खाना डेलिभरीको ‘पायोनियर’ फुडमाण्डुको एक दशक पुरा

foodmandu celebrating 10th anniversary

काठमाडौं । शैक्षिक पृष्ठभूमीको हिसाबले मनोहर अधिकारी आईटीको नभएर व्यवस्थापनका विद्यार्थी हुन् । तर रुचि र लगाव भने उनको सुरुदेखि नै आईटीमा रह्यो । प्रोग्रामिङ ल्याङ्वेज सिक्न केही इन्स्टिच्युट धाए । तर आईटी क्याम्पसको कुनै औपचारिक कोर्ष भने उनले लिएनन् । 

रुची र लगावले नै उनी सफ्टवेयर डेभलपर बने । सन् २००१ यता मनोहरले डिटु हकाई लगायतका विभिन्न आईटी कम्पनीमा काम गरे । कम्पनीको कार्यालय विशालनगरमा थियो ।

अहिले रेस्टुरेन्टको हब भए पनि त्यतिखेर राम्रो खाना तथा खाजा खाने ठाउँ थिएन । त्यसो त एक दुई वटा रेस्टुरेन्ट नभएका होइनन् । तर त्यसका लागि १५/२० मिनेट हिँडेर पुग्नुपर्ने हुन्थ्यो ।

बिहान ८ बजेबाटै अफिस आवर सुरु हुन्थ्यो । यस्तोमा हरेक दिन दिउँसोको खाना खाने कुरा मनोहरलाई एउटा समस्या जस्तो लाग्न थाल्यो। त्यहिँबाट यो समस्या मनोहरको दिमागमा गढेर बस्यो । 

सन् २००६ को मध्यतिर उनले जागिर छोडेर आउटसोर्सिङको काम गर्ने स्टर्डी सफ्टवेयर नामक एउटा छुट्टै कम्पनी खोले । तर त्यसमा पनि मनोहर खासै सन्तुष्ट हुन सकिरहेका थिएनन् । प्रविधिसँग जोडिएको आफ्नै कुनै प्रडक्ट सहितको स्टार्टअप गर्ने उत्सुकता मनमा खेलिरहन्थ्यो । 

यस्तैमा कुनै अनलाइन व्यवसाय गरौं भन्नेमा उनी पुगेका थिए । तर केही अरुकोभन्दा फरक गर्न पाए हुन्थ्यो भन्नेमा उनी थिए । जागिर गर्दाका दिनमा खाना वा खाजा खाने कुरामा आफूले भोगेको समस्या दिमागमा पुनरावृत्त भइरहेको थियो ।

‘बिभिन्न रेस्टुरेन्टबाट खाना अर्डर गर्न मिल्ने सिस्टम बनाउन पाए हुन्थ्यो भन्ने सोचई मनमा आइरहेको थियो,’ मनोहरु सम्झिन्छन् । त्यो समयमा नेपालमा त्यस किसिमको सेवा अरु कसैले सुरु गरेका पनि थिएनन् । न त विश्वबजारमा नै फुड डेलिभरी व्यवसाय त्यति धेरै सुनिने विषय बनिसकेको थियो ।

यसैबीच आफ्नै आईटी कम्पनीको टिमलाई लगाएर सिस्टम डेभलपमेन्टको काम थाले । अर्डर गर्ने प्लेटफर्मको रुपमा फुडमाण्डुको विजनेस मोडल बन्यो । तर रेस्टुरेन्टहरुसँग आफ्नै लजिस्टिक म्यानेजमेन्ट अर्थात डेलिभरीको सेवा भने थिएन । डेलिभरी नहुने अवस्थामा अर्डर मात्रै लिनुको कुनै अर्थ थिएन ।

अनि मनोहर कम्पनीको विजनेस मोडल नै परिवर्तन गर्नतिर लागे । अर्डरदेखि डेलिभरीसम्मको सम्पूर्ण सेवा दिनेगरी साथी युवराज प्रसाईंसँग मिलेर सन् २०१० को नोभेम्बरमा फुडमाण्डु सुरु गरे ।

