close

यस्ता छन् पब्जी खेलेर धेरै कमाउने नेपाली टिम

टेकपाना टेकपाना

असोज २, २०७८ १९:१३

यस्ता छन् पब्जी खेलेर धेरै कमाउने नेपाली टिम

काठमाडौं । ई-गेमिङलाई मनोरञ्जनको रुपमा मात्रै हेर्ने गरिएको भए पनि पछिल्लो समय यस्ता गेमहरु व्यक्तिगत र व्यवसायिक रुपमा आम्दानीको स्रोतको रुपमा विकास हुँदै छ ।

कानूनी रुपमा दर्ता भएर व्यवसायिक रुपमा ई-गेमिङमा संलग्न हुनेको संख्या कम भए पनि व्यक्तिगत र सामूहिक रुपमा गेम खेलेर आय गर्नेको संख्या बढिरहेको छ ।

ई-स्पोर्टस अन्तर्गत थुप्रै गेम छन् । यद्यपि धेरै आम्दानी गर्नेहरुमा पब्जी खेला‍डीहरु नै अगाडि रहेको जानकारहरु बताउँछन् ।

यसका साथै नेपालमा फ्रि-फायर, डोटा टू, डोटा रिलोडेड लगायत गेमका व्यावसायिक खेलाडीहरू छन् । यहाँ हामी नेपालमा पब्जी खेलेर सबैभन्दा बढी कमाई गर्ने टिमबारे जानकारी दिँदै छाैं । 

डीआरएस गेमिङ

नेपालमा ई-स्पोर्टसमा सबैभन्दा धेरै कमाउने टिम पब्जी मोबाइलको द रियल सोल्जर्स (डीआरएस) गेमिङ हो ।

टिममा इन गेम लिडर माफिया निन्जा अर्थात उगेन लामा, तीन जना एसल्टर एजे अर्थात अजय श्रेष्ठ, निमा तामाङ र मिस्टर बोरो अर्थात अन्जन राई सहित इन्ट्री फ्रयागर पेम्बा ग्याल्जेन लामा छन् ।

टिमले नेपाललाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियाेगितामा हरूमा नेपाललाई प्रतिनिधित्व गरिसकेको छ ।

सन् २०२० देखि टिमको रुपमा खेल्न सुरु गरेको यो टिमले हालसम्म विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय खेल मार्फत कूल ८३,८०६ अमेरिकी डलर अर्थात ९८ लाख ८९ हजार १०८ रुपैयाँ कमाइसकेको छ ।

आजसम्म खेलेका विभिन्न खेलहमध्ये यो टिमले पाँच ओटा खेलमा पहिलो स्थान हात पारेका छन् । टिमले ओपीएस ब्याटल सो, पब्जी मोबाइल प्रो लिग-सिजन थ्री, २०२१: साउथ एसिया फाइनल्स, पब्जी मोबाइल अल्टिमेट च्यालेन्ज सिजन थ्री, पब्जी मोबाइल नेपाल डाउन र पब्जी मोबाइल क्लब ओपनर- फल स्प्लिट २०२०: साउथ एसियामा पहिलो स्थान हात पारेको हो ।

टिमले हालसम्म ३० राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेको छ ।

डेडआईज गाइज

डीआरएसपछि सर्वाधिक पैसा कमाउने पब्जी टिम ‘डेडआइज गाइज’ हो । यस टिममा हाल इन गेम लिडर ‘सिफु’ अर्थात अल्बर्ट पागंमीसहित दुईजना सपोर्ट प्लेयर ‘इलुजन’ सिर्जन थापा, ‘सुमित वाईटी’ सुमीत गेलाल र दुईजना फ्रयागर ‘रेटेड’ रमेश टाशी गुरुङ र ‘फ्रयागबोइ’ विजय गुरुङ छन् ।

सन् २०१९ देखि सुरु भएको यो टिमले हालसम्म करिब ५३ लाख रुपैयाँ कमाइसकेको छ ।

टिमले आजसम्म तीन अन्तर्राष्ट्रिय गेम पब्जी मोबाइल ग्लेडियटर्स क्लोसियम शोडाउन, पब्जी मोबाइल प्रो लिग-फल स्प्लिट २०२०: साउथ एसिया लिग र पिएपिएल-फल स्प्लिट २०२०: साउथ एसिया सक्रिमसमा पहिलो स्थान हात पारिसकेको छ ।

टिमले हालसम्म ३५ वटा प्रतियाेगितामा सहभागी भइसकेको छ ।

इलिमेन्ट्रिक्स

पब्जीमार्फत् नेपालमा सर्वाधिक कमाउने टिममध्ये इलिमेन्ट्रिक्स पनि एक हो ।

असल्टर साथै इन गेम लिडर ‘मिस्टर ह्योजु’ अर्थात सफल ह्योजु लगायत टिममा सहायक इन गेम लिडर र असल्टर ‘लिक्विड’ अर्थात मनोज लामा, इन्ट्री फ्रयागर ‘इन्सेप्सन’ अर्थात अनिमेष थापा, दुई असल्टर ‘सुस’ अर्थात सुशान्त शाह र ‘अरेन्ज’ अर्थात मन्जिल श्रेष्ठ साथै सपोर्ट प्लेयर ‘पाइरेट’ अर्थात अभिषेक चाम्लिङ राई छन् ।

टिमले हालसम्म ३८ हजार ७ सय ५१ अमेरिकी डलर अर्थात ४१ लाख ८५ हजार १०८ रुपैयाँ कमाइसकेको छ । सन् २०१८ देखि खेल्न सुरु गरेको टिमले आजसम्म ४० खेल खेलिसकेको छ । टिमले आजसम्म कुनै पनि खेलमा पहिलो स्थान भने पाएको छैन । 

ज्यानमारा

नेपालमा सर्वाधिक कमाई गर्ने अर्को पब्जी टिम हो ज्यानमारा । सन् २०१९ देखि सुरु भएको यो टिममा ईनगेम लिडर प्रशान्त शाहसहित नौ खेलाडी छन् ।

टिममा इन्ट्री फ्रयागर ‘गनर’ आङ छिरिङ तामाङ, सपोर्ट प्लेयर समीर लिम्बु, स्नाइपर ‘जिरोफियर’ जोन तामाङ, असल्टर ‘वाङ’ अर्थात विशाल तामाङ, इन्ट्री फ्रयागर ‘गेनजिस’ अर्थात युविन लिम्बु, असल्टरहरू ‘सोनिम’ आशिक लिम्बु, ‘स्नाइप वाईटी’ यमन श्रेष्ठ लगायत अन्य तीन खेलाडी छन् ।

हालसम्म २६ गेम खेलिसकेको यो टिमले कुनै पनि गेममा पहिलो स्थान भने हात पारिसकेको छैन । टिमले आजसम्म २० हजार ५ सय ७० डलर अर्थात २४ लाख २७ हजार रुपैयाँ कमाइसकेको छ ।

ई-स्पोर्टसको विषयमा जानकारी दिने वेबसाइट ईस्पोर्टस अर्निङलिक्विपेडियाका आधारमा तयार पारिएको सामग्री । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१