close

दूरसञ्चार सेवा उपभोक्ताले कोप्रति गर्छन् धेरै गुनासो ? यस्तो छ तथ्य

टेकपाना टेकपाना

कात्तिक १, २०७८ १५:४८

दूरसञ्चार सेवा उपभोक्ताले कोप्रति गर्छन् धेरै गुनासो ? यस्तो छ तथ्य

काठमाडौं । भ्वाइस वा इन्टरनेट सेवा उपभोग गर्ने उपभोक्ताले केही समस्या परे सुरुमा त सम्बन्धित सेवाप्रदायकलाई नै गुनासो गर्छन् । तर, सेवाप्रदायकबाट पनि गुनासो सुनुवाई नभए जाने ठाउँ नेपाल दूरसञ्चार प्राधिकरण हो ।

दूरसञ्चार प्राधिकरण नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय हो । अर्थात्, दूरसञ्चार क्षेत्रसम्बन्धी कानून बनाउने, उपभोक्ताको हित रक्षाको काम प्राधिकरणले नै गर्छन् ।

प्राधिकणले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा विभिन्न सेवाप्रदायकबारे ३०९ वटा गुनासो परेका थिए । तीमध्ये सबैभन्दा धेरै गुनासो नेपाल टेलिकमप्रति रहेको प्राधिकरणको तथ्यांक छ । 

कूल गुनासोमध्ये ८२ वटा अर्थात् २६.५४ प्रतिशत गुनासो नेपाल टेलिकमप्रति छ । यस्तै, गत आर्थिक वर्षमा एनसेल आजियटा लिमिटेडप्रति २६ वटा गुनासो परेको थियो भने सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकप्रति ५२ वटा गुनासो परेको थियो ।

अर्को, इन्टरनेट सेवाप्रदायक भायानेटप्रति ३५ र क्लासिकटेकमाथि ५४ वटा गुनासो परेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा भनिएको छ । 

यस्तै, सुबिसु केवल प्रति २८ वटा गुनासो परेको थियो । प्राधिकरणमा परेको सबै गुनासोको समाधान भएको प्राधिकरणले आफ्नो विवरणमा भनेको छ ।

प्राधिकरणमा परेका गुनासोमध्ये इन्टरनेट स्पिड नभएको गुनासो सबैभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ । यस्तै, इन्टरनेट नचलेको र नेटवर्कमा समस्या देखिएको भन्दै गुनासो गर्नेको संख्या पनि धेरै रहेको प्राधिकरणको तथ्यांक छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२