‘फलानो देशमा यस्तो सेवा छ भन्ने हिसाबले हामीले फुडमाण्डु ल्याएका थिएनौं,’ मनोहर भन्छन्, ‘यो विशुद्ध रुपमा हामीले भोगिरहेको समस्या समाधान गर्ने सोचका साथ सुरु गरिएको थियो । अर्डर गर्ने प्लेटफर्म केही देशमा भए पनि शतप्रतिशत रुपमा लजिस्टिक डेलिभरी सहितको सम्पूर्ण सेवा दिने कम्पनीहरु चाहिँ भए जस्तो लाग्दैन  ।’

व्यवस्थापनकै विद्यार्थी भए पनि कम्पनी सुरु गर्दा खासै व्यवसायिक ज्ञान र अनुभव मनोहरमा थिएन । तर पनि व्यवसाय सस्टिनेबल बनाउने कुरामा उनी सचेत थिए । विद्यमान समस्या र त्यसको समाधानमा केन्द्रीत रहेरै फुडमाण्डु सुरु गरिएको थियो ।

यस्तोमा बजारमा मानिसहरुले सहजै कम्पनीको नयाँ प्रकारको अनलाइन सेवालाई आत्मसाथ गर्नेमा मनोहर विश्वस्त थिए । दुई जना डेलिभरी ब्वाई र एक जना कस्टमर सर्भिस स्टाफबाट फुडमाण्डुले सेवा दिन सुरु गर्‍यो । प्राविधिक पाटो भने मनोहरकै अर्को आईटी कम्पनीले हेर्दथ्यो । कम्पनीको कार्यालय हात्तिसारमा थियो । 

‘अर्डर धेरै आउँदा सेवा दिनै नसकिएला कि भन्ने भय मनमा थियो,’ उनी फुडमाण्डुका सुरुवाती दिन सम्झिन्छन्, ‘त्यसैले हामीले प्रवर्द्धनात्मक कामको बारेमा खासै योजना बनाएका थिएनौं । फ्लायरहरु भने बाँडेका थियौं ।’

कार्यालय वरपरत फ्लायर बाँडिएको थियो । त्यसैमध्येबाटै पहिलो अर्डर आएको मनोहर सुनाउँछन् । तर सोचेजस्तो अर्डर भने आएन ।

पहिलो वर्ष हजार/१२ सयभन्दा बढी अर्डर जुटाउनै सकेनन् । यस हिसाबले दिनमा औषत अर्डर पाँच वटा मात्रै रह्यो । त्यसपछि भने मनोहरलाई लाग्यो, बजार र मानिसहरु कुनै नयाँ सेवामा आउन समय लाग्दो रहेछ ।

अनलाइन सेवाको रुपमा कम्पनीको वेबसाइटबाटै खाना अर्डर गर्न मिल्ने बनाइएको थियो । तर धेरै अर्डर भने फोनबाटै आउने गरेको मनोहर सुनाउँछन् ।

‘हामीले सेवा सुरु गरेको पाँच वर्षसम्म पनि ७० प्रतिशतभन्दा बढी अर्डर फोनबाटै आउँथ्यो,’ उनी भन्छन्, ‘वास्तवमा त्यतिखेर अनलाइनबाटै खरिद गर्ने भन्ने अभ्यास नै सुरु हुन सकेको थिएन । मानिसहरुले वेबसाइटमा गएर मेनु हेर्थे । तर त्यहिँबाट कार्टमा राखेर चेकआउट गर्ने प्रक्रिया भने पुरा गर्दैनथे । वेबसाइट त मेनु हेर्नका लागि मात्रै प्रयोग गर्ने परिपाटी जस्तै बन्यो ।’

हुन त रेस्टुरेन्टहरुलाई फुडमाण्डुको प्लेटफर्ममा अनबोर्डिङ गर्ने (ल्याउने) काम पनि त्यति सजिलो थिएन । सेवामा काम गर्ने तरिका, लाग्ने चार्ज आदि कुराहरु बुझाउनै कठिन थियो । तर पनि सेवा सुरु गर्दा फुडमाण्डुमा १२ वटा रेस्टुरेन्ट आवद्ध भए ।

