्तिक १४, २०७६ ९:१

यस्ता छन्, पासवर्ड व्यवस्थापनका सुरक्षित ६ विकल्प

कहिले काहिँ पासवर्ड वास्तविक पीडा बनेर आइदिन सक्छ । हाम्रो अकाउण्ट सुरक्षित राख्न नम्बर तथा क्यारेक्टर सहितका जटिल तथा युनिक पासवर्ड राख्न विभिन्न मापदण्डहरू तथा सुझावहरू त तपाई हामीले पाइरहेकै हुन्छौँ । तर हाम्रो दिमागले सामान्यतया त्यस्ता सबै पासवर्ड स्मरणमा राख्न सक्दैन । त्यसो भए समाधान के त ? 

विकल्प सहितको समाधानका लागि यहाँ हामी तपाईंहरूका लागि केही सुरक्षित र सर्वस्वीकार्य पासवर्ड म्यानेजर सुझाउन गइरहेका छौँ । हुन त राम्रा पासवर्ड म्यानेजरहरू अरु पनि हुन सक्छन् । तै पनि इन्टरनेट दुनियामा सुरक्षित रहन उपलब्ध उत्तम पासवर्ड म्यानेजरहरूको सूची यहाँ  प्रस्तुत गर्न गइरहेका छौँ ।  

लास्टपास (विण्डो, म्याक, लिनक्स, क्रोम)

लास्टपास एउटा मजेदार पासवर्ड म्यानेजर हो । जुन प्रिमियम फिचर सहित निःशूल्क रुपमा उपलब्ध छ । एक पटक मास्टर पासवर्ड सेट गरेपछि लास्टपासमा तपाईले फायरफक्सदेखि क्रोम, एज, ‌ओपेरा र सफारीसम्ममा सेभ भएका लगईन सम्बन्धि प्रमाणहरू-यूजरनेम र पासवर्ड इम्पोर्ट गर्न सक्नुहुन्छ । 

यसले तपाईंको कम्प्युटरमा भएका सूचनाहरू डिलिट गरेर सुरक्षित रहन र पासवर्ड याद गरिरहनुपर्ने झञ्जटबाट मुक्ति दिनसक्छ । लास्टपासमा रहेका अन्य निःशूल्क फिचरहरूमा टू फ्याक्टर अथेन्टिकेशन, क्रेडिट मनिटरिङ र मल्टिपल आईडेन्टिटीदेखि अनलाइन सपिङको सहजताका लागि अटो फिल फिचर समेत रहेका छन् । 

यसले तपाईंको इनक्रिप्टेड सूचना समेत आफ्नो क्लाउड सर्भरमा स्टोर गर्छ ता कि तपाईंले लास्टपासलाई आफ्नो पीसीका अलावा अन्य कम्प्युटरमा समेत सहजै प्रयोग गर्न सक्नुहुनेछ । लास्टपासले युनिक पासवर्ड तयार पार्न पासवर्ड जेनेरेटरको रुपमा समेत काम गर्छ । 

फिचर र इन्टरफेसका कारण लास्टपास धेरैको रोजाइको विषय हुँदा हुँदै हामीले यो पनि स्मरण गर्नुपर्ने हुन्छ कि यसले विगतमा कुनैबेला सुरक्षा संमवेदनशीलताको सामना समेत गर्नुपरेको थियो । 

ड्यासलेन (विण्डो, म्याक, आईओएस, एन्ड्रोइड)

ड्यासलेन सहज र साधारण छ । टू फ्याक्टर अथेन्टिकेशनबाट शशक्त बनाइएको छ । यसको मद्दतबाट धेरै पासवर्डलाई केही क्लिकमै एकै ठाउँमा व्यवस्थित रुपमा राख्न सकिन्छ । तपाईंको अकाउण्टमा कुनै समस्या देखिए यसले इमर्जेन्सी सम्पर्कमा इन्क्रिप्टेड पासवर्ड पठाउँछ ।

यो सफ्टवेयरले तपाईंलाई स्थानीय रुपमै इनक्रिप्टेड रुपमा पासवर्ड स्टोर गर्ने सुविधा समेत दिन्छ, अर्थात स्वचालित रुपमा पासवर्डहरू तपाईंको डिभाइसहरूमा सिंक गराउँछ । ड्यासलेन एउटा डिजिटल वालेट समेत हो । जसबाट तपाईंले विभिन्न बिक्रेताबाट अनलाइन खरीद समेत गर्न सक्नुहुन्छ ।

यद्यपी त्यो सुविधा हालसम्म नेपालमा भने उपलब्ध भइसकेको छैन । तपाईंको अकाउण्ट रहेको साइट ह्याक भएको खण्डमा एपलाई स्वचालित रुपमा पासवर्ड रिसेट गर्नेगरी सेट गर्न समेत सक्नुहुन्छ । ड्यासलेन निःशूल्क भए पनि व्यवसायिक भर्सनको लागि भने वार्षिक रुपमा निश्चित शूल्क तिर्नुपर्ने हुन्छ । 

१पासवर्ड (विण्डो, म्याक, आईओएस, एन्ड्रोइड)

अर्को एकदमै ख्यातिप्राप्त तथा विश्वसनीय पासवर्ड म्यानेजर हो १पासवर्ड । मजबुत पासवर्ड जेनेरेटर फिचरका साथै यूजरनेम तथा पासवर्ड स्टोरेज (सुरक्षित सेयरिङ सहित), वेबसाइटमा हुने चोरीको प्रत्यक्ष रुपमा जानकारी समेत प्रयोगकर्ताले पाउने गरी यसलाई ‘वाचटावर’ मा डिजाइन गरिएको छ ।

