close

स्वास्थ्यलाई प्रविधिसँग जोड्दै ‘मेडिकोस’

टेकपाना टेकपाना

पुस २०, २०७७ १२:३६

स्वास्थ्यलाई प्रविधिसँग जोड्दै ‘मेडिकोस’

काठमाडौं । कोभिड १९ का कारण लामाे समयसम्म भएकाे लकडाउन अन्वेषण लागि उर्वर समय रह्यो । तर लकडाउन हटेर दैनिकी सामान्य बन्दै गएसँगै जीवन पुन: त्यही व्यस्तता र भागदौडमा फर्किएको छ । 

लकडाउनको फुर्सदिलो समयमा नेपालमा धेरै स्टार्टअपहरुको जन्म भयो । विभिन्न क्षेत्रमा संलग्न पेशाकर्मी तथा विद्यार्थीहरु त्यसबेला सोखले धेरै स्टार्टअप परियोजना सुरु गरे ।

लकडाउनकै कालखण्डमा चितवन मेडिकल कलेजका विद्यार्थीहरु अंकित श्रेष्ठ र सन्तोष रिजालले पनि मेडिकोस नामको स्टार्टअप सुरु गरे । सौभाग्यवश मेडिकोसले लन्च गरेको आफ्नो चार एपले यति छोटो समयमै चार लाख प्रयोगकर्ताहरु पाउन सफल भयो । 

तर प्रयोगकर्ता बढेसँगै स्टार्टअपलाई स्केलअप गरेर लैजानसक्ने फुर्सदिलो समय अहिले यी दुई युवासँग छैन । 

‘अहिले विहान आठ बजेदेखि साँझ चार बजेसम्म मेडिकलको कक्षामा बस्नुपर्छ,’ अंकित भन्छन्, ‘त्यसपछि लाइब्रेरी गएर साँझ ६ बजेतिर मेडिकोसको काममा केन्द्रित हुन्छौं ।’ 

समय सामान्य भएको हप्ता दिन जति त यसरी नै पनि काम भइरहेको थियो । तर त्यसपछि दुवैलाई काम र पढाई धान्न हम्मेहम्मे पर्‍यो । छोटो समयमै चार लाख प्रयोगकर्ता बनाउन सफल एपको भविष्य सुन्दर भएको देख्दादेख्दै स्टार्टअपलाई चटक्कै माया मार्ने पनि दुवैले सकेनन् । 

यसैले हाल दुवै युवा टिमलाई मजबुत बनाएर सफ्टवेयरबाट हार्डवेयरतिर स्केलअप हुनतिर केन्द्रित छन् । 

यसबीच चितवन मेडिकल कलेजले मेडिकोसलाई कार्य सञ्चालनका लागि मेडिकल कलेजकै हाताभित्र अफिस सेटअप पनि प्रदान गरेको छ । मेडिकोस ल्याब नाम दिएको उक्त सेटअपमा अब नयाँ उर्जा र अवधारणाका साथ डाक्टर र इन्जिनियरले मिलेर काम गरी सिङ्गाे कम्पनीलाई अगाडि बढाउने सहसंस्थापक सन्तोष रिजाल बताउँछन् । 

‘अहिले हामी टिम खडा गरौं त्यसलाई बलियो बनाउ र सबैको इफोर्ट लगाएपछि हुन्छ भनेर अहिले हामी टिम बलियो बनाउने र मान्छे जुटाउने कुरामा केन्द्रित छौं,’ अंकित भन्छन् । 

यसैका लागि हालै कम्पनीमा काठमाडौं विश्वविद्यालयबाट दुई वर्षअघि कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण गरेर विभिन्न सफ्टवेयर तथा आईटी कम्पनीमा फुल स्ट्याक डेभलपरको रुपमा काम गरिसकेका विवके न्यौपाने पनि मेडिकोसको टिममा जोडिन आइपुगेका छन् ।  

मेडिकल विद्यार्थीहरुको विशिष्टिकृत एप भएकाले नेपाली प्रयोगकर्ताहरु माझ एप खासै परिचित छैन । तर अब ल्याब बनिसकेपछि एपलाई थप प्रोफेसनल र प्रिमियम बनाएर लग्ने मेडिकोस टिमको उद्देश्य छ । 

‘फिचर अपडेट गर्ने सोचेका छौं । नेपाली प्रयोगकर्ता डाक्टर तथा विद्यार्थीबाहेक सामान्यका लागि सफ्टवेयरको एण्डमा स्वास्थ र प्रविधिलाई मिलाएर एउटा एप बनाउने तयारीमा छौं,’ अंकितले भने । 

मेडिकोसको बढ्दो प्रयोगकर्ता संख्याले यसको भविष्य उज्जवल देखेका इन्जिनियर विवेक न्यौपाने यसलाई व्यवसायिक र विश्वसनीय एप बनाउनु पर्नेमा जोड दिन्छन् । 

हालसम्म कुनै पनि रेभिन्यू मोडलमा नगएको मेडिकोस एप चितवन मेडिकल कलेज तथा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा चलायमान छ । निकट भविष्यमा सामान्य प्रयाेगकर्तामा छाप छोड्न सेतोपाटी भन्ने मेडिकल सम्बन्धी सोसल मिडिया एप बनाउने योजना पनि रहेको विवेकले टेकपानालाई सुनाए । 

‘हाल बनाइरहेका सफ्टवेयर तथा चिकित्सा करिकुलम कन्टेन्ट जेनेरेसनमा स्टेबल भइसकेपछि हार्डवेयरमा पनि सिफ्ट हौं भन्ने दीर्घकालिन लक्ष्य छ,’ अंकित भन्छन्, ‘नेपालमा सबैजसो मेडिकल उपकरणहरु भारत तथा चीनबाट आयात हुन्छन् । यो सर्किटलाई तोड्ने हाम्रो उद्देश्य हो । तर यो निकै ठूलो काम भएको हुनाले सुरुमा टिमलाई नै बलियो र सुदृढ बनाउनुपर्छ भनेर हामी लागिरहेका छौं ।’

याे पनि पढ्नुहाेस् : मेडिकल विद्यार्थीले बनाएका एप, जो देशभन्दा विदेशमा लोकप्रिय छन्

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०