close

नेपालको भन्दा राम्रो फोरजी इन्टरनेट चन्द्रमामा विस्तार हुँदै

टेकपाना टेकपाना

पुस २२, २०७७ १७:४७

नेपालको भन्दा राम्रो फोरजी इन्टरनेट चन्द्रमामा विस्तार हुँदै

काठमाडौं । विश्वमा फाइभजी नेटवर्कको लहर चल्न थालिसकेको छ । भारत लगायत कतिपय विकसित मुलुकहरु फाइभजी विस्तार गर्ने प्रक्रियामा छन् । तर हाम्रो मुलुकमा भने अघिल्लो फोरजी पनि राम्रोसँग विस्तार हुन सकेको छैन ।

विस्तार भएका ठाउँहरुमा पनि फोरजी राम्रोसँग चलिरहेका छैनन् । तर अमेरिकी अन्तरिक्ष संस्था नासाले पृथ्वीको फोरजीलाई नै चुनौती दिएर चन्द्रमामा फोरजी विस्तार गर्दैछ ।

चन्द्रमामा विस्तार हुने यो फोरजी पृथ्वीका धेरै भागमा हाल सञ्चालनमा रहेकाे फाेरजी सेवाभन्दा राम्रो हुने बताइएको छ । चन्द्रमामा फोरजी नेटवर्क विस्तार गर्न नासाले नोकियालाई १ करोड ४१ लाख डलरको कन्ट्रयाक्ट दिएको छ ।

चन्द्रमाको सतहमा मानवजातीको दिगो उपस्थितिका लागि नोकियाले चन्द्रामामा पहिलो एलटीईरफोरजी कम्युनिकेसन सिस्टम विस्तार गर्ने भएको हो ।

नोकिया बेल ल्याबको पानोनर इनोभेसनले २०२२ को अन्त्यसम्म चन्द्रमाको सतहमा पहिलो अल्ट्रा कम्प्याक्ट, लो पावर, स्पेस हार्ड र एण्ड टु एण्ड एलटीई सोल्युसन स्थापना गर्नेछ ।

साथै टेलिमेट्री तथा बायोमेट्रीक डेटा एक्सचेञ्ज, रोभर्स तथा अन्य रोबोटिक उपकरण तैनाथ गर्न र त्यसलाई रिमोट कन्ट्रोल गर्नका लागि समेत यो नेटवर्क सक्षम हुने दाबी गरिएको छ । चन्द्रमामा लञ्चिङ तथा ल्याण्डिङको विषम परिस्थितिको सामना गर्नका लागि सक्षम हुने गरी नेटवर्कको डिजाइन गरिने नोकियाले बताएको छ ।

त्यसका लागि कडा आकार, विद्युतको अभाव पुरा गर्नका लागि निकै कम्प्याक्ट रुपमा तयार पारिनेछ । नोकियाले बताए अनुसार हाल फाइभजीको साटो फोरजी तथा एलटीई नेटवर्क उपयोग गरिनेछ ।

किनभने यो प्रविधिले विगत एक दशकमा विश्वभर विश्वसनीयता आर्जन गरिसकेको छ । यद्यपि कम्पनीले एलटीई पछिको प्रविधि फाइभजीको स्पेस एप्लिकेसनलाई पनि अगाडि बढाउने योजना बनाएको छ ।

नासाको कस्तो कार्यक्रम हो आर्टेमिस ?

आर्टेमिस कार्यक्रम अन्तर्गत नासाले सन् २०२४ सम्म चन्द्रमामा पहिलो महिला र अर्को पुरुषलाई उतार्नेछ, जसले यसअघि भनिँदै आएको अधिक चन्द्रमाको सतहलाई पत्ता लगाउन नयाँ प्रविधिको उपयोग गर्नेछन् ।

यसका लागि व्यवसायिक तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य समेत गरिएको छ । यो कार्यक्रम अनुरुप मानिसले यसअघि कहिल्यै पुग्न नसकिएको र देख्न नसकिएको स्थानलाई पत्ता लगाउनेछन् ।

नासाले भनेको छ, ‘हामी रोबोटिक रुपमा चन्द्रमामा फर्किँदै छौं । चार वर्षभित्र हामी अन्तरिक्ष यात्रीलाई पठाउने छौं र दशकको अन्त्यसम्म त्यहाँ लामो समय विताउन सकिने अवस्था तयार पार्ने छौं ।’

नासाले चन्द्रमामा फोरजी सेल्युलर नेटवर्क स्थापना गर्नका लागि एक करोड ४१ लाख अमेरिकी डलर रुपैयाँ उपलब्ध गराएको छ । यो अनुदान नासाको ‘टिपिङ प्वाइन्ट’ छनौटको गरेर उपलब्ध गराइएको हो ।

जुन ३७ करोड डलरको अंशको रुपमा रहनेछ । यसको उद्देश्य स्पेसमा खोजीका लागि उन्नत अनुसन्धान र विकासलाई अगाडि बढाउनु रहेको छ ।

नासाले नोकियासँगको आफ्नो करार सम्झौताको घोषणा गर्दै यो सिस्टमले चन्द्रमाको सतहमा लामो दूरीको दूरसञ्चारलाई सपोर्ट गर्नेुका साथै स्पिड बढाउन सकिने र वर्तमान मानकको तुलनामा अधिक विश्वसनीयता प्रदान गर्न सक्ने उल्लेख गरेको छ ।

युनाइटेड प्रेस इन्टरनेसनलका अनुसार नासाका एडमिनिस्ट्रेटर जिम ब्रिडेनस्टाइनले एउटा लाइभ प्रसारणमा नासा चन्द्रमामा बस्नका लागि काम गर्न चाँडै नासाले नयाँ प्रविधिको विकास गर्नुपर्ने बताए ।

उनले अगाडि भनेका छन्, ‘हामीलाई यस्तो पावर सिस्टमको आवश्यकता छ, जो चन्द्रमाको सतहमा लामो समयसम्म रहन सकोस् ।’

नोकियाको अनुसन्धान गर्ने अंगको रुपमा रहेको बेल ल्याबले सामाजिक सञ्जाल मार्फत कम्पनी चन्द्रमामा रोभर्स तथा नेभिगेसनका लागि वायरलेस सपोर्ट प्रदान गर्नुका साथै भिडियो स्ट्रिमिङको सपोर्ट समेत दिन सक्ने नेटवर्क तयार गर्ने उद्देश्यका साथ लागिपरेको बताएको छ ।

त्यसो त नोकियाको यो प्रयास पहिलो भने होइन । कम्पनीले यसअघि चन्द्रमामा एलटी नेटवर्क प्रक्षेपण गर्ने कोसिस गरेको थियो ।

सन् २०१८ मा जर्मन स्पेस कम्पनी पीटीसाइन्टिस्ट तथा भोडाफोन यूकेसँग मिलेर कम्पनीले एपोलो १७ ल्याण्डिङ साइटमा एउटा एलटीई नेटवर्क लञ्च गर्ने योजना बनाएको थियो । तर मिसन पुरा हुन भने सकेन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१