close

६० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट

टेकपाना टेकपाना

जेठ १५, २०७८ ८:१८

६० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले थप १० जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा जडान गरेको छ । इलाम, झापा, मोरङ, धनकुटा सुनसरी, कास्की, तनहुँ, पर्वत, स्याङ्जा र लमजुङमा निःशुल्क इन्टरनेट सेवा जडान गरी सञ्चालनमा ल्याइएको छ ।

यसअघि नै ५० जिल्लाका स्थानीय तहले निःशुल्क पाइसकेका छन् । अब निःशुल्क इन्टरनेट सेवा जडान भएका जिल्लाको सङ्ख्या ६० पुगेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता सन्तोष पौडेलले मुलुकको हरेक स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने सरकारको नीतिअनुसार पछिलो चरणमा थप १० जिल्लामा निःशुल्क इन्टरनेट सेवा जडान कार्य सम्पन्न भई सञ्चालनमा आइसकेको जानकारी दिए ।

उनले निःशुल्क इन्टरनेट सेवा पु¥याउन बाँकी रहेका १७ जिल्लामा ५० प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै आगामी आर्थिक वर्ष २०७८/७९ भित्र जडानको सम्पूर्ण काम सम्पन्न भई सञ्चालनमा आइसक्ने बताए ।

प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रले अहिलेसम्म जडान गरिएका जिल्लाहरूका सबै पालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरूमा फाइबर पुर्‍याई निःशुल्क इन्टरनेट सेवा जडान गरिएको जानकारी दिए ।

चार महिनाअघि २०७७ माघ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार नीति, २०६० तथा डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत रही मुलुकको सबै जिल्लाका स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा पुर्‍याउने निर्णय गरेको थियो । उनले सोही निर्णयअनुसार प्राधिकरणले मुलुकको सबै स्थानीय तहमा निःशुल्क इन्टरनेट सेवा जडान कार्यलाई अगाडि बढाएको बताए ।

प्राधिकरणले प्रदेश १ मा टेकमाइन्ड्स् नेटवर्कले इन्टरनेट र गण्डकी प्रदेशमा वर्ल्ड लिङ्क कम्युनिकेसनसँग सम्झौता गरी इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको हो । प्रदेश १ मा ४६ करोड र गण्डकी प्रदेशमा १४ करोड ६० लाख रुपियाँको लागतमा इन्टरनेट सेवा सञ्चालनमा ल्याएको जनाइएको छ । -गाेरखापत्र

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३