फुडमाण्डु जस्तै फुड डेलिभरी व्यवसाय पछिल्लो समय विश्वमै लोकप्रिय बन्दै गइरहेको छ । यस प्रकारको आइडिया सहित त्यतिखेरै स्टार्टअप सुरु गरेकोमा मनोहर खुशी र सन्तुष्ट देखिन्छन् ।

आउट सोर्सिङ कम्पनीको कोठाबाट सुरु भएको फुडमाण्डु अहिले कुपण्डोलको एउटा घरमा सरेको छ । फुडमाण्डुमै केन्द्रीत हुन मनोहरले सन् २०१४ को अन्त्यतिर आउटसोर्सिङ कम्पनी बन्द गरे । 

नेपालमा खाना अर्डर र डेलिभरी सेवाको सुरुवात फुडमाण्डुले गरेपनि अहिले त्यसकै सिको गर्नेहरु बजारमा दर्जनौं संख्यामा छन् । यसलाई मनोहरु सकारात्मक रुपमै लिन्छन् ।

‘भित्री कुराहरु बुझेर सुरु गर्दा त्यसले बजारमा प्रतिस्पर्धा हुन्छ र बजार विस्तारमा सहयोग पुर्‍याउँछ,’ उनी भन्छन्, ‘तर बजारलाई नै बिगार्ने किसिमको प्रतिस्पर्धा हुनु चाहिँ राम्रो होइन । सुरु सुरुमा प्राइस वारले ग्राहकलाई फाइदा पुगेजस्तो पनि देखिन्छ । तर अस्वस्थ प्रतिस्पर्धा क्षणिक प्रकारको मात्रै हुन्छ । यसले इन्डस्ट्री नै सस्टेन हुन नसक्ने अवस्था आउँछ र ग्राहकलाई समेत यसले नराम्रो असर पार्छ वा भनौं सेवाप्रति वितृष्णा जाग्छ ।’

फुडमाण्डु सुरु भएको ६/७ वर्षसम्म खाना डेलिभरी सेवामा प्रतिस्पर्धाको अवस्थाको नामो निसान थिएन । त्यसपछिका वर्षमा भने यो क्षेत्रमा नयाँ नयाँ कम्पनीहरु थपिने क्रम चलिरहेको छ । 

नेपालको फुड डेलिभरी सेवामा अस्वस्थ प्रतिस्पर्धा भए नभएको विषयमा भने मनोहर खासै खुल्न चाहन्नन् । भन्छन्, ‘कतिले बुझेर सुरु गर्नु भएको छ, कतिले नबुझेरै सुरु गर्नु भएको छ ।’

निश्चित रुपमा पुरानो प्रकारको व्यवसायमा बजार हिस्सा लिनकै लागि प्रतिस्पर्धा हुने गर्दछ । तर नयाँ तथा स्टार्टअप व्यवसायको प्रकृति भने अलिक फरक हुन्छ । बजार हिस्सा खोस्नेमा भन्दा विस्तार गर्नेमा ध्यान दिनु यसको मौलिक पाटो हो ।

सुरुवात गर्नेले जे गरेको छ, दुरुस्त त्यस्तै गर्नुभन्दा त्यसभन्दा नयाँ स्टार्टअपहरु केही फरक सोचका साथ काम गर्नेगरी अगाडि बढ्नु उपयुक्त हुने मनोहरको सुझाव छ ।

‘सुरुवात गर्नेले सबै कुरा राम्रैसँग गरेको छ भन्ने सकिँदैन,’ उनले भने, ‘केही कमी कमजोरी पनि हुन सक्छन् । वा भनौं सोच केही फरक हुन सक्छ । त्यसको ग्याप खोजेर काम गर्न सकियो भने अलिकति भए पनि पृथक देखिन्छ र त्यसले सबैलाई फाइदा पुग्छ ।’ 

