काठमाडौं । नेपालीलाई ठगी गर्नका सञ्चालनमा आएको अवैध सट्टेबाजी प्लेटफर्म निजमेगन बन्द भएको छ । बुधवार राति टेलिग्राम च्यानलमार्फत सो प्लेटफर्मका एजेन्टले साइट बन्द भएको घोषणा गरेका हुन् ।
फेब्रुअरीदेखि सञ्चालनमा आएको उक्त प्लेटफर्मले नेपालीलाई रकम जम्मा गरेकै भरमा दैनिक दुई प्रतिशतभन्दा बढी ब्याज दिने भन्दै आश्वासन दिइरहेको थियो । त्यसको लोभमा पर्दा कयौं नेपाली युवायुवतीले उक्त प्लेटफर्ममा रकम जम्मा गरेका थिए ।
“छ महिनासम्म चल्छ भनेको थियो,” टेकपानासँग कुरा गर्दै पीडित गीता राई (नाम परिवर्तन)ले भनिन्, “हेर्नुन तीन महिनामै हरायो ।” उनी कक्षा १२ मा पढ्दैछिन् । केही दिनमा उनको जाँच पनि आउँदैछ । साथीको लहलहैमा लागेर टेलिग्राम अकाउन्ट बनाएकी थिइन् । सोही अकाउन्टमा उनी कसरी निजमेगनको च्यानलमा जोडिइन् आफैंलाई थाहा छैन ।
आर्थिक अवस्था न्यून भएकी गीतालाई उनकी आमाले बाख्रो बेचेर सोमबार मात्र पाँच हजार पठाएकी थिइन् । जाँच सकिनेबेला सम्म खर्च टार्न आमाले पठाएको उक्त रकम दिनमै ७०० रुपैयाँभन्दा बढी कमाउने लोभमा पर्दा एकएक गुम्यो । अहिले उनी जाँचमा कसरी पास हुने भन्ने एउटा चिन्ता बोकिरहेकी छिन् भने कोठामा सकिएको चामल कसरी व्यवस्थापन गर्ने भन्ने अर्को चिन्ताको भुमरीमा फसेकी छिन् ।
उनी जस्तै २४ वर्षीय राज शर्मा (नाम परिवर्तन) पनि लोभमा पर्दा करिब दुई लाख रुपैयाँ गुमेको छ । राम्रो लगानी गरे छोटो समयमा आकर्षक आम्दानी हुने आश्वासनमा परेपछि राजले ऋण मागेर निजमेगनमा रकम जम्मा गरेका थिए ।
“कति दुःख गरेर ऋण मागेको पैसा हो त्यो,” राजले भने, “अब कसरी असुल्ने । गाउँमा पैसा के भयो भनेर जवाफ दिने ? साह्रै गाह्रो भयो हजुर !”
सङ्खुवासभाकी २५ वर्षीय नवीना गरुङ (नाम परिवर्तन) लाई त झन् यो प्लेटफर्म बुधबार नै बन्द हुन्छ भन्ने थाहा थियो । “मलाई एउटा दाईले निजमेगनको पैसा छिटो निकाल त्यो बन्द हुँदैछ भनेर बिहानै भन्नु भएको थियो,” नवीनाले भनिन्, “मैले बेट (सट्टेबाजी) हालिसकेको थिएँ । निकाल्नै मिलेन । निकाल्छु भन्दा बन्द भइसकेको रहेछ ।”
यी तीन प्रतिनिधि पात्र मात्र हुन् । नाफा पाउने आशमा आफ्नो खर्च कटाएर रकम जम्मा गर्नेहरूको सङ्ख्या गनी साध्य छैन ।
यो प्लेटफर्म सञ्चालमा आएको तीन दिनमै दुई हजार बढी नेपाली त्यसमा जोडिएका थिए । पहिले सञ्चालनमा आएकाे सट्टेबाजी प्लेटफर्म फिफियाको च्यानलका नाम परिवर्तन गरेर नयाँ नाम राखेपछि पहिले ठगिएकाहरू यसमा पनि ठगिन पुगेका छन् ।
के हो निजमेगन, अनि कसरी सञ्चालन भइरहेको थियो यो प्लेटफर्म ?
