सजिलोसँग यसरी बुझ्नुहोस् फाइभजी प्रविधि (शब्दावली सहित)

काठमाडौं । फाइभजी आजका हरेक प्रविधि जानकारको मुखमा झुण्डिएको शब्द हो । कोरोनाभाइरस महामारीले समेत फाइभजी रोलआउटको काम भने रोक्न सकेको छैन ।

यदि तपाईं यो प्रविधिबारे बुझ्न इच्छुक हुनुहुन्छ, तर केही जटिल शब्दका कारण यसलाई राम्रोसँग बुझ्न सकिरहनु भएको छैन भने हामी यस विषयका जटिल तथा अत्यावश्यक शब्दावलीहरुको बारेमा तपाईंलाई बुझाउँदै छौं । 

फोरजी

फाइभजीमा जानु अघि तपाईंले सुरुमा फोरजी प्रविधिको बारेमा बुझ्नुपर्छ । हामी आज जुन नेटवर्क प्रविधिमा छौं, त्यो नै फोर जी हो । मोबाइल प्रविधिको यो चौंथो पुस्ता हो । सन् २०१० मा विश्वबजारमा आएको यो प्रविधि अघिको थ्रीजीले फोन कल तथा टेक्स्ट म्यासेजिङलाई सपोर्ट गर्दथ्यो भने फोरजी प्रविधि डेटा स्पीडमा केन्द्रीत रह्यो ।

जुन हाम्रो घरको ब्रोडब्याण्ड कनेक्सनभन्दा छिटो थियो । यद्यपी नेपालमा हामीले वास्तविक रुपमा अहिलेसम्म फोरजी प्रविधिको अनुभव नै गर्न पाएका छैनौं । अहिले नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले दिँदै आएको सेवालाई थ्रीजी प्लस मात्र मान्न सकिन्छ ।

यद्यपी डेटाले एप अर्थतन्त्रको उदय गरायो । साथै यसले विभिन्न सेवाहरु जस्तै टूटल-पठाओ, सारथी, ईसेवा, खल्ती, लाइभस्ट्रिमिङ र अत्याधुनिक मोबाइल गेम जस्ता प्लेटफर्महरुलाई समेत जन्म दियो ।

फाइभजी

फाइभजी भनेको वायरलेस मोबाइल प्रविधिको पाँचौं पुस्ता हो । फोरजीले उच्च गतिको वायरलेस प्रविधि भित्रायो भने फाइभजीले धेरै उपकरणलाई जोडेर समेत प्रशस्त स्पीड दिनसक्छ । साथै यसले कनेक्ट भएको ग्याजेटको आवश्यकता अनुसार स्पीड प्रदान गर्दछ ।

उदाहरणका लागि एउटा स्मार्टफोनले लाइभस्ट्रिमिङको दौरान धेरै ब्याण्डविथ खपत गर्छ, जब कि एउटा एटीएमका लागि कहिलेकाँही तर विश्वासिलो कनेक्सनको आवश्यकता पर्दछ । यो दुवै आवश्यकता फाइभजीले पुरा गर्नेछ । 

फाइभजी एनआर

फाइजीको विषयमा त थाहा भयो, तर यो एनआर के हो भन्ने प्रश्न तपाईंको मनमा पनि उठ्न सक्छ । थाहा पाइराख्नुहोस्, एनआरको अर्थ न्यू रेडियो हो । यो एउटा स्ट्याण्डर्डको नाम हो, जसको पछाडि अहिले सिंगो वायरलेस इन्डस्ट्री दौडिरहेको छ । 

विकसित देशका दूरसञ्चार कम्पनीहरु आज आफ्नो नेटवर्क निर्माण गर्न फाइभजी एनआरलाई पछ्याइरहेका छन् । तर एनआर स्ट्याण्डर्ड अनुमोदन हुनु अघि आफ्नो ब्रोडब्याण्ड प्रतिस्थापनको रुपमा फाइभजी प्रविधि परीक्षण गरिरहेको भेरिजोन कम्पनीले सन् २०१८ को अन्त्यतिर यो स्ट्याण्डर्ड बाहिर आउँदा यसको प्रयोग गरेको थिएन ।

