close

टिकटकको स्वामित्व आफूलाई नदिए प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

टेकपाना टेकपाना

चैत २, २०८० १२:१९

टिकटकको स्वामित्व आफूलाई नदिए प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

काठमाडौं । अमेरिकी संसदको तल्लो सदनले देशव्यापी रूपमा टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउन सक्ने विधेयक पारित गरेको छ ।  गत बुधवार अमेरिकी संसदबाट टिकटकमाथि प्रतिबन्ध लगाउन सकिनेगरी विधेयक पारित भएको हो ।

उक्त विधेयकमा मुख्य कम्पनी बाइटडान्सले टिकटकको स्वामित्व अमेरिकालाई दिएमा प्रतिबन्ध नलगाउने उल्लेख छ । स्वामित्व अमेरिकालाई नदिएको खण्डमा भने टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाइने विधेयकमा उल्लेख गरिएको छ । यो विधेयक पारित गर्न रिपब्लिकन र डेमोक्र्याट पार्टी दुवैको सहमतिमा तल्लो सदनमा मतदान गरिएको थियो । मतदानमा विधेयकको पक्षमा ३५२ र विपक्षमा जम्मा ६५ मत खसेको थियो ।

अब यस विधेयकलाई अमेरिकी माथिल्लो सदनले पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरे कानूनका रूपमा लागु हुनेछ । सदनले विधेयक पारित गरेलगत्तै हस्ताक्षर गरिदिने राष्ट्रपति जो बाइडेनले यसअघि नै घोषणा गरिसकेका छन् । साथै यसअघि नै अमेरिकाले सरकारी डिभाइसहरूमा टिकटकलाई पूर्णप्रतिबन्ध लगाइसकेको छ । 

विशेषगरी चिनियाँ सरकारसामू अमेरिकी प्रयोगकर्ताको डेटा पुर्‍याउने र एल्गोरिदमले अमेरिकी जनतालाई प्रभाव पार्ने काम गरिरहेको आरोप टिकटकलाई लाग्ने गरेको छ । टिकटकले भने आफ्नो बचाउमा अमेरिकी प्रयोगकर्ताका कुनै पनि डेटा दुरुपयोग नगरेको, बरु 'प्रोजेक्ट टेक्सस' सुरु गरेको बताएको छ । यता अमेरिकाको यो कदमबारे प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेन्बिनले टिकटक बन्द गराउने पहल “अमेरिकाका लागि प्रत्युत्पादक हुने” चेतावनी दिएका छन् ।

 



 

 

पछिल्लो अध्यावधिक: चैत २, २०८० १६:४३