close

विदेशबाट फर्किनेलाई टेलिकमकाे सिम र वाईफाई निःशूल्क

टेकपाना टेकपाना

जेठ २२, २०७७ १७:४८

विदेशबाट फर्किनेलाई टेलिकमकाे सिम र वाईफाई निःशूल्क

काठमाडौं । नेपाल टेलिकमले कोरोनाको समयमा विदेशबाट नेपाल फर्किनेहरुलाई निःशूल्क रुपमा सिमकार्ड उपलब्ध गराउने भएको छ । कम्पनीले फर्किने नेपालीहरुको सहजताका लागि विभिन्न स्थानमा बुथ स्थापना गरेरै सिमकार्ड वितरण गर्ने भएको हो ।

नेपाल सरकारले भारतबाट स्वदेश फर्किने नागरिकका लागि विभिन्न २० वटा आवागमन नाका र त्रिभवन विमानस्थल निर्धारण गरेको छ । यसरी स्वदेश फर्कने नाका तथा उनीहरुलाई राखिने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरमा टेलिकमले बुथ स्थापना गर्ने छ।

ती स्थानबाट निःशूल्क रुपमा कम्पनीको सिम उपलब्ध हुने जनाइएको छ । यस प्रयोजनका लागि कम्पनीले तत्काल एक लाख सिमकार्डको व्यवस्था गरिसकेको छ ।

सिमका लागि नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र, ट्राभल डकुमेन्ट वा परिचय झल्कने अन्य कागजात भने उपलब्ध गराउनु पर्नेछ । स्वदेश प्रवेश गर्ने नागरिकसँग कुनै परिचयपत्र उपलब्ध नभएको अवस्थामा उनीहरुका आफन्त तथा निकटका व्यक्तिको परिचयपत्रबाट समेत सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

विदेशबाट स्वेदेश फर्किने बित्तिकै क्वारेन्टाइन अथवा होल्डिङ रुममा बस्नुपर्दा आफन्तसँग सम्पर्कमा रहन सहज होस भन्ने मनसायका साथ यस्तो व्यवस्था गर्न लागिएको टेलिकमले बताएको छ ।

साथै यसले विदेशबाट फर्किएकाहरुको सम्पर्कमा आउने व्यक्तिको सूची तयार गर्न सम्बन्धित निकायलाई सहज हुने अपेक्षा समेत गरिएको छ । त्यतिमात्रै नभएर कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर फर्किनेहरुका लागि सरकारले काठमाडौं उपत्यकामा व्यवस्था गर्ने आठ वटा होल्डिङ सेन्टरमा निःशूल्क वाइफाई सेवा पनि उपलब्ध गराउने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१