close

अमेजनले क्रिप्टो लक्षित रोजगार घोषणा गरेसँगै बढ्यो बिटक्वाइनको मूल्य

टेकपाना टेकपाना

साउन १२, २०७८ २०:१

अमेजनले क्रिप्टो लक्षित रोजगार घोषणा गरेसँगै बढ्यो बिटक्वाइनको मूल्य

काठमाडौं । अमेजनले डिजिटल ‘करेन्सी एण्ड ब्लकचेन प्रडक्ट लिड’ शीर्षकअन्तर्गत रोजगारीको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा बिटक्वाइनको मूल्य बढेको छ ।

यो रोजगार घोषणासँगै अमेजन क्रिप्टोकरेन्सी बजारमा प्रवेश गर्न लागेको अनुमानसहित बिटक्वाइनको मूल्य करिब ३७,३४३ अमेरेकी डलर अर्थात ४४ लाख ४२ हजार रुपैयाँकाे हारहारीमा पुगेको हो ।

यद्यपि गत अप्रिल महिनाको मूल्यको तुलनामा यो मूल्य ५७ प्रतिशतले कम हो । अप्रिल महिनामा बिटक्वाइनको मूल्य ६५,००० अमेरिकी डलर अर्थात ७७ लाख ३२ हजार रुपैयाँको हाराहारीमा थियो ।

बिटक्वाइनको मूल्य थप घट्ने आशंकामा लगानीकर्ताले आफ्नो पोजिसन मिलाउनको लागि बिटक्वाइन खरिद गरेको कारण पनि यसको मूल्य बढेको हुनसक्ने अनुमान पनि गरिएको छ । 

अमेजनले आफ्नो डिजिटल करेन्सी र ब्लकचेन विकास गर्न रणनीति तथा कार्यविधी बनाउनको लागि अनुभवी प्रडक्ट लिडरको माग गरेको छ । अमेरिकाको सियाटलमा रहेको कम्पनीले ७४ वटा विभिन्न पदको लागि कर्मचारी माग गरेको छ, जसको हरेक विवरणमा ब्लकचेन भन्ने शब्द प्रयोग गरिएको छ ।

यद्यपि सबै काम ब्लकचेन विकाससँग सम्बन्धित भने छैन, तर सबै पदको लागि ब्लकचेनको बारेमा जानकारी र अनुभव अनिवार्य गरिएको छ । 

अमेजनले भने एक विज्ञप्ति जारी गर्दै आफूले क्रिप्टोकरेन्सीबाट पेमेन्ट लिने र २०२२ सम्म आफ्नै डिजिटल करेन्सी सार्वजनिक गर्ने कुरा झुटो भएको जनाएको छ । यद्यपि अमेजनमा क्रिप्टोकरेन्सीको प्रयोग कस्तो हुनेछ भन्ने विषयमा भने छलफल भइरहेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ । 

‘नयाँ प्रविधिसँगै भविष्यमा अझ आधुनिक, छिटो र सस्तो पेमेन्टका माध्यमहरूको विकास हुनेमा हामी विश्वस्त छौं र सो माध्यमहरू हाम्रा ग्राहकहरूसम्म ल्याउनको लागि हामी सक्दो प्रयास गरिरहेका छौं,’ विज्ञप्तिमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१