close

५ देखि १०० जीबीसम्म निःशुल्क क्लाउड स्टोरेज दिने १० कम्पनी

टेकपाना टेकपाना

फागुन ७, २०७७ ११:५२

५ देखि १०० जीबीसम्म निःशुल्क क्लाउड स्टोरेज दिने १० कम्पनी

काठमाडौं । विश्वमा निःशुल्क रूपमा क्लाउड स्टाेरेज प्रदान गर्ने कम्पनीहरू धेरै छन् । तर यी सबै कम्पनीको सेवा उस्तै छैनन् । उनीहरुले प्रदान गर्ने नि:शुल्क क्लाउड स्पेस र अन्य फिचरले उनीहरुको सेवालाई समेत फरक बनाएको छ । 

आज हामी तपाईंलाई धेरै स्टोरेज प्रदान गर्ने १० वटा उत्कृष्ट नि:शुल्क क्लाउड सेवा प्रदायकहरुको जानकारी दिने छौं । तर क्लाउड सेवा प्रदायकबारे थाहा पाउन तपाईंले सबैभन्दा क्लाउड स्टोरेजको आधारभूत कुरा बुझ्नुपर्ने हुन्छ । 

क्लाउड स्टोरेज के हो ?

क्लाउड स्टोरेजको अवधारणा एकदमै सजिलो छ । यो एउटा रिमोट डेटाबेस हो । सेवा प्रदायकको एउटा सर्भर भनेर तपाईंले बुझ्न सक्नुहुन्छ, जहाँ तपाईंका तस्वीर, भिडियो, डकुमेन्ट तथा अन्य फाइलहरु स्टोर भएर बस्दछ ।

ती फाइलमा एक्सेस पाउन तपाईंलाई लगइन इन्फो र इन्टरनेट कनेक्सनको आवश्यकता पर्दछ ।अब तपाईं सोच्नुहोला मेरा सबै डेटा पीसी वा आफ्नै डिभाइसमा किन स्टोर नगर्ने त ? यसका पछाडि धेरै कारण छन् ।

पहिलो भनेको त तपाईंको आफ्नै डिभाइसमा पनि स्पेस सीमित हुन्छ । यसैले तपाईंले डेटा सेभ गर्न थाल्नुभयो भने डिभाइसकै स्पेस भरिँदै जान्छ ।

अर्को कुरा भनेको डिभाइस हराएको वा चोरी भएको अवस्थामा डेटा रिकभर गर्ने कुनै सुविधा नै हुँदैन । तर यदि तपाईंको फाइल वा डेटा क्लाउडमा छ भने तपाईंले इन्टरनेट कनेक्सन गरी क्लाउड क्रेडेन्सियलमा लगइन गरेको खण्डमा जुनसुकै डिभाइसबाट आफ्नो डेटामा एक्सेस पाउन सक्नुहुन्छ ।

साथै डेटा हराएको अवस्थामा रिकभर गर्न तथा ती फाइललाई अरुसँग सजिलै शेयर समेत गर्न सक्नुहुन्छ । यसैबीच हामीले एन्ड्राेइड अथाेरिटीले प्रस्तुत गरेका १० क्लाउड सेवा प्रदायकबारे जानकारी यहाँ दिएका छाैं ।

१. डेगो- १०० जीबीसम्मको निःशुल्क क्लाउड स्टोरेज 

डेगोले तपाईंलाई १०० जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ । तर यसमा धेरै सीमितता छन् । सबैभन्दा ठूलो सीमितता भनेको यसमा तपाईंले तीनवटा डिभाइसबाट मात्र फाइल अपलोड गर्न पाउनुहुन्छ ।

तर फाइल डाउनलोड गर्न तथा हेर्न यसमा त्यस्तो कुनै लिमिटेसन छैन । यसमा फाइल साइज भने ५१२ सम्मको हुन्छ । 

Degoo free cloud storage

यसमा विज्ञापन भने प्रशस्तै आउने गर्छ । अकाउन्टलाई एक्टिभ बनाउन तपाईंले ९० दिनमा कम्तिमा एकपटक अकाउन्ट खोल्नुपर्ने हुन्छ । यो एकदमै युजरफ्रेन्ड्ली स्टोरेज हो । 

