close

पब्जी मोबाइलको चिटिङ गर्ने प्रविधि बनाउने ह्याकरलाई १ अर्ब १८ करोड जरिवाना

टेकपाना टेकपाना

पुस २५, २०७८ १९:८

पब्जी मोबाइलको चिटिङ गर्ने प्रविधि बनाउने ह्याकरलाई १ अर्ब १८ करोड जरिवाना

काठमाडौं । पब्जी मोबाइलको चिट बनाउने ह्याकिङ ग्रुपलाई १० मिलियन अमेरिकी डलर (एक अर्ब १८ करोड ६० लाख रुपैयाँ) जरिवाना सुनाइएको छ । जसलाई एन्टी-चिट (चिट गर्न नदिने) प्रविधि विकासमा खर्च गर्ने पब्जीले जनाएको छ ।

अमेरिका र जर्मनीको संघीय अदालतले पब्जी मोबाइल गेमको पब्लिसर टेन्सेन्ट गेम्स एन्ड क्राफ्टनको पक्षमा आदेश जारी गरेको छ । विज्ञप्तिमा उल्लेख भएअनुसार कम्पनीले गेमभित्र चिट तयार पार्ने र वितरण गर्ने ह्याकिङ ग्रुपका सदस्य विरुद्ध दायर मुद्दामा यस्तो आदेश जारी भएको हो ।

अदालती आदेशअनुसार ह्याकर ग्रुपले नोक्सानीको क्षतिपूर्ति स्वरूप पब्लिसर कम्पनीलाई १० मिलियन अमेरिकी डलर चुकाउनुपर्नेछ । सँगसँगै ग्रुपलाई कसरी उनीहरू गेमलाई प्रभावित पार्न सफल भएका थिए भन्ने विषयमा विस्तृत जानकारी समेत उपलब्ध गराउन भनिएको छ । 

कानूनी आदेशको विषयलाई लिएर टेन्सेन्ट गेम्स पब्जी मोबाइल प्रोड्युसर रिक लीले गेमको अनलाइन समुदायका लागि त्यसको महत्त्व कति छ भन्ने विषयमा बताएका छन् ।

‘विश्वभर दशौँ लाख प्लेयर पब्जी मोबाइलमा रमाउँछन् र हामी सबैका लागि समान धरातल प्रदान गर्ने सुनिश्चितता दिलाउन चाहन्छौँ । दुःखको कुरा ह्याकर ग्रुपका गतिविधिले गेमको निष्पक्षतालाई कमजोर पार्ने गरेको छ । यो आदेशले पब्जी मोबाइलमा हुने चिटिङ हाम्रा लागि असह्य छ भन्ने कुराको स्पष्ट सन्देश दिएको छ ।’

पब्जी मोबाइल प्रडक्ट डेभलपमेन्टका क्राफ्टन हेड मिनु लीले आगामी दिनमा समेत गेममाथि हुने गतिविधिहरू निरन्तर निगरानी गरिने बताए ।

‘आनन्दित हुने र निष्पक्षता प्रदान गर्नु पब्जी मोबाइलको आधारभूत पक्ष हो । त्यसैले कुनैपनि किसिमको चिटिङ सह्य छैन,’ उनले भनेका छन्, ‘त्यसै अनुरूप हामी हाम्रो आईपी अधिकारलाई हामी दुरुपयोग गर्न खोज्ने वा छल्न खोज्नेहरूका विरुद्ध उपयोग गर्नेछौँ ।’ दुवै कम्पनीले अदालती आदेशबाट प्राप्त भएको रकम एन्टी-चिटिङ प्रविधि विकासमा लगानी गर्ने बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२