‘एनईसी निजमेगन’ नाम दिइएको यस प्लेटफर्मले सबैभन्दा पहिले आफ्नो सञ्जाल टेलिग्राममा विस्तार गरेको थियो । यसअघि ‘फिफिया’ नाम भएकै च्यानलको नाम परिवर्तन गरेर नयाँ नाम राखी ग्रुप सञ्चालन गरिएको थियो । त्यही ग्रुपबाट नयाँ प्रयोगकर्ताले यो प्लेटफर्मको बारेमा थाहा पाएका थिए ।
फिफिया बन्द भएपछि त्यही समूहले नेपाली प्रयोगकर्तालाई नै लक्षित गरेर तयार पारेको यो प्लेटफर्म १० फेब्रुअरी २०२४ मा दर्ता भएको ‘हु इज लुकअप’ले देखाएको छ ।
‘हु इज डकटम’मा यो वेबसाइटको नाम सर्च गर्ने हो भने प्रायः जानकारी गलत राखेको देख्न सकिन्छ । किनभने त्यहाँ उल्लेख भएको सहर, स्ट्रिट, फोन नम्बर र अन्य विवरण छ्यासमिस अक्षरमा राखिएको छ । त्यस्तै वेबसाइटको एक्सटेन्सन पनि चिरपरिचित शब्द नभई ‘डट सीसी’ छ ।
उनीहरूले निजमेगन नाम दिएर सञ्चालनमा ल्याएका विभिन्न टेलिग्राम च्यानलमा झन्डै २० हजार बढी सदस्य जोडिएका थिए । यद्यपि ती टेलिग्राम च्यानल अहिले बन्द भइसकेका छन् ।
यसअघि यो प्लेटफर्म बन्द हुनुअघि उनीहरूले प्रयोगकर्ता प्रभावित पार्न कतै यो प्लेटफर्म बेलायतको न्यायालयमा दर्ता भएको भनेका थिए भने कतै न्यूजिल्यान्डमा दर्ता भएको भन्ने दाबी गरेका थिए । नाम भने नेदरल्यान्डको ‘एनईसी निजमेगन’ क्लबको दुरुस्तै सारिएको देख्न सकिन्छ ।
आधिकारिक जस्तो देखाउन लोगो पनि सोही क्लबको प्रयोग गरिएको छ । त्यसमा पनि कम्पनी स्तरीय हो भन्ने देखाउन यसलाई ट्रेडिङ एड्भाइजर र कमोडिटी पुल अपरेटरका रूपमा एनएफएले मान्यता दिएको दाबी गरिएको छ ।
टेलिग्राम च्याटमा यस कम्पनीलाई फुटबलमा लगानी गर्ने प्लेटफर्मका रूपमा चर्चा गरिएको छ । त्यस्तै विभिन्न किसिमका प्रडक्टको विज्ञापन गर्ने र समय समयमा गिभअवे गर्ने आश्वासन दिइएको छ । त्यसमा लगानी गरिएको रकम जुनसुकै बेला निकाल्न सकिने उक्त प्लेटफर्म सञ्चालकको दाबी थियो । यसबाट बढीभन्दा बढी फाइदा हुने भन्दै लगानी गर्न प्रेरित गरिएको थियो ।
त्यस्तै उक्त प्लेटफर्मको सञ्चालकले एजेन्ट बन्नेहरूका लागि विशेष तलब सुविधा दिने भनिएको थियो । टेलिग्राममा राखिएको जानकारी अनुसार ३० जना सदस्य बनाए मासिक २५०० रुपैयाँ हुने भनिएको छ भने ३०० सदस्य बनाउनेलाई मासिक ४० हजार तलब दिइने बताइएको थियो । त्यसबाहेक उक्त प्लेटफर्ममा सक्रिय हुने एजेन्टहरूले ल्यापटप तथा अन्य महँगा उपहार दिएको भन्दै टेलिग्राममा फोटो पनि बाहिरिएका थिए ।
प्रयोगकर्तालाई कम्पनी आधिकारिक जस्तो देखाउन प्रमाणपत्र पनि राखिएको थियो । जहाँ यो कम्पनी ‘एनईसी होल्डिङ्स लिमिटेड’ को नामबाट २५ अक्टोबर २००६ मा देखाइएको थियो । यही प्रमाणपत्रको आडमा कम्पनी प्रमाणित भएको भनिएको थियो ।