२०१२ मा स्थापना भएको स्विडेन बेस्ड यो कम्पनीको अर्को सब्सक्रिप्सन बेस सेवा पनि लिन सक्नुहुन्छ । यसका लागि भने तपाईंले २.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने हुन्छ । 

२. मेगा- ५० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज 

२०१३ मा स्थापना भएको न्युजिल्याण्ड बेस्ड कम्पनी मेगा नि:शुल्क स्टोरेज स्पेसको आधारमा दोस्रो स्थानमा आउँछ । यसले १५ देखि ५० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ । तर मेगाले यो ५० जीबीको स्टोरेज प्रयोग गरेको पहिलो ३० दिनसम्म मात्र प्रदान गर्दछ ।

Mega cloud

त्यसपछि पुन: यो स्पेस १५ जीबीमा झर्नेछ । तपाईंले डेस्क्टप एप इन्स्टल गरेर २० जीबीको अतिरिक्त र मोबाइल एपमा १५ जीबी स्टोरेज पाउन सक्नुहुन्छ ।

तर यी दुवै १८० दिनपछि एक्सप्यार हुन्छ । तपाईंको कुनै पनि साथीले यो सेवामा साइनअप गरेको खण्डमा तपाईंले पुनः १० जीबीको नि:शुल्क स्पेस पाउन सक्नुहुन्छ । 

तपाईंले अपलोड गर्ने फाइलको साइजमा मेगाले कुनै पनि किसिमको लिमिटेसन राखेको छैन । प्रत्येक ६ घण्टामा तपाईंले १ जीबीकै फाइल पनि अपलोड गर्नसक्नुहुन्छ । यसको पेड सेवा भने प्रति महिना ५.९१ डलर पर्दछ । 

३. गुगल ड्राइभ- १५ जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज

अधिकांश मानिसहरुले प्रयोग गर्ने गुगल ड्राइभले १५ जीबीभन्दा धेरै नि:शुल्क स्पेस प्रदान गर्दैन । यो प्रयोग गर्न एकदमै सजिलो छ । जुनसुकै प्लेटफर्ममा उपलब्ध हुने यसमा कुनै पनि किसिमका विज्ञापन हुँदैनन् । तर यसको १५ जीबी स्पेस भने गुगलको ड्राइभ, जिमेल र फोटो सबैमा शेयर हुन्छ । 

जिमेलसँग इन्टिग्रेट हुने यो एपले ड्राइभमा इमेल अट्याचमेन्टहरुलाई पनि सेभ हुने अनुमति दिन्छ । यसबाट तपाईंले फाइललाई सजिलै शेयर गर्न तथा डिभाइसमा ब्याकअप समेत गर्न सक्नुहुन्छ । यसमा फाइल साइज हुँदैन । २०१२ मा अमेरिकादेखि सुरु भएको ड्राइभको पेड सर्भिसका लागि भने १.९९ डलर प्रति महिना भुक्तानी गर्नपर्छ । 

४. बक्स- १० जीबी नि:शुल्क क्लाउड स्टोरेज 

बक्स एउटा लोकप्रिय क्लाउड स्टोरेज प्रदायक कम्पनी हो । यसमा तपाईंले १० जीबीसम्म नि:शुल्क स्टोरेज पाउन सक्नुहुन्छ । यसमा तपाईंले २५० एमबीभन्दा धेरै ठूला फाइल अपलोड गर्न सक्नुहुन्न । 

Box promo image

यसमा अन्य कम्पनीको भन्दा स्ट्याण्डर्ड फिचरहरु छन् । जस्तै तपाईंले फाइललाई मिलाउन विभिन्न नयाँ फोल्डर बनाउन सक्नुहुन्छ । केही क्लिकमै फाइल शेयर गर्न सक्नुहुन्छ । विभिन्न प्लेटफर्मबाट फाइल एक्सेस गर्न सक्नुहुन्छ । २००५ मा अमेरिकामा स्थापना भएको यो कम्पनीको पेड सेवा प्रति महिना ५ डलरमा उपलब्ध छ । 

