close

आईटी व्यवसायीको चुनाव ‘मतपत्र’मा, कसले गर्ला क्यानको नेतृत्व ?

टेकपाना टेकपाना

मंसिर ७, २०७६ ८:४५

आईटी व्यवसायीको चुनाव ‘मतपत्र’मा, कसले गर्ला क्यानको नेतृत्व ?

आज नेपालको सूचना प्रविधि क्षेत्रको छाता संगठन कम्प्युटर एशाेसियसन नेपाल (क्यान) फेडेरेशनको निर्वाचन आज हुँदैछ । राजधानीको खुसिबुस्थित विनायक मल्ट्री भेन्युमा विहान ९ बजेदेखि सुरु हुने क्यानको महाधिवेशन पश्चात बन्दसत्र हुँँदै निर्वाचनको प्रक्रिया अगाडि बढ्नेछ । 

क्यान महासंघको निर्वाचन समितिका अनुसार दिउसो १२ बजेदेखि निर्वाचन सुरु गर्ने कार्यक्रम रहेको छ । निर्वाचन करिब ५ घन्टा लामो हुनेछ । 

सूचना प्रविधिको क्षेत्रमा संलग्न व्यक्तिहरुको निर्वाचन भएपनि यसमा प्रविधिको उपयोग भने गरिएको हुने छैन । त्यसैले निर्वाचनका लागि देशका विभिन्न ५६ जिल्लाबाट सहभागी हुन आएका प्रतिनिधिले लाइनमै बसेर मतपत्रमार्फत परम्परागत रुपमै मतदान गर्नुपर्नेछ । 

निर्वाचनबाट आगामी दुई बर्षका लागि ४२ सदस्यीय कार्यसमितिको चयन हुनेछ । त्यसमध्ये आजको निर्वाचनबाट अध्यक्ष र बाँकी पदमाका लागि केवल सदस्यमात्र निर्वाचित हुनेछन् । निर्वाचित सदस्यले नै पछि उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको चयन गर्ने क्यानको विधानको व्यवस्था छ । 

महासंघ निर्वाचनमा जिल्ला शाखा, व्यक्तिगत आजिवन, व्यक्तिगत सदस्य, संस्थागत आजिवन, संस्थागत सदस्य र लेखा समितिका लागि निर्वाचन हुनेछ । सम्बन्धित प्रतिनिधिहरुले अध्यक्ष बाहेक सम्बन्धित क्षेत्रको लागि मात्र मतदान गर्न पाउने छन् ।

को बन्ला अध्यक्ष ?

यसपटक क्यानको नेतृत्वका लागि वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष नवराज कुँवर र उपाध्यक्ष सुनैना पाण्डेले प्यानलसहित उम्मेदवारी दिएका छन् । क्यानमा प्यानलसहित निर्वाचन हुन लागेको यो आफैमा पहिलोपटक पनि हो । क्यानको इतिहासमा कुँवर पहिलोपटक राजधानी बाहिरबाट अध्यक्षको प्रतिस्पर्धि बन्न लागेको दाबी गर्छन् भने पाण्डे क्यानको नेतृत्वमा पहिलोपटक महिलाले उम्मेदवारी दिएको बताउँछिन् । 

काठमाडौं बाहिर कुँवरको पकड राम्रो छ भने पाण्डे उपत्यका भित्रको संस्थागततर्फ बलियो स्थितिमा रहेको विश्लेषण छ । यसअघि उम्मेदवारी दिनेक्रममा कुँवरको प्यानलतर्फका १३ जना र पाण्डेय तर्फका ४ जना निर्विरोध रुपमा निर्वाचित भइसकेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१