तर, एनईसी होल्डिङ्स लिमिटेड र यो अवैध प्लेटफर्मको अगाडिको तीन अक्षरबाहेक अरु केही मिल्दैन । उनीहरूले यो प्लेटफर्म आधिकारिक जस्तो देखाउन जुन कम्पनीको प्रमाणपत्र देखाएका छन्, त्यो प्रमाणपत्र न्यूजिल्यान्डको कम्पनी अफिसको वेबसाइट अथवा यहाँ क्लिक गरेर हेर्न सकिन्छ । यसरी सबै कोणबाट अवैध देखिने यो प्लेटफर्मको आधिकारिकता पनि नबुझी नेपालीले लाखौं रकम जम्मा गरेका थिए ।
यतिसम्म कि, नेपालीलाई झुक्याउन यो प्लेटफर्म अन्तर्राष्ट्रिय स्तरमै मान्यता पाएको भन्नेसम्मका भ्रम छरिएको थियो । नेपालमा भने उनीहरूले दर्ता गरेको त्यस्तो कुनै कागजात देखाएका थिएनन् ।
यसअघि फिफियाका सन्दर्भमा ‘फिफिया मिडिया प्रालि’ नामको मिडियाका रूपमा दर्ता गरेर कम्पनी नेपालको आधिकारिक भएको भ्रम फैलाइएको थियो । पछि कम्पनी दर्ता गर्ने महिलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर सार्वजनिक गरेको थियो । पक्राउ पर्ने डरले नै उनीहरूले यसपटक नेपाली कम्पनीका रूपमा यो प्लेटफर्मलाई चिनाएका थिएनन् ।
कसरी भएको थियो कारोबार ?
यस प्लेटफर्मलाई लगानी गर्ने र बेटिङ खेल्न सकिने प्लेटफर्मका रूपमा चर्चा गरिएको थियो । त्यसमा कसैले पठाएको रेफरल लिङ्कबाट गए लिङ्क पठाउने र अकाउन्ट बनाउने दुवैलाई बोनस आउने भनिएको छ । तर, त्यसबाट आउने बोनस रकम निकै कम राखिएको थियो । बढीभन्दा बढी आम्दानी गर्नका लागि प्रयोगकर्ताले बढी नै रकम राख्नुपर्ने भनिएको थियो ।
यसमा खुलेआम नेपाली वालेट र बैंकको लोगो राखेर रकम जम्मा गर्न सकिने बताइएको थियो । वालेटमा ईसेवा, खल्ती र आईएमई पेबाट र बैंकमा हिमालय बैंक, माछापुच्छ्रे बैंकबाट रकम जम्मा गर्न सकिने भनिएको थियो । पहिले गरिमा बैंक र ज्योती विकास बैंकको खाता नम्बर राखिएको थियो । पछिल्लो समय भने ती खाता हटाइएको थियो ।
वालेटबाट न्यूनतम् एक हजारदेखि १० लाख रुपैयाँसम्म जम्मा गर्न सकिने उल्लेख थियो । त्यस्तै बैंक अकाउन्टमा न्यूनतम् १५०० रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जम्मा गर्न सकिने भनिएको थियो ।
वालेट तथा बैंक अकाउन्टको क्यूआर उपलब्ध गराइएको थियो । जसमा सबै अकाउन्टको अकाउन्ट होल्डरको नाम ‘विशाल अली साइ’ भनिएको थियो । रकम पठाइसकेपछि स्क्रिनशट चा ट्रान्जेक्सन स्लिप पठाए रकम लोड हुने भन्दै विश्वस्त बनाइएको थियो ।
यसरी रकम जम्मा गरेको केही समयमै रकम डिपोजिट हुने उनीहरुको भनाइ थियो । त्यहाँ राखिएका जति पनि बैंक अकाउन्ट तथा वालेट थिए ती बारम्बार परिवर्तन भइरहेका हुन्थे । यस विषयमा जानकारका व्यक्तिका अनुसार यसका थुप्रै एजेन्टहरू थिए । जसले रकम मुख्य एजेन्टलाई बाइनान्स मार्फत क्रिप्टोकरेन्सीका रूपमा दिन्थे ।
त्यस्तै रकम जम्मा गरेर निकाल्न खोज्नेहरूलाई पनि यिनै एजेन्टहरू रकम पठाउँथे । त्यस्तै केही एजेन्टले भौतिक रूपमा कार्यक्रम आयोजना गरेर नयाँ प्रयोगकर्तालाई आकर्षित गर्थे । रकम जम्मा गरेपछि निजमेगन अकाउन्टमा जुन रकम देखिएको हुन्थ्यो त्यो सबै नम्बर बाहेक केही थिएन ।
कसरी खेल्थे यसमा बेटिङ ?
