close

अर्थमन्त्री पौडेलको नजरमा डिजिटल अर्थतन्त्रका ५ चुनौती

टेकपाना टेकपाना

मंसिर १४, २०७७ १८:०

अर्थमन्त्री पौडेलको नजरमा डिजिटल अर्थतन्त्रका ५ चुनौती

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आफू अर्थमन्त्रीमा नियुक्त भएदेखि नै नेपालको अर्थतन्त्रका लागि अबको बाटो डिजिटल प्रणाली र प्रविधिको आत्मासाथभन्दा अर्को विकल्प नभएको बताउँदै आएका छन् ।

त्यसका लागि आवश्यक नीति तथा कानून परिमार्जन गर्नसमेत आफू तयार रहेको बताउने अर्थमन्त्री पौडेलले पहिलो पटक यो क्षेत्रमा रहेको चनौतीलाई समेत केलाएका छन् ।

शनिबार आयोजना भएको फोनपे डिजिटल इकोनोमी कन्क्लेभमा बोल्दै अर्थमन्त्री पौडेलले डिजिटल इकोनोमी तथा प्रविधिसँगै देखा परेका चुनौतीको विषय उल्लेख गरेका हुन् ।

उनका अनुसार नेपालले अबका दिनमा प्रविधिको प्रयोगसँगै त्यसले ल्याएको केही चुनौती समेत समाधान गर्दै अघि बढ्नुपर्ने छ । जसमध्ये साइबर सुरक्षा, डिजिटल साक्षरता लगायतका विषयलाई उनले चुनौतीको रुपमा प्रस्तुत गरेका छन् ।

अर्थमन्त्री पौडेलले कार्यक्रममा डिजिटल इकोनोमी र डिजिटल प्रविधिका विषयमा देखेका चुनौती यस्ता छन् :

१. दिगो सञ्चालन : अर्थमन्त्री पौडेलका अनुसार दिगो सञ्चालन नेपालको डिजिटल प्रविधिका लागि एउटा चुनौती हो । यसमा प्रविधिलाई जान्नु र त्यसलाई सामर्थ्यले धान्नुपर्छ ।

जान्ने र धान्ने दुईबीच सन्तुलन हुने गरी यसको दिगो सञ्चालन आवश्यक हुन्छ । हामीले सुरुवात त गर्‍यौं, तर यसलाई दिगो रुपमा प्रयोगमा ल्याउन सकेनौं भने अपेक्षा अनुसारको प्रतिफल प्राप्त हुने छैन ।

२. कारोबारको गोपनीयता : हामी कारोबारको गोपनीयातालाई कसरी व्यवस्थापन गर्छाैं भन्ने पनि ठूलो चुनौती छ । यसमा नागरिकको गोपनीयताको हक जोडिएको हुन्छ ।

सूचनाको हक जोडिएको हुन्छ । दुवै कुरा नागरिकको अधिकार भएकाले त्यस्ता जानकारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषय हाम्रा लागि चुनौतीका विषय हुनेछन् ।

३. तथ्याङ्क र प्रणालीको सुरक्षा : जब हामी डिजिटल इकोनोमीका सिफ्ट हुन्छौं, तब हामीसँग छुट्टै खालको तथ्याङ्क निमार्ण हुन्छ । उक्त तथ्याङ्क र त्यसमा प्रयोग हुने सिस्टमको सुरक्षालाई पनि हामीले ध्यान दिनुपर्नेछ ।

पछिल्लो समय ह्याकिङका घटना बढेका छन् । त्यसैले हाम्रो लागि साइबर सुरक्षाको विषय अर्को महत्वपूर्ण हुनेछ । हामीले यी विषयलाई कसरी व्यवस्थापन गर्छाै भन्ने विषय पनि हाम्रो अर्को चुनौती हो ।

४. आर्थिक कारोबारको नियमन : आर्थिक कारोबारको नियमन पनि हाम्रो लागि चुनौती हुनेछ । डिजिटल प्रविधिको विकाससँगै नयाँ-नयाँ आर्थिक कारोबार भइरहेको छन् । त्यस्ता नयाँ आर्थिक कारोबारलाई कसरी करको दायरामा ल्याउने भन्ने विषय छ ।

अर्कोतर्फ नयाँ-नयाँ आविष्कार भइरहेका छन् । त्यस्ता आविष्कारलाई प्रोत्साहन गर्नुपर्नेछ । तर, सँगै सबै कामलाई नियम र विधिसम्मत तुल्याउनु पर्नेछ । त्यसकारण आविष्कारलाई अवरोधविना कसरी कानूनको दायराभित्र लैजाने भन्ने विषय पनि अबको चुनौती हो ।

५. डिजिलट साक्षरता : यी सबैभन्दा पनि डिजिटल साक्षरता हाम्रो सबैभन्दा चुनौतिको विषय हो । डिजिटल शिक्षाको ठूलो ग्याप रहेको छ । हामीले कसरी आम मानिसमा डिजिटल सीप पुर्‍याउन सक्छौं र त्यसको प्रयोगलाई बढाउन सक्छौं भन्ने चुनौती छ ।

साथै यसका लागि आवश्यक पर्ने प्रविधि र पूर्वाधार कसरी सँगसँगै अघि लैजान सकिन्छ भन्ने विषय पनि अबको चुनौती हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०