तर भेरिजोनले अन्तत: फाइभजी एनआर आफ्नो ब्रोडब्याण्ड सेवामा समाहित गर्नुपर्‍यो । अहिले उसको मोबाइल नेटवर्क पनि एनआर स्ट्याण्डर्डमा सञ्चालन भइरहेको छ ।  यो धेरै ठाउँमा प्रयोग भइरहेता पनि यसको नाम एकदमै कम सुन्नमा आउने गरेको छ । तर फाइभजी नेटवर्कको आधारशिला तयार गर्न यो एकदमै महत्वपूर्ण प्रविधि हो । 

लेटेन्सी

यदि स्पीड फाइभजी प्रविधिको प्रमुख फाइदा हो भने, लेटेन्सी यसको मूख्य फिचर हो । जसले धेरै अन्वेषणहरु ल्याउने विश्वास गरिएको छ । लेटेन्सी एउटा ल्याग टाइम हो । जब तपाईं कुनै लिंकमा क्लिक गर्नु हुन्छ, वा मोबाइल गेममा गन फायर गर्नुहुन्छ, तब फोन नेटवर्कसँग ठोक्किन्छ र रेस्पोन्स रिसिभ गर्दछ ।

सम्भवत: कसैसँग जूम एपमा कुरा गर्दा सामान्य अवरोध तथा रोकावटको समस्या खेप्नु भएको होला । त्यो नै ल्याग टाइम हो । त्यसबेला सिंग्नल भौतिकरुपमा लामो दूरीबाट यात्रा गरिरहेको हुन्छ । 

फोरजी नेटवर्कमा यो ल्याग टाइम २० मिलिसेकेण्डको छ । सुन्दा धेरै समयको अन्तराल जस्तो लाग्दैन । तर जब तपाईंलाई छिटोभन्दा छिटो प्रतिक्रियाको आवश्यकता पर्छ, तब यो ल्याग टाइम कति महत्वपूर्ण छ भन्ने कुराको अनुभव गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि यदि तपाईं फोर्टनाइट गेम खेल्दै हुनुहुन्छ र जब बटन थिच्नुहुन्छ, त्यो समसम्म तपाईंको भर्चुअल पात्रले गोली हानी सकेको हुन्छ । तर फाइभजीसँगै यो लेटेन्सी एक मिलिसेकेण्डमा घटेको छ ।

अर्थात अब कुनै पनि सामान्य क्यामेरामा एक फ्ल्यास लिन जति समय लाग्छ, त्यति समयमा लेटेन्सी घटेको छ । तर यदि तपाईं टाढाको व्यक्तिसँग सञ्चार गर्दै हुनुहुन्छ भने ल्याग टाइम अझै पनि समस्या बन्न सक्छ ।  

स्पेक्ट्रम

वायरलेस प्रविधिको बारेमा कुरा आउँदा अत्याधिक सुनिने शब्द हो स्पेक्ट्रम । स्पेक्ट्रम भनेको सिंगो वायरलेस उद्योगको लाइफ ब्लड हो । स्पेक्ट्रम बुझ्न सबैभन्दा पहिले हामीले रेडियो वेबको बारेमा थाहा पाउनुपर्छ ।

एउटा विद्युतीय चुम्बकीय वेबको एउटा गठ्ठाको सानो भाग हो, रेडियो वेब । सामान्यतया: यसको प्रयोग सञ्चार प्रयोजनका लागि गरिन्छ । तर सबै रेडियो वेब एकै किसिमका हुँदैनन् । रेडियो वेब आफ्नो फ्रिक्वेन्सकी आधारमा फरक हुन्छ । त्यसैले नै एउटा रेडियो फ्रक्वेन्सी र अर्को रेडियो फ्रक्वेन्सीमा तपाईंले फरक फरक च्यानल चलाउन सक्नुहुन्छ ।

