close

नेपालीले बनाए इन्टरनेट बिना भिडियो हेर्न मिल्ने ‘ओकेट्युव’

टेकपाना टेकपाना

असोज १४, २०७७ १९:३८

नेपालीले बनाए इन्टरनेट बिना भिडियो हेर्न मिल्ने ‘ओकेट्युव’

काठमाडौं । मानौं तपाईं बसमा काठमाडौंदेखि बिरगञ्जको यात्रामा हुनुहुन्छ । गाडीमा स्टाफले भोजपुरी फिल्म चलाइदिन्छ ।

सबै यात्रुले भाषा नबुझ्न सक्छन्, या फिल्म मन नपर्न सक्छ । परिवारका सदस्यसँग यात्रामा हुनुहुन्छ भने चलचित्रमा देखिने कतिपय दृश्यले तपाईंलाई लज्जित र असहज महसुस गराउन सक्छन् । 

त्यसो त नेपाल टेलिकमको वाईम्याक्स र एनसेलको वायर फ्री वाईफाई यात्रामा मनोरञ्जनको विकल्प हुनसक्छन् । तर यी सेवा प्रयोग गर्न डेटा महंगो पर्छ । अर्कोतर्फ ठाउँ ठाउँमा नेटवर्क नटिप्ने समस्या दोहोरिरहन्छ । 

यस्ता अनेक समस्याको समाधानको रुपमा एकजना नेपाली युवाले इन्टरनेट बिना चलाउन सकिने ‘युट्युव’ विकास गरेका छन् । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा इलेक्ट्रोनिक्स इन्जिनियर राजेश दासले सवारी साधनलाई लक्षित गर्दै अफलाइनमा चलाउन मिल्ने ‘ओकेट्युव’ बनाएका हुन् । 

‘यसमा अफलाइन बसेरै भिडियो स्ट्रिमिङ गर्न मिल्छ । भिडियोका लागि हामीले कन्टेन्ट प्रदायकसँग छुट्टै सम्झौता गरेका छौं,’ दास भन्छन् । 

ओकेट्युवका लागि तयार पारिएको हार्ड ड्राइभमा नेपाली, हिन्दी, अंग्रेजी लगायतका चार हजारसम्म चलचित्र तथा म्युजिक भिडियोहरु राखिएका छन् । जसलाई सवारीसाधनमा राखिने डिभाइसमार्फत वाईफाईमार्फत ४० भन्दा बढी डिभाइसमा एकसाथ एक्सेस गर्न सकिन्छ ।

यो डिभाइस इन्टरनेटको कनेक्सनमा आउँदा मेन सर्भरबाट नयाँ भिडियोहरु आफैं अपडेट हुने गर्छन् । सवारीसाधनमा रहने ओकेट्युवको वाईफाई हटस्पटले ५० मिटरसम्मको दुरीमा सजिलै काम गर्न सक्छ ।

मोबाइल एप डाउनलोड गरेर वाईफाईबाट आनन्दसँग चाहेको भिडियोहरु हेर्न मिल्छ । दासका अनुसार एकसाथ ४० वटा डिभाइसमा यो वाईफाईले पाँच एमबीपीएसको गतिमा काम गर्न सक्छ ।

सहकर्मीसँग राजेश दास

बीच बाटोको कुनै ठाउँमा खाजा तथा खाना खान रोकिँदा होटेल भित्रैसम्म यसको सिग्नल पुग्न सक्छ । अर्कोतर्फ नेपालको यातायात क्षेत्रमा अझैं पनि जीपीएस ट्र्याकिङ सिस्टम जडान सहज भइसकेको छैन ।

गन्तव्यका लागि हिँडेको बसमा बीचबाटोबाट चढ्ने यात्रुले गाडी कहाँ आइपुग्यो भनेर पटक पटक फोन गर्नुपर्ने हुन्छ । सवारीधनीले समेत आफ्ना स्टाफसँग त्यसैगरी निरन्तर सम्पर्कमा रहनुपर्ने बाध्यता छ ।

यस किसिमको समस्या समाधानका लागि ओकेट्युवका लागि विकास गरिएको डिभाइसमा जीपीएस ट्र्याकिङ सिस्टम समेत राखिएको छ । ओके जर्नी नामक छुट्टै कम्पनी खडा गरेर दास यतिखेर समग्र यातायात क्षेत्रलाई नै पूर्ण रुपमा डिजिटल प्रविधिमा लैजाने उद्देश्यका साथ लागिपरेका छन् ।

काउन्टरमा टिकेट काटेर हिँडेको बसमा बीचबाटोमा चढ्ने यात्रुको हिसाबकिताब सवारी धनीले पाउँदैनन् । कहाँबाट कति यात्रु चढे र ओर्लिए, त्यो सबैको भिडियो रेकर्ड राख्न यही डिभाइससँगै सीसीटीभी जोडिएको हुन्छ ।

जसबाट सवारीधनीले चाहेको बखत समग्र यात्राको गतिविधि नियाल्न सक्छन् । ओकेट्युवको भिडियो हेर्न तथा सवारीसाधानको जीपीएस ट्र्याकिङ गर्नका लागि छुट्टै मोबाइल एप बनाइएको छ ।

राष्ट्रिय आविष्कार केन्द्रमा महाबिर पुनसँग राजेश दास

जीपीएस ट्र्याकिङको लागि एपमा टिकेट आईडी राखे पुग्छ । ओके जर्नीको परियोजनाका लागि राष्ट्रिय आविष्कार केन्द्रले तीन लाख रुपैयाँ जति सहयोग उपलब्ध गराएको दास बताउँछन् ।

