close

खस्कियो नेपालको मोबाइल डेटा स्पिड, फिक्स ब्रोडब्याण्डमा भने २ स्थान सुधार

टेकपाना टेकपाना

कात्तिक १२, २०७७ १४:५५

खस्कियो नेपालको मोबाइल डेटा स्पिड, फिक्स ब्रोडब्याण्डमा भने २ स्थान सुधार

काठमाडौं । नेपालको मोबाइल इन्टरनेट स्पिड ६ स्थान तल झरेको छ । ओकलाको स्पिड टेस्ट ग्लोबल इन्डेक्समा सेप्टेम्बर महिनामा नेपाल १११ औं नम्बरबाट छ स्थानले पछाडि धकेलिँदै ११७ औं नम्बरमा पुगेको हो ।

इन्डेक्स अनुसार नेपालमा मोबाइल डेटाको औषत डाउनलोड स्पिड १७.१२ एमबीपीएस तथा अपलोड स्पिड १०.६१ र लेटेन्सी ३४ मिली सेकेन्ड रहेको छ । जब कि विश्वको मोबाइल इन्टरनेटको औषत डाउनलोड स्पिड ३५.९६ एमबीपीएस तथा अपलोड स्पिड ११.२२ एमबीपीएस र लेटेन्सी ४० मिली सेकेन्ड रहेको छ ।

यस हिसाबले नेपाल डाउनलोड स्पिडको तुलनामा अपलोड स्पिड र लेटेन्सीमा सन्तोषजनक स्थानमा छ । गत अगस्ट महिनामा मोबाइल डेटाको स्पिडमा नेपाल १११ औं स्थानमा रहेको थियो । 

ओकलाको सूचीमा छिमेकी देश श्रीलंका, पाकिस्तान,र भारत क्रमशः १०२, ११६ र १३१ औ स्थानमा छन् । चीन भने मोबाइल डेटाको स्पिडमा विश्वको दोस्रो स्थानमा छ ।

चीनको औषत डाउनलोड स्पिड ११३.३५ एमबीपीएस तथा अपलोड स्पिड २६.०८ एमबीपीएस र लेटेन्सी ३२ मिली सेकेन्ड रहेको छ ।

मोबाइल डेटा स्पिडमा दक्षिण कोरिया १२१ एमबीपीएसका साथ विश्वकै पहिलो नम्बरमा पर्न सफल भएको छ । दक्षिण कोरियाको औषत अपलोड स्पिड १८.८१ र लेटेन्सी ३४ मिली सेकेन्ड रहेको छ । 

ब्रोडब्याण्ड इन्टरनेटको कुरा गर्दा नेपाल १७५ देशमा ११२ औं स्थानमा छ । ओकलाका अनुसार नेपालमा फिक्स ब्रोडब्याण्डको औषत डाउनलोड स्पिड २२.३६ एमबीपीएस तथा अपलोड स्पिड २०.४१ एमबीपीएस र लेटेन्सी १६ मिली सेकेन्ड रहेको छ ।

अगस्टको तुलनामा सेप्टेम्बरमा दुई स्थान सुधार गर्दै नेपाल फिक्स ब्रोडब्याण्डमा ११३ औं स्थानमा उक्लेको हो । ब्रोडब्याण्ड स्पिडमा २२६.६० एमबीपीएस स्पिडका साथ सिंगापुर विश्वकै पहिलो स्थानमा छ ।

त्यस्तै २१०.७३ एमबीपीएसका साथ हङकङ दोस्रो, १९३.४७ एमबीपीएसका साथ रोमानिया तेस्रो, १७८.८१ एमबीपीएसका साथ स्विजरल्याण्ड चौथो र १७५.२२ एमबीपीएसका साथ थाइल्याण्ड पाँचौं स्थानमा छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०