close

कालापानीमा टेलिकमको सीडीएमए, नेपालीमात्र हैन भारतीय पनि खुसी

टेकपाना टेकपाना

असार ९, २०७७ ११:५७

कालापानीमा टेलिकमको सीडीएमए, नेपालीमात्र हैन भारतीय पनि खुसी

काठमाडौं । नेपाल टेलिकमले दार्चुला जिल्लाको ब्यास गाँउपालिकामा सीडीएमए मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नयाँ नक्सा जारी गरेसँगै टेलिकमले यसअघि उक्त क्षेत्रमा रहेको आफ्नो टावरलाई पुनः मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको हो ।

नेपाली सहित भारतीय सीमा क्षेत्रका बासिन्दाले समेत टेलिकमको सीडीएमए प्रयोग गर्दै आएकोमा मौसमका कारण लामो समयदेखि त्यहाँ सेवा अवरुद्ध रहेको थियो । सरकारले पछिल्लो पटक छाङरुमा स्थापना गरेको सशस्त्र प्रहरी बलको बीओपीलाई लक्षित गरी टेलिकमले टावर सञ्चालनमा ल्याएको हो ।

सोमबार यसको सफल परीक्षण भएको छ । टेलिकमले सञ्चालनमा ल्याएको टावरबाट छाङरु, कालापानी, गुञ्जी, कुटी र टिंकर क्षेत्रमा गुणस्तरीय मोबाइल सेवा उपलब्ध भएको छ । उक्त टावरबाट भारतको धार्चुलाका बासिन्दासमेत लाभान्वित हुनेछन् ।

त्यस क्षेत्रमा कुनै पनि भारतीय दूरसञ्चार सेवा प्रदायकको उपस्थिति छैन । टावर निर्माणका लागि आवश्यक प्राविधिक तथा सामान ढुवानीको कार्य गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय दार्चुलाको समन्वयमा भएको हो ।

टेलिकमका अनुसार यसअघि गृह मन्त्रालयले उक्त स्थानमा टेलिफोन सेवा विस्तारका लागि अनुरोध गरेको थियो । त्यसैका आधारमा गृह मन्त्रालयको हेलिकोप्टर सहयोगमा सामान ढुवानी गरिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१