close

एसईओ के हो, के होइन ? जान्नैपर्ने ‍६ तथ्य

टेकपाना टेकपाना

बैशाख २६, २०७७ ११:३८

एसईओ के हो, के होइन ?  जान्नैपर्ने ‍६ तथ्य

म धेरै व्यवसायीहरुको सम्पर्कमा पुगेँ । तर कसैसँग पनि एसईओ अर्थात् सर्च इन्जिन अप्टिमाइजेसनको विषयमा सामान्य जानकारीसम्म थिएन । न त उनीहरु एसईओको बारेमा वा त्यसले कसरी काम गर्छ भन्ने बारेमा जान्न उत्सुक नै थिए ।

साना व्यावसायी तथा स्टार्टअपहरुसँग एसईओको स्पष्ट बुझाइ नभएको कुरामा उनीहरुको गल्ती छैन । तर एसईओलाई बाहिरबाट जे देखिन्छ वा जसरी सामान्य रुपमा सोचिन्छ, वास्तवमा त्यो चाहिँ गलत बुझाइ हो । यसबारे बुझ्न आवश्यक छ ।

वास्तवमा एसईओ एउटा प्रक्रिया हो । जसले वेब सर्च इन्जिनमा तपाईंको वेबसाइटको भिजिबिलिटीलाई बढाउने र वेबसाइट ट्राफिकको गुणस्तर र संख्यालाई बढाउने काम गर्छ ।

धेरै नेपाली व्यावसायीहरु अनलाइनमा गइरहेका छन् । तर उनीहरु जुन र्‍याङ्किङमा आउनु पर्ने हो, त्यसमा सफल हुन सकिरहेका छैनन् । यसको पछाडिको कारण भनेको ती व्यावसायीहरुलाई आफ्नो एसईओमा के भईरहेको छ भन्ने कुराको जानकारी हुँदैन ।

जसकारण उनीहरु झुक्किएर संदिग्ध सप्लायर कहाँ साइन अप गर्न पुग्छन् । मेरो विचारमा कुनै पनि एसईओमा संलग्न हुनु अघि व्यावसायीहरुले एसईओ सम्बन्धी केही आधारभूत कुराहरुमा जानकारी राख्न जरुरी छ । 

तथ्य नं. १ 

यदि तपाईं आफ्नो एसईओको लागि सस्तो डिल गर्न चाहनुहुन्छ भने तपाईं त्यस्ता झुक्याउने कम्पनीहरुसँग फस्न सक्नुहुन्छ । जसले आधारशिला नै खियाउने छ या त एसईओ फ्रिलेन्सर वा भर्खर एसईओमा लागेकालाई आउटसोर्स गर्नेछ ।

एसईओ एउटा प्रक्रिया यस्तो हो, जसमा समय लाग्छ । यदि तपाईं कुनै किसिमको र्‍याङ्क प्राप्त गर्न चाहनुहुन्छ भने तपाईंले निश्चित समय कुर्नैपर्छ । त्यसका लागि तपाईंले धेरै लगानी गर्नुपर्छ । केही हजार रुपैयाँ होइन, धेरै नै पैसा तपाईले बगाउनु पर्ने हुन्छ ।

खराब एसईओहरुले तपाईंको वेबसाइटलाई प्रमोट गर्न सस्ता र काम नलाग्ने टेक्निकहरु जस्तै फ्री डाइरेक्टरी लिस्निङ र ब्लग कमेन्टहरु प्रयोग गर्छन् । यस्ता टेक्निकले तपाईंको वेबसाइट प्रमोसनको काम गर्न सक्दैन । यसकारण राम्रो मूल्य तिर्नुहोस् र राम्रो सेवा लिनुहोस् ।

तथ्य नं. २ 

यदि एसईओ कम्पनीले तपाईंको वेबसाइटलाई गूगलको पेज नम्बर एकमा ल्याउने बाचा गर्छ भने पक्कै पनि उसले तपाईंलाई ढाँटिरहेको छ भन्ने बुझ्नुहोस् । यस्ता छल्ने टेक्निक मैले प्रायः देखिरहेको हुन्छु ।

