close

टेलिकमको सेवा अवरुद्ध : नियोजित ढंगबाट संस्थालाई धराशायी बनाउने योजना

टेकपाना टेकपाना

असार ९, २०७८ १७:०

टेलिकमको सेवा अवरुद्ध : नियोजित ढंगबाट संस्थालाई धराशायी बनाउने योजना

काठमाडौं । बुधबार बिहान ५ः५५ बजेदेखि ८ः१५ सम्म करिब साढे दुई घण्टा नेपाल टेलिकमको मोबाइल सेवा देशभर अवरुद्ध भयो । यसरी सेवा अवरुद्ध हुँदा कम्पनीका ग्राहक सेवाबाट वञ्चित भए । भने, कम्पनीले करोडौं आम्दानी गुमाउनुका साथै ग्राहकप्रतिको विश्वासमा समेत नकारात्मक असर परको छ ।

दुई घण्टाभन्दा बढी समयसम्म सेवा अवरुद्ध भएपछि टेलिकमकाे कर्मचारी संगठनले यो घटना नियोजित ढंगबाट संस्थालाई धराशायी बनाउने योजना भएको आरोप लगाएकाे छ । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले आजको यस घटना तथा विगतमा बारम्बार भएका यस्तै प्रकृतिका सेवा अवरुद्ध हुने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

संगठनले बुधबार कम्पनीका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी तथा अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्याललाई ज्ञापनपत्र बुझाएकाे छ ।

‘नेपाली जनताको आस्थाको धरोहरको रुपमा रहेको दूरसञ्चार कम्पनीका सेवाहरु बारम्बार अवरुद्ध हुने यस्ता घटनाहरु नियोजित ढंगबाट संस्थालाई धराशायी बनाउने चलखेल त होइन भन्ने आशंकालाई थप मलजल गरेको छ,’ साे ज्ञापनपत्रमा भनिएको छ, ‘एकातिर कम्पनीको राजश्व दिनानुदिन घटदै जानु, अनि अर्कातिर यस्ता घटनाहरू बारम्बार दोहोरिनु सधैं संयोगमात्रै हुन सक्दैन ।’

त्यतिमात्रै नभएर कर्मचारीहरूले सेवा अवरुद्धका बारम्बारका घटनाहरु सार्वजनिक भइरहँदा समेत कम्पनी व्यवस्थापनबाट प्रदर्शित उदासिन रवैया र टालटुले जवाफमात्रै आएको आरोप लगाएका छन् ।

साथै प्राविधिक छानविनमार्फत विश्वसनीय प्राविधिक कारण नदेखाइनुले यस्ता घटनाप्रति शंकाको दृष्टिकोणले हेर्नुपर्ने अवस्था आएको समेत साे ज्ञापनपत्रमा उल्लेख छ ।

संगठनले कम्पनीप्रतिको विश्वास कायम गर्नुका साथै आगामी दिनमा यस्ता घटनाहरु नदोहोरिने अवस्था सुनिश्चित गर्न यस घटनाको उच्चस्तरीय छानविन समितिमार्फत छानविन गर्नसमेत माग गरेकाे छ ।

साथै दोषीउपर हदैसम्मको कारवाही प्रक्रिया अघि बढाउन तथा आगामी दिनमा यस्ता घटना नदोहोरिने गरी प्राविधिक व्यवस्था मिलाउन माग गरिएकाे छ ।

संगठनले डेढ वर्ष अघिमात्रै जेडटीईले झन्डै ४ अर्बको कोर नेटवर्क निमार्ण गरेको बताउँदै उक्त काम सञ्चालन हुँदाहुँदै यस्तो घटना हुनु कम्पनीको कमजोरी भएको तर्क गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६