close

सम्पादकीयः दोस्रो वर्षमा टेकपाना

टेकपाना टेकपाना

असोज २, २०७७ ९:४

सम्पादकीयः दोस्रो वर्षमा टेकपाना

प्रविधिको अप्रयोग अब सम्भव छैन । दैनिक जीवनका धेरै आयामहरु प्रविधिसँग अभ्यस्त बनिसकेका छन् । मान्छेसँग सधैं साथमा रहने अभिन्न साधनको रुपमा प्रविधि स्थापित भइसकेको छ । कोभिड–१९ संक्रमणका कारण घोषणा गरिएको करिब आधा वर्ष लामो लकडाउन तथा निषेधाज्ञाले पनि प्रविधिको महत्व र आवश्यकता बढाएको छ, पुष्टि गरेको छ । प्रयोगमा नै प्रविधिको सार्थकता हुन्छ । सामान्य सूचना मात्रले प्रविधिको प्रयोजन हुन सक्दैन, न्यूनतम भएपनि ज्ञान यसको अनिवार्य शर्त हो । यही बुझाईबाट निर्देशित भई नेपाली पाठक र प्रविधि प्रयोगकर्ताका लागि ‘प्रविधिको ज्ञान, नेपालीमै’ नारा सहित सञ्चालनमा आएको टेकपाना डटकमले आज एक वर्ष पुरा गरेको छ ।

स्थापनादेखि नै हाम्रो प्रयत्न नेपालको सूचना प्रविधि र दूरसञ्चार क्षेत्रको विकास अनि यससँग सम्बन्धित तथ्य र सूचनालाई सकेसम्म सरल रुपमा बुझाउनेमै केन्द्रीत रह्यो । यो क्षेत्रको विकासमा विद्यमान नीतिगतसहित सम्पूर्ण किसिमका अवरोधलाई बुझाउने र त्यसको समाधानलाई हामीले प्राथमिकतामा राख्यौं । नीतिगत भ्रष्टाचार, प्रयोगकर्तामाथीको ठगी र नियतवश गरिएका गल्तीलाई हामीले सबैभन्दा धेरै खबरदारी गर्‍यौं । फलस्वरुप टेकपानाबाट प्रकाशित समाचार प्रभावको लाभ राज्य र प्रयोगकर्तासम्म पुग्यो । यो मानेमा हामी सबैभन्दा धेरै हर्षित छौं । हाम्रो मूल नारालाई स्थापित गर्न समाचारमात्र नभएर युट्युव च्यानलमार्फत नियमित भिडियो तयार गर्‍यौं । हाम्रो च्यानलमा रहेका एकसयभन्दा बढी भिडियो प्रविधिको सहज प्रयोगसँग नै बढी सम्बन्धित छन् ।

विगत एक वर्षमा विश्व परिस्थिति नै फेरियो । नियमित गुडिरहेको सवारीमा अचानक ब्रेक लगाएजस्तै विश्व एकतमासले रोकियो । तर टेकपानाप्रतिको पाठकको स्नेह फेरिएन । हामीमाथिको विश्वास रोकिएन । एक वर्ष पुरा भएको उपलक्ष्यमा टेकपानालाई गहिरो विश्वास गर्नुभएकोमा सर्वप्रथम हाम्रा पाठक र दर्शकप्रति आभारी अनि धन्य छौं । समाचारमा भएका गल्तीलाई सच्याउने र समाचार सामग्रीबारे सुझाव दिइरहने शुभचिन्तकप्रति कृतज्ञ छौं । समाचारका स्रोतहरुप्रति उत्तिकै धन्य छौं । विज्ञापनदाताको विश्वासप्रति आभारी छौं । टेकपानालाई विश्वास गर्ने हरेकलाई नमन गर्छौं । एक वर्षमा तपाईहरुले दिएको अगाध स्नेहले हाम्रो खुसी थपिएको छ । थप जिम्मेवार बनाएको छ । यही स्नेहले नै टेकपाना छोटो समयमै सूचना प्रविधि क्षेत्रको सबैभन्दा विश्वासिलो र नेपालकै अग्रणी न्यूज पोर्टल बन्न सफल भएको छ । यो खुसी तपाईंहरुसँग बाँड्न चाहन्छौं ।

एक वर्ष पुरा भएको यो उपलक्ष्यमा हामीले पाठकसँग नजिकिने एउटा अर्को उपायको रुपमा ‘गिभ अवे’ गर्दैछौं । आजैदेखि ‘ट्युटोरियल’ भिडियोको ‘सिरिज’ सुरु गर्दैछौं । ग्याजेट्सको मूल्य बुझ्न बजार जानै नपर्ने गरी ‘प्राइस लिस्ट’ पनि आजैदेखि औपचारिक रुपमा सुरु गरेका छौं । आजको दिनभर ईसेवामा हुने निश्चित कारोबारमा टेकपाना प्रोमो कोड प्रयोग गर्दा ५० प्रतिशतसम्म क्यास ब्याक हुने अफर मिलाएका छौं । सबैभन्दा महत्वपूर्ण यो सुखद् उपलक्ष्यमा नेपालको प्रविधि क्षेत्रमा भएका अद्भुत प्रगतिबारे आज विशेष सामग्रीहरु प्रकाशित गर्दैछौं । दोस्रो वर्ष प्रवेश गर्दैगर्दा थप जिम्मेवार पत्रकारिता र सरल तरिकाबाट प्रविधिको ज्ञान उपलब्ध गराइराख्ने प्रतिबद्धता व्यक्त गर्दछौं । यहाँहरुको सुझाव, प्रतिक्रिया अनि विश्वास सधैं पाउने आशा झन् बढेको छ ।

गोपाल साउद
सम्पादक

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०