५. पी क्लाउड- १० जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज 

पीक्लाउड, बक्स र ड्राइभ जतिको लोकप्रिय छैन । तर यो एकदमै राम्रो सेवा प्रदायक हो । यसमा तपाईंले १० जीबीसम्म क्लाउड स्टोरेज नि:शुल्क पाउन सक्नुहुन्छ । यसमा अपलोड गर्न कुनै पनि फाइल साइज लिमिटेसन हुँदैन । 

pCloud online storage

यसमा धेरै राम्रा फिचरहरु पनि छन् । ३० दिनभित्र पुरानो अकाउन्टलाई रिकभर तथा एक्सेस गर्न सक्ने, विभिन्न डिभाइस तथा प्लेटफर्ममा फाइल एक्सेस तथा शेयर गर्न मिल्ने यसमा सुविधा छन् । यसमा ब्युल्ट इन भिडियो र अडियो प्लेयर्स पनि छन् । तपाईंलाई अझै धेरै स्टोरेज चाहिएको छ भने तपाईं मासिक प्लान र वान टाइम लाइफटाइम  फीको स्किम पनि लिन सक्नुहुन्छ । 

२०१३ मा स्थापना भएको स्विटजरल्याण्ड आधारित यस कम्पनीको पेड सेवा भने ३.९९ डलर मासिकबाट सुरु हुन्छ । 

६. आइस ड्राइभ- १० जीबीसम्म निशूल्क क्लाउड स्टोरेज 

आइसड्राइभ बजारमा आएको नयाँ सेवा प्रदायक हो । २०१९ जनवरीमा सार्वजनिक भएको यो बेलायत आधारित कम्पनीले तपाईंलाई ३ जीबी दैनिक ब्याण्डविथ र १० जीबीको नि:शुल्क स्टोरेज प्रदान गर्दछ । यसले तपाईंको फाइल अपलोडको साइजलाई पनि सीमित बनाइदिएको छ । 

Icedrive free cloud storage

नयाँ भएको कारण यसमा त्यति धेरै फिचर त छैनन् । यद्यपि यसमा टु फ्याक्टर अथेन्टिकेसनको सुविधा छ । यसको पेड सेवाका लागि भने मासिक १.६७ डलरको स्किम छ । 

७. एमआइ मिडिया – १० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज

एमआइ मिडिया एउटा क्लाउड स्टोरेज हो, जुन इमेज भिडियो जस्ता मिडिया फाइलका लागि विशेष क्लाउड स्टोरेज हो । त्यसो त यसमा तपाईंले डक्युमेन्ट तथा अन्य फाइलहरु पनि सेभ गर्नसक्नुहुन्छ । यसको अपलोड स्पिड अन्यको भन्दा छिटो छ । यसमा १० जीबीसम्म निशूल्क स्टोरेज उपलब्ध छ । 

MiMedia free cloud storage

अपलोड गर्नका लागि यसमा ५ जीबी फाइल साइज निर्धारित छ । यसको एप कम्प्युटर, म्याक, एन्ड्रोइड र आइओएस सबैमा उपलब्ध छ । 

२०१० मा अमेरिकामा सुरु भएको यसको सेवाको पेड सर्भिस भने ७.९९ डलर प्रति महिनामा उपलब्ध छ । 

८. मिडियाफायर- १० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज 

मिडियाफायरमा तपाईले फाइललाई सजिलै स्टोर तथा शेयर गर्नसक्नुहुन्छ । यसमा तपाईंले १० जीबीसम्मको नि:शुल्क स्टोरेज पाउन सक्नुहुन्छ । यसमा अपलोड गर्ने फाइल साइज भने ४ जीबीसम्म निर्धारण गरिएको छ । 

App Bar and My Files mediafire

यसलाई तपाईंले विण्डोज, एन्ड्रोइड र आइओएस सबै प्लेटफर्ममा प्रयोग गर्नसक्नुहुन्छ । यसमा सबै किसिमका फाइल तथा डक्युमेन्ट राख्न मिल्छ । तर विज्ञापन भएको हुँदा यो अलिक झन्झटिलो छ । 

२००६ मा अमेरिकामा स्थापना भएको मिडियाफायरको पेड सेवा भने मासिक ३.७५ डलर रहेको छ । 