हुन त पछिल्लो समय सबै प्रकारका व्यवसायहरु अनलाइनमा सिफ्ट हुँदै गइरहेका छन् । विश्व बजारमा ईकमर्सले ठूलो प्रगति गरिरहँदा नेपालमा भने अपेक्षित रुपमा यो क्षेत्रले विकासको गति समेत लिन सकेको छैन ।

प्रभावकारी डेलिभरी च्यानल तथा लजिस्टिक लगायतका आवश्यक पूर्वाधार अभावकै कारण नेपालको ईकमर्सले आशातित प्रगति गर्न नसकेको मनोहरको बुझाई छ । यद्यपी अन्य ईकमर्स व्यवसायको तुलनामा खानाको डेलिभरी दिने कार्य भने आफैंमा थप चुनौतीपूर्ण हुन्छ ।

भोक लागेपछि ग्राहकले अर्डर गर्छन् । ताजा रुपमा खाना तथा खाजा तत्कालै डेलिभरी दिनुपर्ने हुन्छ । दिनभर एउटै प्रकारले अर्डर आउने पनि होइन । खाना वा खाजा खाने समय प्रायः सबैको एउटै हुन्छ ।

एउटै समयमा धेरै अर्डर आउँदा त्यसलाई व्यवस्थापन गर्नु अन्य प्रकारका ईकमर्सको दाँजोमा असहज नै हो । तत्काल डेलिभरी, गुणस्तर र लागत यी तीन वटै कुराले फुडमाण्डु जस्ता खानाको डेलिभरी दिने व्यवसायका लागि आफ्नै डेलिभरी च्यानल तयार पार्नुपर्ने बाध्यता छ ।

डेलिभरी ढिला हुँदा कहिले काहिँ सामान फिर्ता ल्याउनुपर्ने अवस्था पैदा भइरहेको हुन्छ । फुडमाण्डुले अर्डर गरेको औषत ४० देखि ४५ मिनेटमा खाना वा खाजाको डेलिभरी दिँदै आएको छ ।

हुन त विस्तारै नेपालमा पनि स्टार्टअपका लागि आवश्यक ईकोसिस्टम तयार हुँदै गएको छ । अनलाइन भुक्तानीका लागि विभिन्न माध्यमहरु छन् । 

तर त्यसको प्रयोग भने अपेक्षित रुपमा बढ्न नसकेको मनोहर बताउँछन् । अहिलेको महामारीले गर्दा अनलाइन भुक्तानी केही हदसम्म बढेको त पक्कै छ ।

फुडमाण्डुमा अहिले ३० प्रतिशत ग्राहकले मात्रै अनलाइनबाट भुक्तानी गर्दै आएका छन् । भुक्तानी प्रणालीका लागि आवश्यक पूर्वाधार र सञ्चालन त्यति प्रभावकारी नहुनुलाई नै त्यसको मूख्य कारणको रुपमा देख्छन्, उनी । 

होटेल तथा रेस्टुरेन्टले आफ्ना परिकारको मूल्य तय गरेकै हुन्छन् । कार्यालयको सपोर्टदेखि डेलिभरीसम्मको चार्ज थपिँदा पक्कै पनि फुडमाण्डुको खाना तथा खाजा महंगो पर्ला कि भन्ने सोचाई आउनु स्वभाविकै हो । तर मनोहर भने यो विषयलाई फरक रुपले अर्थ्याउँछन् । 

‘हामीकहाँ विभिन्न स्तरका रेस्टुरेन्टहरु छन् । त्यसमा कुनैमा सस्तो होला, अर्कोमा महंगो,’ उनी भन्छन्, ‘तर तपाईंले सर्च गरेर आफूलाई उपयुक्त विकल्प रोज्न पाउनुहुन्छ । हामीले रेस्टुरेन्टकै मूल्यमा खाना तथा खाजा उपलब्ध गराउने हो । त्यसमा सामान्य डेलिभरी चार्ज थपिने मात्रै हो ।’ 