धेरै एसईओ कम्पनीहरुले सेवाग्राहीहरुलाई ९० दिनभित्र उनीहरुको वेबसाइट पेज नम्बर एकमा ल्याइ दिने र त्यसका लागि केही पैसा तिर्नु नपर्ने हावादारी गफ दिइरहेका हुन्छन् ।

तपाईंले यस्ता कुरामा विश्वास गर्नु भयो भने केही महिनामा नै यसको नकरात्मक नजिता तपाईंले देख्नु वा भोग्नु हुनेछ । त्यस्ता कम्पनीहरुले तपाईंलाई केही ‘भेरी नन कम्पिटेटिभ किवर्ड’मा र्‍याङ्क गराउन सक्लान्, तर यस्ता र्‍याङ्किङका लागि ती कम्पनीहरुले कुन स्पाम विधि प्रयोग गरेका छन् भन्ने कुरा पनि बुझ्न आवश्यक छ ।

गूगलमा कुनै पनि कुरा यति तीब्र गतिमा दौडिन सक्दैन । यदि तपाईं विश्वसनीय र राम्रो र्‍याङ्किङ प्राप्त गर्न चाहनुहुन्छ भने यसका लागि तपाईंले धैर्यताका साथ कुर्नुपर्ने हुन्छ । तपाईंले हतार गरी गलत निर्णय लिनु भयो भने यसले तपाईंको भावी अनलाइन र्‍याङ्किङमै असर पार्दछ । 

९० दिनको बाचा एउटा त्रूटिपूर्ण छ । एसईओको सामान्य बुझाइ भएका व्यक्तिलाई एसईओ र्‍याङ्किङ चाँढै प्राप्त गरेर त्यसलाई लामो समयसम्म टिकाइराख्न असम्भव हुन्छ । 

तथ्य नं. ३. 

तपाईं एसईओ क्याम्पियन सुरु गर्नुहोस् । छ महिनाको समयसम्म राम्ररी जान दिनुहोस् । त्यसपछि यो प्रक्रिया रोकिदिनुहाेस् । तपाईंको र्‍याङ्किङ रङ अर्थात् गलत स्पट हुनेछ ।

एसईओ एउटा निरन्तर विकास हुने प्रक्रिया हो । यसलाई राम्रो बनाउन निरन्तर फाइन ट्युनिङ र अटेन्सनको आवश्यकता पर्छ । तपाईं मेन किवर्डमा र्‍याङ्क भएको हुनुहाेला ।

केही महिनादेखि तपाईं यो स्थानमा हुनुहोला । तर तपाईंले सर्च इन्जिन अप्टिमाइजेसन प्रोसेस रोक्नु भयो भने तपाईं यहि पोजिसनमा हुनुहुनेछ भन्ने कुनै ग्यारेन्टी हुँदैन  । 

हामी सबैलाई थाहा छ, गूगलले आफ्नो र्‍याङ्किङ अल्गोरिदमलाई परिवर्तन गरिरहेको हुन्छ । अल्गोरिदममा परिवर्तन हुँदा तपाईंको वेबसाइट प्रोफाइलको र्‍याङ्किङमा असर पर्ने वा नपर्ने कुरा तपाईंको एसईओ टिमको हातमा निर्भर रहन्छ।

यसकारण तपाईंले आफ्नो एसईओ प्रदायकसँग निरन्तर सम्पर्कमा रहनुपर्छ । त्यसअलावा अर्को महत्वपूर्ण कुरा के छ भने तपाईंका प्रतिस्पर्धीहरुले तपाईंको र्याकिङमा सुधार देखिन थालेपछि कति समय उनीहरु आफ्नो पुरानो र्‍याङ्किङमा बस्लान् त ?

उनीहरु प्रोएक्टिभ हुनेछन् र तपाईंलाई पछाडि पार्न अर्को राम्रो एसईओमा संलग्न हुनेछन् । यस्तो अवस्थामा तपाईंले आफ्नो अनलाइनलाइन सुधार गर्ने प्रयास गर्नु भएन भने तपाईं पछाडि पर्ने निश्चित हुन्छ । यो एउटा प्रक्रिया हो । यस्ता कुराहरुमा ध्यान दिन आवश्यक छ ।

तथ्य नं. ४. 