 ९. सिङ्कप्लिसिटी- १० जीबीसम्मको निःशुल्क क्लाउड स्टोरेज 

२००८ मा फ्रान्समा स्थापना भएको सिङ्कप्लिसिटी कम्पनीले तपाईंलाई निशूल्क १० जीबीसम्म निशूल्क क्लाउड सेवा उपलब्ध गराउँछ ।

Syncplicity

यसबाट सबै किसिमका आधारभूत फिचरहरु उपलब्ध छन् । यसमा अपलोड गर्ने फाइल साइजको भने कुनै लिमिटेसन छैन । यसको पेड सेवा भने मासिक ५ डलरको रहेको छ । 

१०.  वानड्राइभ- ५ जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज 

यो सूचीमा माइक्रोसफ्टको वान ड्राइभ पनि एउटा राम्रो निशूल्क क्लाउड सेवा हो । यसमा पाँच जीबीसम्म तपाईंले नि:शुल्क क्लाउड स्टोरेज स्पेस पाउन सक्नुहुन्छ । तर यसका लागि तपाईंसँग माइक्रोसफ्टको अकाउन्ट हुन जरुरी छ ।

Exciting New Features Coming to OneDrive | Pivotal IT

यसमा अन्य सेवामा जस्तै आधारभूत फिचरहरु छन् । यसले अतिरिक्त संवेदनशिल डक्युमेन्टलाई थप सुरक्षा प्रदान गर्न पर्सनल भल्टको व्यवस्था गरेको छ । 

२०१४ मा अमेरिकामा स्थापना भएको यस कम्पनीको पेड सेवाका लागि १.९९ डलर प्रति महिना भुक्तानी गर्न पर्दछ । 

एप्पल, ड्रपबक्स र अमेजन कता ?

क्लाउड स्टोरेज सेवा प्रदायकहरुको भिडमा केही ठूला कम्पनी पनि छन्, जस्तै एप्पल आई क्लाउड । ५ जीबी को नि:शुल्क स्टोरेज स्पेस प्रदान गर्ने आई क्लाउड एप्पल डिभाइसमा मात्र काम गर्ने हुँदा यसलाई खासै रुचाइदैँन । अझ कम्प्युटरमा हो भने त तपाईंले एक जीबीभन्दा धेरै स्पेस नै पाउन सक्नुहुँदैन । 

ड्रपबक्स पनि अर्को ठूलो नाम हो, तर यसले २ जीबी मात्र स्पेस दिने हुँदा यो सूचीमा उपयुक्त हुन सकेन । 

यस्तै अमेजन ड्राइभले पनि ५ जीबी स्टोरेज प्रदान गर्दछ । तर माइक्रोसफ्ट सोल्युसन अमेजन ड्राइभभन्दा फिचरको हिसाबले धेरै राम्रो छ । 

माथि उल्लेख भएका कम्पनीहरु विश्वका लोकप्रिय निःशुल्क क्लाउड सेवा प्रदायक कम्पनी हुन्, जसको सेवालाई अत्याधिक सिफारिस गर्ने गरिन्छ । यी बाहेक अन्य कम्पनीहरु पनि छन्, जसले यी १० कम्पनीभन्दा धेरै निःशुल्क क्लाउड स्टोरेज प्रदान गर्दछन् ।

तर ती कम्पनीहरु बजारमा नयाँ भएकाले आफ्नो विवरण राम्रोसँग नखुलाई राख्ने हुँदा स्टोरेज जस्तो संवेदनशिल कुरामा जोकसैको विश्वास गर्न सकिँदैन भन्ने हेतुले हामीले ती अन्य कम्पनीको विवरण नराखेका हाैं ।

बजार र क्लाउड व्यवसायसँग नयाँ तथा अपरिचित कम्पनीहरुले सोचेजस्तो उनीहरुको व्यवसाय अगाडि बढ्न नसकेको खण्डमा यस्ता कम्पनीहरु रातारात बन्द हुन सक्छन् । जसले तपाईंको संवेदनशिल डेटालाई गुमाउने खतरा पैदा गरिदिन सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१