रेडियो वेबलाई त्यसको फ्रिक्वेन्सीको आधारमा विभिन्न ब्याण्डमा बाँडिन्छ । कुनै वेबको फ्रक्वेन्सी धेरै हुन्छ भने कुनैको थोरै । यदि वेबको फ्रिक्वेन्सी तल्लो तहमा छ भने त्यो कम गतिमा कम शक्तिका साथ लामो दुरी तय गर्न सक्दछ ।

तर यदि कुनै वेबको फ्रक्वेन्सी धेरै छ भने त्यसले त्यति धेरै लामो यात्रा तय गर्न सक्दैन । यदि तपाईंले त्यसलाई धेरै टाढासम्म पठाउनु छ भने धेरै ऊर्जा खर्च गर्नुपर्ने हुन्छ । यी दुई बीचको पहिलो भिन्नता भनेको यही हो । दोस्रो भिन्नता भनेको डेटा ट्रान्समिसन गर्न सक्ने क्षमतामा छ । हाई फ्रिक्वेन्सी वेबले सधैं धेरै डेटा बोक्न सक्छ ।

यदि तपाईं एउटा चक्र (साइकल) मा एक युनिट डेटा पठाउँदै हुनुहुन्छ भने एक सेकेण्डमा तपाईं जति धेरै साइकल पाउनुहुन्छ त्यति नै धेरै डेटा पठाउन सक्नुहुन्छ । जति हाई फ्रिक्वेन्सी रेट हुन्छ, त्यति नै धेरै क्षमताको डेटा ट्रान्समिसनको विकल्प तपाईंले पाउन सक्नुहुन्छ । 

अब यहाँ कुरा आउँछ स्पेक्ट्रमको । हामीसँग यति धेरै रेडियो वेबहरु छन्, जसलाई नियन्त्रण गर्न एउटा नियामकको आवश्यकता पर्दछ । यदि एउटा नियामक भएन भने तपाईंको टीभीको रिमोट, कारको रिमोट, वाईफाई, ब्लुटुथ र मोबाइल सबै एक आपसमा अल्झिन थाल्नेछन् ।

उदाहरणका लागि यदि कुनै व्यस्त सडकमा तपाईंले सिग्नल निकालिदिनु भयो भने चारतिरबाट गाडीहरु एकै ठाउँमा आएर ठोकिन्ने छन् । त्यसैले सबै वेबलाई नियन्त्रण गरेर सही दिशामा पठाउन व्यवस्थापनको खाँचो पर्छ । यसरी कुनै पनि देशको सरकारले विभिन्न ब्याण्डको फ्रिक्वेन्सीको समूहको स्पेक्ट्रम तयार गर्छ र विभिन्न कम्पनीलाई अक्सनमार्फत फ्रिक्वेन्सी बिक्री गर्छ ।

टूजीको लागि कुन ब्याण्ड, थ्रीजी वा फोरजीमा कुन ब्याण्ड प्रयोग गर्ने भनेर नियामकले निर्धारण गर्छ । ता कि विश्वभर जहाँसुकै पनि स्मार्टफोनको कम्प्याटिबिलिटी कायम रहन सकोस् र तपाईंको फोनमा राखिएको ट्रान्सरिसिभरले पनि टावरसँग राम्रो सञ्चार गर्न सकोस् । 

मिलिमिटर वेब

मिलिमिटर वेब भनेको हाई फ्रिक्वेन्सी स्पेक्ट्रम हो । मिलिमिटर वेब २४ गिगाहर्जदेखि १०० गिगाहर्जको बीचको रेञ्ज हो । जब कसैले क्रेजी स्पीडको बारेमा कुरा गर्छ, तब फाइभजी सबैको दिमागमा आउने गर्छ । फाइभजी यही स्पेक्ट्रममा सञ्चालन हुने प्रविधि हो । 

हाई फ्रिक्वेन्सी स्पेक्ट्रमको एउटै समस्या भनेको यसले छोटो दूरी मात्र कायम गर्नसक्छ । तर यदि यो कुनै गलत दिशामा गयो भने यसले ठूलो समस्या जन्माउँछ । कुनै पर्खाल जस्तो फितलो अवरोध यसमा हुँदैन ।

