close

राइड हेलिङमा स्वचालित ई-स्कूटरको नौलो प्रयोग, जो प्रयोगपछि आफ्नै ठाउँ फर्किन सक्छन्

टेकपाना टेकपाना

जेठ १८, २०७७ २०:२

राइड हेलिङमा स्वचालित ई-स्कूटरको नौलो प्रयोग, जो प्रयोगपछि आफ्नै ठाउँ फर्किन सक्छन्

कोरोना संक्रमणका कारण राइड सेयरिङ माध्यमहरु यतिबेला बन्द छन् । भविष्यमा पनि यस्ता सेयरिङ माध्यमले स्वास्थ्य सुरक्षामा पार्नसक्ने जोखिमको विषयमा प्रश्न बाँकी नै छ । तर यसैबीच स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर राइड सेयरिङको रुपमा स्वचालित स्कूटरको परीक्षण गरिएको छ ।

जसमा मानिसहरूले एपको माध्यमबाट यस्ता विद्युतीय स्वचालित स्कूटर प्रयोग गर्न सक्नेछन् र यात्रा समाप्त भएपछि यो साधन स्वत: आफ्नै ठाउँमा फिर्ता हुन्छ । गो एक्सले यस किसिमको स्वचालित तथा रिमोट कन्ट्रोल स्कूटर तथा राइड हेलिङ एप विकास गरेको हो ।

अहिले यसको प्रारम्भिक परीक्षण भइरहेको छ । यसले जीपीएस तथा आरएफआईडी प्रविधिको सहायताले ५०० एकडको क्षेत्रमा भर्चुअल सीमा निर्धारण गर्दछ र कुनै निश्चित मोबाइल डिभाइस उक्त सीमाभित्र प्रवेश गरेको तथा बाहिरिएको आधारमा यो स्कूटरले प्रतिक्रिया जनाउने गर्दछ ।

७५ सय मानिसले काम गर्ने क्युरियोसिटी ल्याब टेक्नोलोजी पार्कमा अहिले एक सय ओटा यस्ता स्वचालित स्कूटरको हरेक दिन जसो परीक्षण भइरहेको छ । ती स्कूटरहरू टाढाबाट मानिसहरूले सञ्चालन गर्छन् ।

तर परीक्षणमा भने स्वचालित रुपमा नै ती स्कूटर चलाउन सकिने देखिएको छ । क्युरियोसिटी ल्यावका कार्यकारी निर्देशक बेट्सि प्लेटिनबर्गले सिटी टुडेलाई बताए अनुसार क्युरियोसिटी ल्याबमा अरु धेरै माइक्रोमोबिलिटी सोलुसनहरु तयारीका क्रममा छन् ।

जुन स्वचालित रुपमा सञ्चालन गर्न सकिने आशा गरिएको छ । उनले अगाडि भनेका छन्, ‘यिनीहरुलाई तत्काल आर्टिफिसियल इन्टेलिजेन्सको अनुभव र डेटा आवश्यक छ । तिनीहरुका लागि तत्कालको विकल्प भनेको टेलि-अपरेसनको प्रयोग गर्नु हो ।’

मूल रूपमा परीक्षण गत जनवरीकै लागि तय गरिएको भए पनि कोरोनाभाइरसको महामारीका कारण स्थगित गरिएको थियो । गो एक्सले कोभिड १९ को सुरक्षा उपायहरू समेत लागू गरेको छ।

प्रत्येक साधन म्यानुअल्ली डिसइन्फेक्ट गरिन्छन् र त्यसमा कोरोना भाइरस नरहेको स्टिकर लगाइन्छ । गो एक्स एपोलोका प्रत्येक कर्मचारीले दैनिक रुपमा कोभिड १९ को परीक्षण समेत गर्नुपर्ने हुन्छ ।

पिचट्री कर्नर सहरले स्थापना गरेको क्युरियोसिटी ल्याबले आवागमन र स्मार्ट सिटी प्रविधिको परीक्षणका लागि निःशूल्क रुपमा फाइभजीको पहुँच, पूर्वाधार र बौद्धिक सम्पत्ति संरक्षण प्रदान गर्न थालेको छ ।

प्लेटिनबर्गले भनेका छन्, ‘क्युरियोसिटी ल्याबमा अन्य कम्पनीहरूले समेत गरेको टेस्टको आधारमा म तपाईंलाई के भन्न सक्छु भने यहाँ उनीहरुले चाहेको भन्दा धेरै कुरा सिक्न सक्छन् । यहाँ अनुभवबाटै सिक्न सक्नुहुन्छ । त्यसैले त तिनीहरु यहाँ छन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१