close

यसरी बुझ्नुहोस् स्मार्टफोनको नयाँ भर्चुअल र्‍याम प्रविधि

टेकपाना टेकपाना

चैत १६, २०७७ ७:४६

यसरी बुझ्नुहोस् स्मार्टफोनको नयाँ भर्चुअल र्‍याम प्रविधि

काठमाडौं । भिभोले हालै विश्वबजारमा सार्वजनिक गरेको भिभो एक्स सिक्टी स्मार्टफोनमा भर्चुअल र्‍याम अवधारणाको प्रयोग गरेको छ । यससँगै फेरी एक पटक भर्चुअल र्‍यामले विश्वबजारमा चर्चा पाउन थालेको छ ।

भिभोको यो लाइनअपका सबै स्मार्टफोनमा भर्चुअल र्‍याम अवधारणा प्रयोग भएको छ, जुन पीसी (पर्सनल कम्प्युटर) बाट लिइएको हो । यसको अवधारणा एकदमै सामान्य छ ।

यदि स्मार्टफोनले माग्छ भने यसले स्टोरेजबाट अतिरिक्त स्पेस सापटीमा लिन्छ र र्‍यामका लागि छुट्याउँदछ । जसले डिभाइसको पर्फर्मेन्स राम्रो बनाइराख्न सहयोग पुर्‍याउँदछ ।

भिभोले यसलाई सुधारिएको मेमोरी व्यवस्थापन प्रविधि (इनह्यान्स मेमोरी म्यानेजमेन्ट टेक्नोलोजी) भनेको छ । सामान्य शब्दमा भन्नुपर्दा स्मार्टफोनले स्टोरेजबाट केही स्पेस माग्दछ र त्यसलाई र्‍यामको प्रयोजनमा लगाएर काम गर्दछ ।

भिभोले भनेको छ कि यसको स्मार्टफोनले विशेष किसिमको अल्गोरिदम प्रयोग गरी ३ जीबीभन्दा बढीको र्‍याम क्षमता जुटाउन सक्छ । यसको अर्थ कम्पनीको ८ जीबी र्‍याम क्षमताको फोनले वास्तवमा ११ जीबी र्‍याम तथा १२ जीबी र्‍याम क्षमताको भेरियन्टले १५ जीबी र्‍यामको अनुभव दिलाउँछ ।

ब्याकग्राउण्डमा एउटै समयमा थुप्रै एपहरु प्रयोगमा रहेको अवस्थामा यो फिचर निकै सघाउ पुर्‍याउँदछ । जसले मोबाइलमा देखिने ल्याग तथा स्लो हुने समस्यालाई समेत कम गर्दछ । ‘भिभोले स्वतन्त्र रुपमा एउटा ब्राण्ड न्यु मेमोरी म्यानेजमेन्ट प्रविधि विकास गरेको छ ।

मेमोरी डेटालाई ससानो मात्रामा विभाजन गर्नुको साटो यसले एउटा युनिटको रुपमा कम महत्वपूर्ण र प्रयोगकर्ताको अनुभवलाई प्रभाव नपार्ने अनि धेरै मेमोरी ओगटेर बस्ने प्रक्रियालाई यकिन गरी त्यसलाई स्टोरेजसँग आदान प्रदान गर्दछ ।

यसरी एउटा एपले भारी मात्रामा खपत गरेको रनिङ मेमोरीलाई उल्लेख्य रुपमा घटाउँदछ,’ भिभोले आफ्नो विज्ञप्तिमा भनेको छ । कम्पनीले कुनै निश्चित क्षमताको ओरिजिनल डीडीआर स्पेसले थप धेरै एप रन गर्ने कार्यमा सपोर्ट गर्ने दाबी गरेको छ ।

परम्परागत मेमोरी व्यवस्थापन प्रविधिको तुलनामा यो नयाँ प्रविधिले मेमोरी प्रयोगको दक्षतालाई ३७ प्रतिशतले बढाउँछ । वास्तवमा दुई वटा कारणले यो तरिका रोचक देखिन्छ ।

पहिलो कुरा त तपाईंले फोनमा ल्याग रहित अनुभव पाउन सक्नुहुन्छ भने दोस्रो यसको प्रभाव मूल्यमा पर्न जान्छ । यसले कम मूल्यमै प्रयोगकर्तालाई उच्च र्‍यामको अनुभव प्रदान गर्दछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१