हरेक स्टार्टअपलाई बृद्धि विकास गर्दै लैजानुपर्ने चुनौती त पक्कै हुन्छ । कहिले काहिँ बाह्य कारणले समेत कठिनाइहरु थपिने गर्दछन् ।

अहिले कोभिडले थुप्रै व्यवसायलाई प्रभावित गरेजस्तै त्यतिखेर भारतले लगाएको नाकाबन्दीको समयमा फुडमाण्डुको व्यवसाय जोगाउनै धौ धौ परेको मनोहरको अनुभव छ ।

‘पेट्रोल पाउनै मुस्किल हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘पाँच सय रुपैयाँमा पेट्रोल किनेर डेलिभरी दिनुपर्दा लागत नै नउठ्ने अवस्था थियो । अर्कोतर्फ रेस्टुरेन्टको सञ्चालनमा समेत आफ्नै किसिमका कठिनाईहरु थिए । यस्तोमा चुनौतीको सामना गर्दै अगाडि बढ्नुको विकल्प हुँदैन ।’

तीन जना स्टाफबाट सुरु भएको फुडमाण्डुले अहिले दुई सयभन्दा बढीलाई रोजगारी दिइरहेको छ । कम्पनीले हाल दैनिक एक हजार वटा डेलिभरी दिँदै आएको मनोहर सुनाउँछन् ।

अहिले कम्पनीका कूल दुई लाख ग्राहक छन् । आवद्ध रेस्टुरेन्टको संख्या साढे चार सयभन्दा बढी छ । तर पनि ग्राहकले राम्रो रेस्टुरेन्टबाट अर्डर गर्ने र डेलिभरी गर्ने ठाउँ टाढा हुँदा कठिनाई आउने गरेको मनोहर सुनाउँछन् । 

त्यसो त फुडमाण्डुले काठमाडौं उपत्यकाको रिङरोड भित्र र आसपासका क्षेत्रहरुमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।  ‘काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य मुख्य स्थानहरु हामीले समेटिसकेका छौं,’ मनोहर भन्छन् ।

हाल दिउँसो र बेलुका मात्रै खानाको डेलिभरी सेवा दिँदै आएको फुडमाण्डुले अब चाँडै अन्य समयमा समेत अर्डर लिने योजना बनाइरहेको छ । त्यसो त काठमाडौंमा मात्र केन्द्रीत रहेको आरोप धेरै ईकमर्सले खेप्दै आएका छन् ।

यसै मेसोमा फुडमाण्डुले भने काठमाडौं बाहिर समेत आफ्नो सेवा विस्तार गर्ने तयारी थालेको छ । अहिलेको कोभिड १९ को महामारीका कारण आफ्नो उक्त योजना कार्यान्वयन गर्न नपाएको मनोहर बताउँछन् ।

उनी अगाडि भन्छन्, ‘तर पनि हामी अबको एक वर्षमा पोखरा, बुटवल-भैरहवा, चितवन जस्ता मुख्य सहरहरुमा आफ्नो सेवा विस्तार गर्ने हिसाबले अगाडि बढिरहेका छौं ।’ कोरोना भाइरसका कारण प्रायः सबैजसो व्यापार व्यवसायहरु प्रभावित भएका छन् । लकडाउन र निषेधाज्ञाका कारण फुडमाण्डुको खाना डेलिभरी सेवा नै बन्द हुन पुग्यो ।

यस्तोमा कम्पनीले आफ्नो सेवामा विविधिकरण गर्ने रणनीति अख्तियार गर्‍यो । जसअनुरुप ताजा तरकारी तथा फलफुल जस्ता ग्रोसरी सामग्रीको डेलिभरीमा समेत फुडमाण्डुले हात हाल्यो ।