यसैकारण भेरिजोन जस्ता कम्पनीहरु यस किसिमको समस्याको समाधान गर्दै स्थिर कनेक्सनको सुनिश्चितता गर्न सफ्टवेयर तथा ब्रोडकास्टिङका उपायहरु अपनाउँदैछन् । मिलिमिटर वेब पहुँच भएको क्षेत्रमा तपाईंले अभूतपूर्ण  स्पीड पाउन सक्नुहुन्छ ।

लो ब्याण्ड

एक सेकेण्डमा जति कम साइकलको फ्रक्वेन्सी हुन्छ, त्यसलाई लो ब्याण्ड वेब भनिन्छ । दूरसञ्चार सेवाप्रदायकहरुले थ्रीजी तथा फोरजी नेटवर्कमा यस्ता लो फ्रिक्वेन्सी ब्याण्ड प्रयोग गर्नेगर्छन् । अमेरिकामा आज धेरै जसो फोरजी नेटवर्कहरु ७०० मेगाहर्ज स्पेक्ट्रममा सञ्चालन भइरहेका छन् ।

नेपाल टेलिकमले ८०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी फोरजी सेवाका लागि प्रयोग गरिरहेको छ । यस्ता लो ब्याण्डका रेडियो वेबहरुले लामो दूरी तय गरेर पर्खाललाई छेड्न सक्ने हुँदा सेवाप्रदायकहरुले यसलाई प्रयोग गर्छन् । 

मिड ब्याण्ड

मिड ब्याण्ड फ्रिक्वेन्सी लो र मिलिमिटर वेब स्पेक्ट्रमको बीचमा हुन्छ । यसमा स्पीड र  रेञ्ज दुवैको राम्रो समायोजन हुन्छ । त्यसैकारण यसलाई राम्रो मानिन्छ । विश्वका धेरै जसो सेवाप्रदायकहरुसँग यस्तो स्पेक्ट्रम छ । तर पूर्ण कभरेज प्रदान गर्न अपरेटरहरुलाई सबै किसिमको फ्रिक्वेन्सी ब्याण्ड वेबको खाँचो पर्छ । 

सब सिक्स गिगाहर्ज

लो तथा मिडब्याण्ड फ्रिक्वेन्सीहरुको समूहलाई सब सिक्स गिगाहर्ज भनिन्छ । केही अपरेटरहरुले मिलिमिटर वेबको कुरा गरिरहँदा सब सिक्स पनि फाइभजीको लागि एउटा वैकल्पिक स्पेक्ट्रम बनेको थियो । 

फाइभजी ई

फाइभजी ई वास्तवमा एउटा मार्केटिङको फण्डा हो । अमेरिकी दूरसञ्चार कम्पनी एटी एण्ड टी कम्पनीको फाइभजीको अर्थ फाइभजी इभोलुसन हो । सेवाग्राहीहरुलाई झुक्याउन एटी एण्ड टी कम्पनीले यो मार्केटिङ फण्डा अपनाएको थियो ।

यो वास्तवमा फोरजी एलटीईको एड्भान्स अपग्रेड मात्र हो । यसमा तपाईंले उच्च कम्प्रेसन र राम्रो डाउनलोड स्पीड पाउन सक्नुहुन्छ । तर यो फाइभजी भने होइन । फाइभजी त वास्तवमा तपाईंको अहिलेको फोरजी भन्दा २० गुणा बढी स्पीड हो ।

मानिसहरुको ध्यान खिच्नलाई उक्त कम्पनीले यस्तो फण्डा अपनाएको थियो । यसैकारण धेरै सेवाग्राही झुक्किएका पनि थिए । तर पछि देशको राष्ट्रिय विज्ञापन समिक्षा बोर्डले उक्त नाम प्रयोग गर्न बन्द गर्न एटी एण्ड टीलाई निर्देशन दिएपछि उसले उक्त मार्केटिङ फण्डा बन्द गरेको थियो ।

फाइभजी यूडब्लूबी वा फाइभजी यूडब्लू र फाइभजी प्लस 

यी तीनवटै शब्द पनि अमेरिकी दूरसञ्चार कम्पनी भेरिजोन र एटी एण्ड टीको मार्केटिङ फण्डा नै हुन् । 