यसमा अकाउन्ट बनाएर हेर्दा ‘Matches’ भन्ने सेक्सन देखिएको थियो । त्यसमा थुप्रै क्लबहरूको म्याच हुने समय र लोगो राखिएको थियो ।
त्यसको तलपट्टि ‘बेट नाउ’ बटन राखिएको थियो । त्यसमा क्लिक गर्दा भित्र स्कोर कार्ड जस्तो देखिन्थ्यो । जसमा पछाडि यति प्रतिशत नाफा हुने भनिएको थियो । त्यसमध्ये कुनै अप्सन छान्यो भने बेट भएको देखाइन्थ्यो । र, अन्तिममा जति प्रतिशतले रकम बढ्छ भनिएको छ, रकम त्यति नै बढाएर राखिन्थ्यो । यही लोभमा पर्दा प्रयोगकर्ता बढीभन्दा बढी रकम जम्मा गर्न प्रेरित हुन्थे ।
यो प्लेटफर्ममा एजेन्ट भयो भने छुट्टै तलब, तर इन्भिटेसन कोडबाट जोड्यो भने त्यही अनुसारको बोनस दिने आश्वासन दिइएको थियो । तसर्थ अन्य प्रयोगकर्ताले बढी रकम कमाउने आशमा सर्वसाधारणलाई यसमा जोडिएका थिए । यो नेटवर्किङभन्दा भिन्नै शैलीमा मौलाउन खोजिरहेको प्लेटफर्म थियो ।
यसअघि हजारौं प्रयोगकर्ताको लाखौं रकम खाएर बेपत्ता भएको फिफियाले पनि प्रयोगकर्ता बढाउन विभिन्न रणनीति अपनाएको थियो । विशेषगरी पार्टी प्यालेसहरूमा कार्यक्रम गर्ने, त्यहाँ नयाँ प्रयोगकर्तालाई आमन्त्रित गर्ने र लगानी गर्न सिकाउने गरिन्थ्यो । कतिपयले भने ‘मैले महिनामै लाखौं कमाएँ’ भन्दै गफ पनि दिइरहेका हुन्थे । त्यही लोभमा नयाँ प्रयोगकर्ता त्यस्ता प्लेटफर्ममा जोडिन्थे ।
यतिसम्म कि फिफियाका एजेन्टले सामाजिक सेवाका काम गरेको भन्दै चामल बाँडेर फोटो खिच्ने र त्यसैलाई कार्यक्रममा देखाउँथे । यति भएपछि नयाँ प्रयोगकर्ता त्यसमा जोडिन्थे र ऋण गरेरै भए पनि त्यस प्लेटफर्ममा रकम जम्मा गर्थे । यता निजमेगनले पनि त्यसरी नै आफ्नो जालो मौलाइरहेको थियो ।
नेपालमा जुवा तथा सट्टेबाजी कार्य प्रतिबन्धित छ । संशोधित जुवा ऐन २०२० को दफा २ मा जुवाको परिभाषा स्पष्ट उल्लेख छ । सो ऐनमा 'जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने गरी कुनै संयोग आधारमा बाजी थापी खेलेको कुनै खेल भनी सम्झनु पर्छ' भनिएको छ । जुवा ऐन २०२० को दफा ३ मा जुवा खेल्न वा खेलाउन प्रतिबन्ध रहेको उल्लेख छ ।
दफा ३ को उपदफा १ मा लेखिएको छ, “कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोगचलन वा जिम्माको कुनै घर कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन ।”
ऐनको दफा ४ मा दफा ३ मा मनाही गरेका काम गर्ने वा गराउनेलाई विभिन्न सजाय हुने व्यवस्था गरिएको छ ।