यो सफ्टवेयरको डिजिटल वालेटमा तपाईंले सुरक्षित रुपमा लगिन तथा क्रेडिट कार्ड सम्बन्धि सूचनाहरू स्टिकी नोट तथा नेटवर्क पासवर्डको रुपमा सेभ गर्न सक्नुहुन्छ । डेभलपरहरू समेत यो सुरक्षित रहेकोमा विश्वस्त छन् । एकताका उनीहरूले यसलाई तोड्न सक्ने जो कोहीलाई एक लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गरेका थिए ।

एक पटकको खरीदमा तपाईंले स्थानीय रुपमै सिंक गराउने सुविधा पाउनुहुनेछ । यद्यपी सफ्टवेयरलाई तपाईंको ड्रपबक्स, आईक्लाउड तथा अन्य विधिमार्फत कम्प्युटरसँग सिंक गराउनका लागि प्रयोग गर्न पनि सक्नुहुन्छ । तर यसको सबैभन्दा ठूलो समस्या भनेकै यसको निःशूल्क भर्सन नहुनु हो ।

यदी यसलाई प्रयोग गर्न चाहनुहुन्छ भने तपाईंले मासिक ३ अमेरिकी डलरका दरले शूल्क तिर्न तयार हुनैपर्छ । यद्यपी एक पटकको खरीदको रुपमा सीमित सिंकिङको विकल्प सहितको १पासवर्ड प्रयोग गर्न सकिने विकल्प समेत दिइएको छ । 

किपर स्केक्युरिटी पासवर्ड म्यानेजर (म्याक, विण्डोज, लिनक्स)

किपर सेक्युरिटीले इन्टरप्राइज, व्यवसायिक, पारिवारिक र व्यक्तिगत स्तरमा पासवर्ड सोलुसन उपलब्ध गराउँदै आएको छ । जसले यसलाई अहिलसम्मकै सबैभन्दा ठूलो पासवर्ड म्यानेजरको रुपमा स्थापित गर्दै लगेको छ ।

यसले टू फ्याक्टर अथेन्टिकेशन प्रयोग गर्नुका साथै तपाईंको सूचना सुरक्षित रुपमा संचित गर्ने सुविधा दिँदै आएको छ । किपरमा यस्ता कतिपय व्यवहारिक फिचरहरू छन्, जसले व्यक्तिगत स्तरका प्रयोगकर्ताहरूबाट निकै नै प्रशंशा बटुल्न सफल भएको छ ।

जसमध्ये एक हो भर्सन हिस्ट्री-यसले कुनै समस्या परेर आवश्यक परेको खण्डमा तपाईंको रेकर्डको सुरुको भर्सन समेत रिस्टोर गर्न सक्छ । यसका साथै इमर्जेन्सी एक्सेसको रुपमा विभिन्न पाँच ‌ओटा सम्पर्कबाट तपाईंले आफ्नो पासवर्डमा पहुँच बनाउन सक्नुहुन्छ । 

किपरले अन्य कतिपय पासवर्ड म्यानेजरको दाँजोमा थप लचकताका साथ डाटा स्टोरको सुविधा दिँदै आएको छ । जसअनुसार एपमा तपाईंले कस्टम फिल्डमा पासपोर्टको सूचना, ड्राइभिङ लाइसेन्स नम्बर र अन्य महत्वपुर्ण रेकर्ड संग्रह गरेर राख्न सक्नुहुन्छ । 

स्टिकी पासवर्ड (विण्डो, एप्पल, एन्ड्रोइड, आईओएस)

स्टिकी पासवर्ड एभीजी एन्टिभाइरस निर्माताहरूले बनाएको निःशूल्क पासवर्ड म्यानेजर हो जसको प्रिमियम भर्सनमा अतिरिक्त क्लाउड फिचर समावेश छ । यसले मजबुत पासवर्ड जेनेरेट गर्नुका साथै एईएस-२५६ इन्क्रिप्सन र खास गरेर मोबाइल डिभाइसका लागि सहज किसिमको नेभिगेसन  समेत दिइएको छ ।

स्टिकी डेक्सटपमा (मोबाइलमा भने केही मात्रामा सीमित गरिएको छ) पाल मून, यानडेक्स र सी मङ्की ब्राउजरको फराकिलो विविधतालाई समेट्ने किसिमको छ । यसमा वायरलेस कनेक्नसनमा समवेदनशिल तथ्याङ्क जोगाउन क्लाउड इन्क्रिप्टेड सिंकिङको विकल्प समेत दिइएको छ । लगईन पासवर्डका लागि स्टिकीले फेस आईडी र फिङ्गरप्रिन्ट दुवैलाई सपोर्ट गर्छ ।

इन्टेलको ट्रु की

ट्रु की खासगरी मास्टर पासवर्डको विकल्पको रुपमा रहेको बायोमेट्रिकमा केन्द्रीत छ । यसले साइन ईनका लागि पासवर्डको साटो फेस तथा फिंगरप्रिन्टमा जोड दिन्छ । अन्य उत्कृष्ट पासवर्ड म्यानेजरले जस्तै यो एपले नयाँ अकाउन्टमा लगिङ गर्दा नयाँ पासवर्ड उपलब्ध गराउँछ र तपाईको सूचनाको संरक्षण गर्छ ।

यो सफ्टवेयरले स्वचालित रुपमा तपाईंलाई साइन आउट गर्छ भने पुरानो मास्टर पासवर्ड समेत रिसेट गरेर सहयोग पुर्‍याउँछ । यी दुबै फिचरलाई आफ्नो अनुकुलतामा निश्चित अन्तरालका लागि मिलाउन समेत सकिन्छ । ठेगानाहरू, क्रेडिट कार्ड, सदस्यता, लाइसेन्स नम्बर लगायतका सूचनालाई स्टोर गर्ने विकल्प पनि यसमा दिइएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३