close

अत्यावश्यक सामग्रीको डेलिभरी दिने ईकमर्स कम्पनीको निर्णय, प्रशासनको ‘हाउगुजी’ उस्तै

टेकपाना टेकपाना

भदौ १६, २०७७ २१:११

अत्यावश्यक सामग्रीको डेलिभरी दिने ईकमर्स कम्पनीको निर्णय, प्रशासनको ‘हाउगुजी’ उस्तै

काठमाडौं । ईकमर्स व्यवसायीहरुले अत्यावश्यक सामग्रीको होम डेलिभरी सेवालाई सुचारु राख्ने निर्णय गरेका छन् । प्रहरी प्रशासनले अनिर्णयको बन्दी बनाएको भन्दै ईकमर्स व्यवसायीहरुको फोरमले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन तथा सीडीओको आदेशमा रहेको अत्यावश्यक सामग्रीको ढुवानीको व्यवस्था अन्तर्गत नै होम डेलिभरी सेवा सुचारु राख्ने निर्णयमा पुगेको मेरो किरानाका संस्थापक तथा सीईओ सागरदेव भट्टले जानकारी दिए ।

‘हामीले प्रशासनकै सूचनालाई आधार मानेर अत्यावश्यक सामग्रीको होम डेलिभरी गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘समस्या समाधानको आश्वासन दिएको प्रशासनबाट दुई दिनसम्म कुनै स्पष्ट निर्णय नआएपछि हामी यो निर्णयमा पुग्न बाध्य भएका हौं । अब हामी सरकारले अत्यावश्यक सामग्रीको रुपमा परिभाषित गरेका दाल, चामल, नुन, चिनी लगायतको ढुवानी र होम डेलिभरी दिन थाल्दै छौं ।’

यद्यपी प्रशासनसँग यस विषयमा समझदारी भने हुन नसकेको भट्टको भनाई छ । ‘ईकमर्स सञ्चालनका लागि मापदण्ड बनाउने भनिए पनि उक्त समितिमा हामी कसैलाई पनि राखिएको छैन,’ उनले भने, ‘कुनै निश्चित समयावधी नतोकिएको र ईकमर्सको सहभागीता समेत नगराइएकाले यो यत्तिकै थामथुम पार्न खोजिएको प्रयास मात्र हो भन्ने कुरा स्पष्ट छ ।’

भट्टले ईकमर्स फोरमको सेवा सुचारु राख्ने निर्णय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई समेत जानकारी गराइसकिएको बताए । तर सीडीओ जनकराज दाहालले भने जवाफमा निर्णय नहुञ्जेल सञ्चालन नगर्न भनेको बताइएको छ । ‘उहाँले प्रस्ट रुपमा सहमती नजनाए पनि हामीले बाटोमा समन्वयका लागि अनुरोध गरेका छौं,’ मेरो किरानाका संस्थापक भट्टले भने, ‘कोरोनाको संक्रमण फैलिन नदिन आवश्यक सुरक्षाका उपायहरु अपनाएर अत्यावश्यक सामग्रीको ढुवानी सुरु गर्दै छौं ।’ 

त्यसो त ईकमर्स कम्पनीहरुको सेवाले कोरोना संक्रमणको जोखिमलाई बढाउने भन्दा पनि नियन्त्रणका लागि सरकारलाई नै सहयोगी भूमिकाको रुपमा सघाउँदै आएको छ । तर प्रशासनले भने उल्टो व्याख्या गरेर गएको बिहीबारदेखि ईकमर्सको सेवा ठप्प पारेको छ । 

प्रहरी प्रशासनको निषेधकै बीच केही ईकमर्स कम्पनीले आफ्नो सेवा सुचारु राख्ने प्रयास गरेका छन् । ईकमर्स कम्पनी ग्यापुका संस्थापक तथा सीईओ ज्ञानेन्द्र खड्काले सोमबार मात्र आफूहरुले ७०९ घरमा होमडेलिभरी सेवा दिएको बताए ।

‘तर मंगलबार बिहान कालिमाटीमा भने प्रहरीले हाम्रो डेलिभरी भ्यानलाई रोकेर राखिदियो,’ उनले भने, ‘अफिसमै लगेर थन्काउन भन्दै दिउँसोतिर मात्रै उहाँहरुले छोड्नु भयो । अहिले उहाँहरुले समात्ने अनि हामीले छुटाउँदै डेलिभरीको सेवा दिनुपर्ने बाध्यता उत्पन्न भएको छ ।’

प्रहरीले ईकमर्स डेलिभरीका सवारीसाधन जहाँ भेट्यो त्यहीँ समात्न भन्दै उपत्यकाभरका प्रहरीलाई सतर्क गराएको छ । उस्तै सामान राखेका ढुवानीका साधनहरुलाई भने कुनै स्थानमा रोकतोक नभए पनि ईकमर्सका ढुवानीका साधनलाई भने थाहा पाउने वित्तिकै रोक्ने गरिएको खड्काको भनाई छ । 

‘ईकमर्स र अनलाइन डेलिभरी शब्दसँग नै प्रहरी प्रशासनमा एक किसिमको हाउगुजी देखियो,’ उनी भन्छन्, ‘हामीले अपराध गरेका छैनौं । उल्टै कोरोना संक्रमणको जोखिम कम गर्न मद्दत गरिरहेका छौं । तर सरकार उल्टै हामीलाई किन नराम्रो नजरले हेरिरहेको छ, बुझ्नै सकिएको छैन ।’

सुरक्षाका सम्पूर्ण उपायहरु अपनाएर डेलिभरी सेवा उपलब्ध गराउने भएकाले आफूहरुका कारण पसलको भिड कम हुने र कोरोना नियन्त्रणमा सहयोग पुग्ने ईकमर्स व्यवसायीहरुको तर्क छ ।

ईकमर्स फोरममा दराज, मेरो किराना, सस्तो डिल, इन्फी स्टोर, फुडमाण्डु, मेट्रो तरकारी, काठमाडौं अर्गानिक, खेती फुड, फुडमारियो लगायतका मुख्य ईकमर्स कम्पनीहरु रहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०