डीएसएस

डाइनामिक स्पेक्ट्रम शेयरिङ डीएसएसले फोरजीमा प्रयोग भएका स्पेक्ट्रम फाइभजीमा समेत प्रयोग गर्न क्यारियरलाई अनुमति दिन्छ । यदि वायरलेस नेटवर्क धेरै लेन भएको एउटा खुल्ला बाटो हो भने डीएसएसले क्यारियरलाई स्पेक्ट्रम फाइभजी वा फोरजी जुनसुकै लेनमा पुनः डिजाइन गर्ने अनुमति दिन्छ । त्यो पनि उनीहरुको निश्चित आवश्यकताको आधारमा  । 

फाइभजी एसए

फाइभजी स्ट्याण्ड अलोन (एसए) एउटा फाइभजी नेटवर्क मोड हो । जुन ब्याकबोनका लागि फोरजी एलटीई नेटवर्कमा निर्भर हुँदैन । यो एउटा वास्तविक फाइभजी नेटवर्क हो । यसमा लो लेटेन्सी र तीब्र गति पाउन सकिन्छ । 

फाइभजी एनएसए

फाइभजी नन स्ट्याण्ड अलोन फाइभजीको सुरुवाती चरणको स्वरुप हो  यसले एलटीई एङ्कर प्रयोग गर्छ । यो मोडले कम्प्याटिबल डिभाइसहरुमा विशेषगरी स्पीडको मामिलामा फाइभजीको सुरुवाती अपग्रेड प्रदान गर्न क्यारियरलाई अनुमति दिन्छ । 

स्मल सेल

परम्परागत सेलुलर कभरेज तरंग विशेषगरी विभिन्न एन्टेना तथा रेडियोले भरिएका ठूला ठूला टावरहरुबाट निस्कने गर्छन् । ती एन्टेनाहरुले सिंग्नललाई धेरै टाढासम्म पठाउन सक्छन् । यसकारण धेरै एन्टेनाको आवश्यक पर्दैन ।

तर स्मार्ट सेल ठिक यसको विपरित हो । यो एउटा ब्याकप्याक साइजको रेडियो हो, जुन सडक बत्ती, खम्बा, छाना र विभिन्न ठाउँहरुमा झुण्डाउन सकिन्छ । यसले छोटो दूरीसम्म फाइभजीको सिंग्नल फ्याँक्न सक्छ । बाक्लो प्याक नेटवर्क भएको स्थानमा यो धेरै संख्यामा इन्स्टल गर्न सकिन्छ । 

मिमो

प्री फाइभजी मिमो प्रविधिको बारेमा तपाईंले सुन्नु भएको हुनसक्छ । आज हामी तपाईंलाई यो सरल भाषामा बुझाउँदै छौं । एउटा एन्टेनाले धेरै प्रयोगकर्ताहरुलाई कभरेज दिन सक्दैन र नेटवर्क ड्रप हुन थाल्छ ।

अझ फाइभजी नेटवर्कमा त धेरै डिभाइस र आईओटी प्रयोग हुने हुँदा धेरै नेटवर्क क्षमताको आवश्यकता पर्छ । मिमो यसलाई सम्बोधन गर्ने प्रविधि हो । यो वास्तवमा फाइभजीको एउटा आधारशिला पनि हो । 

क्यारियर एग्रिगेसन

वायरलेस क्यारियरहरुले विभिन्न किसिमका रेडियो ब्याण्डको फ्रिक्वेन्सीलाई एकसाथ समायोजन गर्छन् । ता कि जुनसुकै उपकरणले स्पीड पकडेर खुल्ला नेटवर्कमा पफर्म गर्न सकुन् । उदाहरणका लागि तीन लेनको सकडमा एउटा कारले कम ट्राफिक भएको लेनमा आफूखुशी रोजेर हिँड्न सकोस् । यो प्रविधिलाई डुअल कनेक्टिभिटी भन्न सकिन्छ । 

