close

नागरिक लगानी कोषको पेन्सन योजनामा अनलाइनबाटै यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

पुस २८, २०७७ २१:३९

नागरिक लगानी कोषको पेन्सन योजनामा अनलाइनबाटै यसरी हुनुहोस् सहभागी

काठमाडौं । नागरिक लगानी कोषले नागरिक पेन्सन योजनाका लागि अनलाइन रजिस्ट्रेसन सुरु गरेको छ । पेन्सन योजनामा सहभागी हुन चाहनेहरुले कोषको कार्यालयमा आउनै नपर्ने गरी यस्तो सेवा सञ्चालनमा ल्याइएको हो ।

सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको यो योजनामा सहभागी हुन इन्टरनेट सेवा पुगेका स्थानबाट इच्छुक जो कसैले आवेदन दिन सक्नेछन् ।

आय आर्जन गर्ने जोसुकै प्रचलित कानुन अनुसार स्थापना भएका संघ-संस्था एवम् प्रतिष्ठानमा कार्यरत श्रमिक/कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् ।

यसमा सहभागी हुने व्यक्तिले न्यूनतम मासिक पाँच सय रुपैयाँदेखि अधिकतम आम्दानी अनुसार १० ले भाग जाने अंकमा रकम जम्मा गर्न सक्नेछन् । बचतकर्ताको आम्दानीका आधारमा मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने कोषले जनाएको छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर ६० वर्ष पुरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात्‌समेत एकमुष्ठ रुपमा रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल सहित भुक्तानी लिन सक्नेछन् ।

कोषको अन्य योजनामा जम्मा भएको वा सहभागीको पारिश्रमिक वा स्वरोजगारीबाट आर्जित रकम एकमुष्ठ रुपमा तोकिएको न्यूनतम किस्तामा जम्मा गरेर समेत यो योजनामा सहभागी हुन सकिन्छ ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीवाट प्राप्त प्रतिफल समेत जोडेर हुन आउने कुल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम जीवनकालभर प्रत्येक महिना पेन्सनको रुपमा प्राप्त गर्न सकिने कोषले जनाएको छ । 

दर्ता कसरी गर्ने ?

नागरिक लगानी कोषको नागरिक पेन्सन योजनामा सहभागी हुन सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

अब माथि सिरानी बीच भागमा रहेको ई सर्भिस (Eservice) मा थिच्नुहोस् र त्यसभित्र रहेको न्यु ई-सर्भिस लगईन (New E-Service Login) मा जानुहोस् ।

त्यसमा दायाँतर्फ तलपट्टी रहेको रजिस्टर फर नागरिक पेन्सन योजना (Register For Nagarik Pension Yojana) मा जानुहोस् अथवा यहाँ क्लिक गर्नुहोस् ।

अब त्यसमा पासपोर्ट साइजको फोटो अपलोड गरेर रातो तारा अंकित सबै विवरण नछुटाई भर्नुहोस् र टर्म्स एण्ड कन्डिसनमा टिक लगाएर अन्तिममा रहेको सबमिट बटन थिच्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१