यसको अनुसन्धान र विकासको काम केन्द्रमै भएको हो । ओके जर्नीको फाइनल प्रडक्ट लकडाउन अघि मात्रै तयार भएको दासले जनाए ।

अहिले यो उपकरण बनेपा डिलक्समा केही बसमा प्रयोगमा आएको छ । बनेपा डिलक्सका गौर, पोखरा, बीरगन्ज, ठोरी, काकडभिट्टा, बुर्तिबाङ जाने बसमा यो सेवा उपलब्ध रहेको छ । सुरुवाती चरणको प्रतिक्रियाबाट राजेश दास हौसिएका छन् ।

उनी भन्छन्, ‘सबैतिरबाट राम्रो रेस्पोन्स आइरहेको छ । अहिले भर्खरै हामीले अतिथि यातायातका ११ वटा गाडीमा डिभाइस राख्नका लागि सम्झौता गरेका छौं । अहिले हामी लामो दुरीका साथै लोकल गाडीमा समेत यसलाई राख्ने योजनामा छौं ।’

ओकेट्युव यात्रुको सहजताका लागि मात्रै नभएर सवारीधनीका लागि समेत वैकल्पिक आम्दानीको स्रोत हुनेछ । यसमा प्रशारण हुने विज्ञापनको निश्चित कमिसन सवारीधनीलाई उपलब्ध गराइने दासले बताए ।  

यो डिभाइसका लागि कम्पनीले ३५ हजार रुपैयाँ मूल्य तोकेको छ । जसलाई १२ महिनासम्मको किस्तामा तिर्न सकिने विकल्प समेत रहेको छ । 

एकमुस्टरुपमा तिर्दा १० प्रतिशतसम्म छूट दिइने गरेको छ । यद्यपि सवारीसाधनको संख्याअनुसार डिभाइसमा थप छूट समेत दिन सकिने कम्पनीले जनाएको छ । 

ओके जर्नीको एपमा अनलाइनबाटै टिकेटको भुक्तानी गर्न सकिने सुविधा समेत छ । जसमा खल्ती डिजिटल वालेटबाट अनलाइन पेमेन्ट गर्न सकिन्छ ।

एपमा रहेका सेवाहरुमध्ये केही सेवा अफलाइन र केही अनलाइनमा प्रयोग गर्न सकिने किसिमका छन् । बस, सुमो, हाइस आदिमा टुर प्याकेज, सार्वजनिक यातायात र हवाइजहाजको अनलाइन टिकेटिङ, सवारीसाधन बुकिङ र होटेल बुकिङ आदि जस्ता सेवाहरु पनि एपमा राखिएका छन् । 

सँगसँगै सम्बन्धित सवारीसाधनका स्टाफहरुको नम्बर समेत एपमा उपलब्ध गराइएको छ । सम्पर्क नम्बरबाट मात्र नभएर च्याट गरेर समेत गाडीका स्टाफहरुसँग कुराकानी गर्न सकिने सुविधा छ । 

अनलाइन टिकेटिङसँगै फुडमाण्डु, भोज, फुडमारियो जस्ता फुड डेलिभरी सेवाप्रदायबाट यात्राको खाजा अर्डर गर्न सकिन्छ । यसरी गाडी हिँड्ने समयमा खाजा गाडीमै आइपुग्छ ।  

यात्रामा आइपर्ने सबै समस्या समाधान गर्ने योजनाका साथ आफूहरुले काम गरिरहेको दास बताउँछन् । ‘यसमा हामीले ट्राभल म्यानेजमेन्ट सिस्टम समेत राखेका छौं,’ उनी भन्छन् ।

अहिले २० वटा गाडीका लागि पाँच वटासम्म काउन्टर रहने अवस्था छ । त्यसका लागि कम्तिमा पाँच वटा कर्मचारी राख्नै पर्‍यो । त्यसको भाडाको बोझ अर्कोतर्फ छ ।

सञ्चारका लागि अलग्गै खर्च छुट्याउनु पर्छ । यसरी लामो दुरीको एउटा ट्रिपमा सवारीधनीको कम्तिमा मासिक ३० हजार रुपैयाँ खर्च भइरहेको हुन्छ । त्यस्तो सबै खर्च जोगाउन सकिने गरी यो प्लेटफर्म तयार पारिएको दास बताउँछन् ।

उनी भन्छन्, ‘एउटा सिमितिमा २० वटा गाडी छन् भने टिकेट काउन्टर, कर्मचारी, टिकेट प्रिन्टिङ, सञ्चार आदि गरी मासिक ७ लाख रुपैयाँसम्म खर्च भइरहेको हुन्छ । तर हामीले यस्ता सबै खर्च कटौती गरिदिन सक्छौं ।’

सँगसँगै पुरानो रेकर्ड राख्ने कुराको अभाव समेत यसले पूर्ति गरिदिन्छ । एपमा यात्राको फिडब्याक (प्रतिक्रिया) र रेटिङको फिचर समेत राखिएको छ । यात्रा, खाना तथा खाजाका लागि रोकेको ठाउँ, खान्की, बसको सिट, स्टाफको व्यवहार आदि सबैमा यात्रुले फिडब्याक दिन सक्छन् । 

यसरी दिइएको फिडब्याक एपमा सार्वजनिक रुपमा सबैले हेर्न मिल्छ । यसले सवारी धनी र स्टाफहरुलाई जिम्मेवार बनाउने र सेवामा सुधार ल्याउन सहयोग पुग्ने दासको विश्वास छ । 

एपका केही सेवा प्रयोग गर्न लग इन आईडी जरुरी हुन्छ । टिकट बुकिङ र फिडब्याकका लागि लग ईन आवश्यक पर्ने भएपनि अन्य सेवा प्रयोग गर्न त्यसको जरुरत पर्दैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०