क्यूएएम

क्वाड्राचर एम्प्लिच्युड मोडुलेसन । यो शब्दावली एकदमै प्राविधिक छ । तपाईंले यसलाई मिमो र क्यारियर एग्रिगेसनसँग तुलना गरेर बुझ्न सक्नुहुन्छ । यसले मिमो र क्यारियर एग्रिगेसनभन्दा फरक र छिटो तरिकाले ट्राफिकलाई आवगमनको लागि सहयोग गर्दछ ।

२५६ क्यूएएम एउटा ठूलो बहान हो । जसले धेरै डेटालाई बोक्न सक्छ । मिमो, क्यारियर एग्रिगेसन र क्यूएएम, यी तीनै प्रविधि फोरजी नेटवर्कमा समेत प्रयोग भइसकेका छन् । तर यसले फाइभजीमा विशेष भूमिका खेल्छ । 

गिगाबिट एलटीई (एलटीई एड्भान्स)

गिगाबिट एलटीईलाई एलटीई एड्भान्स पनि भन्न सकिन्छ । यसलाई फाइभजीको पूर्ववर्तीको रुपमा बुझ्न सकिन्छ । यो अहिले हामीबीच रहेको एलटीई नेटवर्कको सबैभन्दा उच्च गतिको एलटीई हो ।

गिगाबिट एलटीई नेटवर्कले फाइभजी प्रविधिका लागि आधार तयार गर्दछ । एटी एण्ड टीको फाइभजी ई नै एलटीई एड्भान्सको उदाहरण हो । 

बिम फर्मिङ 

फाइभजी सिंग्नललाई एउटा निश्चित दिशातिर फर्काउने तरिकालाई बिम फर्मिङ भनिन्छ । यसले प्रयोगकर्ताको डिभाइसलाई अझ निश्चित कनेक्सन प्रदान गर्दछ । भेरिजोनले मिलिमिटर वेब स्पेक्ट्रमका लागि बिम फर्मिङको प्रयोग गरिरहेको छ । 

अनलाइसेन्स स्पेक्ट्रम 

सेलुलर नेटवर्कहरु स्पेक्ट्रममा निर्भर हुन्छन् । जसलाई उनीहरुले सरकारबाट खरिद गरेर त्यसको लाइसेन्स पाउँछन् । तर फाइभजीको मामिलामा फराकिलो कभरेज संवोधन  गर्न पर्याप्त स्पेक्ट्रम छैन ।

यसकारण क्यारियरहरु अनलाइसेन्स, सार्वजिनक स्पेक्ट्रमतिर अघि बढिरहेका छन् । यो अनलाइसेन्स स्पेक्ट्रम हाम्रो वाईफाई नेटवर्क चल्ने फ्री एयरवेब जस्तै हुन्छ । 

नेटवर्क स्लाइसिङ 

फाइभजी नेटवर्क विकास हुँदै गर्दा यसको व्यवसायिक सुरुवातको सबैलाई प्रतिक्षा छ । यसमा चल्ने विभिन्न आईओटी पूर्वाधार तथा डिभाइसहरु विभिन्न कम्पनीहरुले बनाइरहेको हामी सबैलाई थाहै छ । अब यहीँ जोडिन आउँछ नेटवर्क स्लाइसिङको कुरा ।

फाइभजी नेटवर्कको एउटा भौतिक नेटवर्कलाई धेरै भर्चुअल नेटवर्कमा बाँडिन्छ । यसैलाई नै नेटवर्क स्लाइसिङ भनिन्छ । उदाहरणका लागि फाइभजीको एउटा भौतिक नेटवर्कमध्ये एउटा नेटवर्क मोबाइल ब्रोडब्याण्डका लागि विभाजन गरिन्छ ।

अर्को व्यापक आईओटीका लागि अनि अर्को क्रिटिकल आईओटीका लागि । नेटवर्क पूर्वाधार त एउटै हुन्छ, तर विभिन्न प्रयोजन तथा पूर्वाधारमा यो प्रयोग हुने हुँदा यसको मात्राको आवश्यकतालाई सुहाउँदो एउटा भर्चुअल नेटवर्क विभाजन गरिन्छ । यसैलाई नेटवर्क स्लाइसिङ भनिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team