close

अब भाडामा बस्नेलाई पनि स्मार्ट मिटर दिने ऊर्जामन्त्रीको घोषणा

टेकपाना टेकपाना

पुस ९, २०७८ १७:३२

अब भाडामा बस्नेलाई पनि स्मार्ट मिटर दिने ऊर्जामन्त्रीको घोषणा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात न्यूनीकरण र विद्युत खपतको नीति बनाएर प्रभावकारी कार्यान्वयन गरिने बताएकी छन् । मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले अबका दिनमा सङ्गठित क्षेत्रमा प्रयोग हुँदै आएको ग्यास चुल्होलाई विद्युतीय चुल्होले विस्थापित गर्ने नीति अख्तियार गरिने घोषणा गरिन् ।

‘विद्युत खपत गर्ने ठूला उद्योग स्थापनाका लागि प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको प्रवर्द्धनदेखि हरेक क्षेत्रमा विद्युतीय उपकरण उपयोग गर्ने नीति लिएको छु,’ उनले भनिन्, ‘त्यसका लागि सरकारी एवम् निजी क्षेत्रका संघ संस्थासँग निरन्तर छलफल गरिरहेका छौँ ।’ विद्युत वितरण विनियमावली २०६९ लाई परिवर्तन गरेर ग्राहकमैत्री विद्युत वितरण विनियमावली बनाइएको मन्त्री भुसालले बताइन् ।

उनका अनुसार अब ग्राहकले मागेको समयमा सहजै विद्युत पाउने छन् । १०० केभीएसम्म विद्युत सबैलाई तथा सामुदायिक डेरी, चिस्यान केन्द्र, खानेपानी, सिँचाइ क्षेत्रलाई २०० केभीएसम्म विद्युत प्राधिकरणकै ट्रान्सफरमरबाट उपलब्ध हुनेछ ।

‘अब घरभाडामा बस्नेले र अपार्टमेन्ट तथा कोलोनीमा बस्नेले समेत छुट्टै स्मार्ट मिटर लिएर ग्राहक बन्न सक्नेछन् । यसबाट सहरी क्षेत्रमा डेरा गरी बस्ने लाखौँ जनता लाभान्वित हुनेछन्,’ मन्त्री भुसालले भनिन् ।

विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्युतीय सवारी चार्जिङ स्टेसनको विद्युत महसुल दर निर्धारण गरिएको उल्लेख गर्दै उनले प्राधिकरणमार्फत देशभर चार्जिङ स्टेसनको निर्माण कार्यलाई तीव्रता दिइएको बताइन् । उनले भनिन्, ‘व्यक्तिगत, निजी तथा संस्थागतरुपमा चार्जिङ स्टेसन स्थापना गर्न सक्ने व्यवस्था मिलाइएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२