close

फ्रिक्वेन्सी रणनीति तयार पार्दै प्राधिकरण

टेकपाना टेकपाना

असार १७, २०७८ १९:३४

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले फ्रिक्वेन्सी व्यवस्थापनका लागि राष्ट्रिय रणनीति तयार पार्ने भएको छ । दूरसञ्चार क्षेत्रका लागि छुट्याइएको फ्रिक्वेन्सीको व्यवस्थापन र थप फ्रिक्वेन्सीको सम्भावनालाई समेत अध्ययन गर्ने गरी प्राधिकरणले प्रक्रिया अघि बढाएको हो ।

यसका लागि प्राधिकरणले निर्देशक अम्बर स्थापितको संयोजकत्वमा एक उपसमिति गठन गरेकाे छ । साे समितिले १५ दिनभित्र अध्ययन प्रतिवेदन तयार पार्ने गरी काम गरिरहेको जनाइएकाे छ ।

निर्देशक स्थापितका अनुसार यो रणनीतिले फ्रिक्वेन्सीका धेरै कुरालाई समेट्ने छ । यसअन्तर्गत फ्रिक्वेन्सीको रोडम्याप कस्तो हुनेछ, भएको फ्रिक्वेन्सी व्यवस्थापन र त्यसमा कसरी पारदर्शिता कायम गर्न सकिन्छ भन्ने विषय समावेश गरी प्रतिवेदन तयार पारिने छ ।

त्यतिमात्रै नभएर कुन फ्रिक्वेन्सीमा हाल कति फ्रिक्वेन्सी उपलब्ध छ र भएका फ्रिक्वेन्सीमध्ये कुनकुन फ्रिक्वेन्सी कुन प्रविधिका लागि प्रयोगमा ल्याउन सकिन्छ भन्ने विषय पनि समेटिने उनले बताए ।

‘यसले उपलब्ध फ्रिक्वेन्सी सेवाप्रदायकलाई कति–कति दिने भन्ने विषयमा पनि निर्धारण गर्नेछ,’ उनले भने, ‘साथै हाल प्रयोगमा नल्याएका कतिपय फ्रिक्वेन्सीको सम्भावनालाई केलाएर आगामी दिनमा त्यसलाई पनि दूरसञ्चार क्षेत्रमा प्रयोगमा ल्याउन सकिने आधारहरू तयार गरिने छ ।’

प्राधिकरणले यसअघि फ्रिक्वेन्सीको रोडम्यापका लागि अध्ययन गरेकाे थियो । साे अध्ययनले एउटा खाँका तयार पारी बुझाइसकेको छ । तर, फ्रिक्वेन्सीको रोडम्यापभन्दा पनि सुरुमा रणनीतिको आवश्यकता देखिएकाले थप अध्ययन प्रक्रिया थालिएकाे उनले जनाए ।

याे उपसमितिले फ्रिक्वेन्सी रोडम्यापलाई समेत समावेश गरेर रणनीति तयार पार्नेछ र प्राधिकरणमा पेश गर्नेछ । प्राधिकरण बोर्डहुँदै याे प्रस्तावित रणनीति सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय फ्रिक्वेन्सी नीति निर्धारण समितिमा पुग्नेछ । साे समितिले पास गरेसँगै फ्रिक्वेन्सी रणनीति कार्यान्वयनमा आउने जनाइएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८१ ३:३०