close

बसपार्कमा चार्जिङ स्टेसन राख्ने प्रक्रिया सुरू

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १२:३८

बसपार्कमा चार्जिङ स्टेसन राख्ने प्रक्रिया सुरू

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी ६ महिनाभित्र देशभर ५० वटा चार्जिङ स्टेशन बनाउने प्रक्रिया थालेको छ । प्रमुख राजमार्गका ३२ स्थानमा विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माणको काम सुरू भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले चार्जिङ स्टेसनका लागि सर्भे सकिएकाे र इन्जिनियरिङको काम भइरहेकाे जानकारी दिए ।

‘मैले प्रोजेक्ट युनिटसँग छलफल गर्दा ६ महिनाभित्र ५० ठाउँमा चार्जिङ स्टेसन बनाइसक्ने कुरा आएको छ,’ उनले टेकपानासँग भने ।

प्राधिकरणले चार्जिङ स्टेसन जडानका लागि सरकारी बसपार्क वा छेउछाउको जग्गा प्रयोग गर्न लागेको उनले जनाए । यसका लागि चार्जर मसिन खरिदको सम्झौता भई हाल स्टेसनमा विद्युत् लाइन पुर्‍याउने काम भइरहेको उनले जानकारी दिए ।

‘स्टेसनमा विद्युत् लाइन पुर्‍याउने काम भइरहेको छ । रफ्तारमै काम भइरहेकाले ताेकिएकै समयभित्र परियाेजना सम्पन्न हुने विश्वास छ,’ उनले भने ।

उनका अनुसार केही स्टेसनमा दुई सय मिटरसम्म लाइन तान्नुपर्छ । जसमा छ वटासम्म विद्युत् पोल थप्नुपर्छ । केहीमा तीनवटा र केहीमा छवटा सवारी एकैसाथ चार्ज हुने गरी स्टेसन निर्माण भइरहेको छ ।

चार्जिङ स्टेसन पूर्वपश्चिम, पृथ्वी, सिद्धार्थ, बीपी र मदन भण्डारी लगायतका राजमार्गमा राखिनेछ । स्टेसनहरू सय किलोमिटर दूरीको अन्तरमा रहनेछन् ।

विद्युतीय स्टेसनबाट कार आधा घन्टा र बस एक घन्टामा पूर्ण रूपमा चार्ज हुनेछ । चार्जिङ स्टेसनमा दुई सय किलोवाटको ट्रान्सफर्मर राखिने छ ।

५० वटा स्टेसन निर्माणको लागत ४० करोड रुपियाँ छ ।

मोबाइल एप्सबाट चार्ज गर्ने समय र स्थान बुक गर्नुका साथै अनलाइन भुक्तानी गर्न सकिने छ । सबै स्टेसनको नियन्त्रण काठमाडौँबाट हुनेछ । स्टेसनमा खाना, खाजाका लागि रेस्टुरेन्टको व्यवस्था हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२