परिस्थितिले सुरु गरिएको यो नयाँ सेवालाई कम्पनीले अब दीर्घकालिन रुपमै अगाडि लैजाने योजनाका साथ काम गरिरहेको छ । खानासँग सम्बन्धित अन्य सामग्रीहरुलाई समेत थप्दै जाने गरी आफूहरुले दीर्घकालीन रणनीति नै तय गरिसकेको मनोहर सुनाउँछन् ।  

गएको फागुनमा फुडमाण्डुमाथि साइबर आक्रमण भयो । पक्कै पनि कम्पनीका लागि यो दुःखद क्षण थियो । तर कम्पनीले आफ्ना ग्राहक समक्ष माफी माग्दै पारदर्शी रुपमा यो विषयलाई खुलस्त रुपमा बाहिर ल्यायो ।

यो नेपालकै लागि नयाँ अभ्यास थियो । साइबर सुरक्षाप्रति सचेत रहँदा रहँदै दुःखद घटना व्यहोर्नुपरेको मनोहर बताउँछन् ।

‘नुहुनुपर्ने घटना भइसकेको थियो । तर यहाँको कानून छैन भनेर हामी चुपचाप बसेनौं,’ उनी भन्छन्, ‘हामीले हाम्रा ग्राहकप्रति जिम्मेवार बन्दै यथार्थ विषय बाहिर ल्याएका हौं । यसबाट प्रयोगकर्ता सचेत बन्न सक्छन् । लुकाउन खोजेको भए ठीक हुने थिएन ।’

थुप्रै युवा पुस्तालाई स्टार्टअप व्यवसाय गर्नका लागि उत्प्रेरणाको काम समेत फुडमाण्डुले गरिरहेको छ । यही धेयलाई आत्मसाथ गर्दै कम्पनीले दश दिन दश वटा स्टार्टअप कम्पनीसँग मिलेर आफ्नो दशौं वार्षिकोत्सव मनाउँदै छ । 

 उपयुक्त वातावरण तयार हुन सकेको खण्डमा नेपालमा स्टार्टअप व्यवसायले राम्रो विकास गर्न सक्ने संभावना मनोहरले देखेका छन् । महामारीले विश्व नै आक्रान्त भए पनि यसले प्रविधिको प्रयोग र आवश्यकतालाई भने झन् बलियो गरी स्थापित गरेको छ । तर सरकारले भने प्रविधिको महत्वलाई त्यति राम्रोसँग बुझ्न नसकेको मनोहरको बुझाई छ ।

‘सुरक्षित रुपमा होम डेलिभरी उपलब्ध गराउँदा कोरोना सर्दैन भन्ने कुरा सरकारले नसोचेकै हो,’ उनी भन्छन्, ‘सरकारी निकाय भनेको सहजीकरण गर्ने निकाय भन्दा पनि नियन्त्रण गर्ने निकाय मात्र हो भन्ने मानसिकता छ । कुनै कुरालाई सहज बनाउने भन्दा पनि रोक्न सक्नुमा आफ्नो शक्ति र भूमिका देख्ने परिपाटीले समस्या ल्याइरहेको छ । यो प्रवृत्तिमा परिवर्तन आउन जरुरी छ ।’

ईकमर्सले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउने काम गर्ने भएकाले यसलाई सरकारले प्रवर्द्धन गर्नुपर्नेमा मनोहर जोड दिन्छन् ।

‘हाम्रोमा आवद्ध रेस्टुरेन्टले कति बिक्री गरिरहेको छ भन्ने कुरा कुनै पनि समयमा सहजै हेर्न सकिन्छ र यसले पारदर्शिता ल्याएर सरकारको राजस्वमा योगदान पुग्न जान्छ,’ उनी भन्छन्, ‘यो सबै कुरा बुझ्न सकेको अवस्थामा ईकमर्सले फस्टाउने मौका पाउँछ । सरकारबाट कुनै प्रवर्द्धनको काम होला नहोला, तर स्टार्टअप तथा ईकमर्सको काममा अवरोध नगरिदए मात्रै पनि ठूलो सहयोग हुने थियो ।’

 

प्रतिक्रिया दिनुहोस्
Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5705254
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team