close

गुगल क्रोम ब्राउजरमा बिर्सिएर पनि नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

पुस २८, २०७८ २०:३

गुगल क्रोम ब्राउजरमा बिर्सिएर पनि नगर्नुहोस् यस्ता गल्ती

काठमाडौं । वर्तमान समयमा विश्वभर सबैभन्दा बढी प्रयोग हुने वेब ब्राउजर हो गुगल क्रोम । अक्सर गुगल क्रोममा बारम्बार लग-इन गर्ने झन्झट कम गर्न जिमेल सहितका सर्भिसको लग-इन तथा पासवर्ड सेभ गर्ने गरिन्छ ।

तर यसो गर्नु खतरनाक सावित हुनसक्छ भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार गुगल क्रोम ब्राउजरमा आफ्ना संवेदनशील जानकारी सेभ गर्नु हुँदैन । किनकि यसबाट ह्याकिङ समेत हुनसक्छ । साइबर सुरक्षा सम्बन्धी विज्ञ कम्पनी एएचएन ल्याबको रिपोर्टमा उल्लेख भए अनुसार हालै मात्र ‘रेड लाइन स्टिलर’ मालवेयर पहिचान भएको छ । जसले गुगल क्रोममा सेभ गरिएका लग-इन आईडी तथा पासवर्ड चोरी गर्ने काम गर्दछ । यो मालवेयरको सहयोगमा ह्याकरहरूले तपाईंको व्यक्तिगत तथा गोप्य विवरण आफ्नो नियन्त्रणमा लिने गर्दछन् ।

साथै, यसबाट तपाईंको बैंक खाता समेत खाली हुन सक्छ । यसका साथै व्यक्तिगत जानकारी हातमा लिएर ब्ल्याकमेल गरी रकम माग गर्ने प्रवृत्ति समेत देखा पर्दै गएको छ । एएचएन ल्याबको उक्त रिपोर्टले यो मालवेयर निकै खतरनाक रहेको उल्लेख गरेको छ । सबैभन्दा चिन्ताको विषय त यो छ कि यो मालवेयरलाई कुनै पनि एन्टिभाइरसले रोक्न सक्दैन ।

यस्तोमा मालवेयर कतिसम्म खतरनाक हुनसक्छ भन्ने कुराको अनुमान लगाउन सकिन्छ । यो मालवेयरले कम्पनीको भीपीएनसम्म पुगेर लग-इन तथा पासवर्ड चोरी गर्न सक्षम रहेको बताइन्छ । यस्तोमा प्रयोगकर्तालाई गुगल क्रोममा आफ्नो लग-इन आईडी तथा पासवर्ड सेभ नगर्न सल्लाह दिइएको छ । 

यस्ता ह्याकरबाट जोगिने कसरी ? 

१. गुगल क्रोम ब्राउजरमा कुनै पनि पासवर्ड सेभ नगर्नुहोस् । 

२. समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने बानी बसाल्नुहोस् । 

३. सधैँजसो सुरक्षित तथा आधिकारिक वेबसाइटको प्रयोग गर्नुहोस् । 

४. ई-मेल, म्यासेज अथवा ह्वाट्सएपमा आउने कुनै पनि अपरिचित लिङ्कमा क्लिक नगर्नुहोस् । 

५. महत्त्वपूर्ण जानकारी, व्यक्तिगत डेटा तथा अन्य जरुरी फाइल बिना प्रोटेक्सन सेभ गरेर नराख्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२