एसईओ एउटा यस्तो कुरा हो, जून तपाईं आफै पनि गर्न सक्नुहुन्छ । केही रिसर्च गर्नुहोस्, यसबारेमा जानकारहरुसँग कुराकानी गर्नुहोस् । सरसल्लाह लिनुहोस् र एसईओमा खर्च गर्ने आफ्नो केही रकम बचाउनुहोस् ।

एसईओलाई आफ्नो मार्केटिङ बजेटको हिस्साको रुपमा लिनुहोस् । यदि तपाईंसँग यसका लागि फण्ड छैन भने फण्ड तयार पार्नुहोस् । ताकि तपाईं विज्ञहरुबाट सल्लाह लिन सक्नुहोस् । 

तपाईंले यस्ता कामहरु गरिआएका संस्था वा व्यक्तिहरुबाट शुल्क तिरेर सल्लाह लिन पनि सक्नुहुन्छ । तर आफैंले गर्नुपर्छ भन्ने अवधारणाले पनि केही समयको लागि फाइदा दिनसक्छ । तर दीर्घकालमा आएर तपाईंले नोक्सानी बेहोर्नुपर्ने हुनसक्छ ।

स्मार्ट तरिकाले सोचेर प्रोफेसनलहरुबाटै यो काम गराउनु नै बुद्धिमत्तपूर्ण हुन्छ । उनीहरुसँग तपाईंको वेबसाइटको फ्युचर प्रुफको राम्रो योजना हुन्छ । ता कि एसईओ तपाईको कम्पनीको शक्तिशाली मार्केटिङ टूल बन्न सकोस् ।

तथ्य नं. ५. 

यदि तपाईं विगतका एसईओ कम्पनीबाट निराश हुनुहुन्छ । तर पुरानै शैलीमा काम गर्न चाहनुहुन्छ भने नयाँ एसईओ कम्पनीबाट पनि राम्रो आशा नराख्नुहोस् । सानो बजेट, अवास्तविक टाइम फ्रेम र सहकार्य गर्न नचाहने जस्ता प्रवृत्तिले तपाईंको एसईओको अवस्था सुधार्न सक्दैन । 

एसईओको दुनियाँमा नराम्रो अनुभव सबैजसो व्यवसायीहरुले भोग्दै आएको कुरा हो । यदि तपाईं यो प्रतिस्पर्धामा अगाडि आउन चाहनुहुन्छ भने आफ्नो गोजी ठूलो खुल्ला गर्नुहोस् । टाइमिङको विषयमा धैर्यता राख्न सिक्नुहोस् र आफ्नो लक्ष्य प्राप्त गर्न नयाँ टिमसँग काम गर्न तयार हुनुहोस् ।

तथ्य नं. ६

यदि तपाईंको वेबसाइटले राम्रो परफर्म गरिरहेको छैन भने वेबसाइट नयाँ बनाउन वा अपग्रेड गर्न आवश्यक छ । तपाईंको एसईओ पोजिसन पूर्ण रुपमा एसईओ प्रदायकको पर्फर्मेन्ससँग मात्र निर्भर हुँदैँन । राम्रो एसईओका लागि तपाईको वेबसाइटमा राम्रो कन्टेन्ट हुन आवश्यक छ । 

यसकारण एसईओका लागि सधैं सोलिड वेब ब्याकग्राउण्ड भएको कम्पनी चयन गर्नुहोस् । एसईओको मात्र आइडिया भएको कम्पनीलाई यो जिम्मेवारी दिन उपयुक्त हुँदैन । यसरकाण वेब र एसईओ दुवैको ज्ञान भएको कम्पनीलाई मात्र यस्तो जिम्मेवारी दिनुहोस् ।

(लेखक खतिवडा नेपाल एसईओ कम्पनीका संस्थापक हुन्)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१