close

३ वटा ड्रोन संयोजन गरी बनाइएको नेपालकै पहिलो ‘स्काई वाकर’ को सफल परीक्षण

मेनुक्श मेनुक्श

माघ ५, २०७८ १७:३९

३ वटा ड्रोन संयोजन गरी बनाइएको नेपालकै पहिलो ‘स्काई वाकर’ को सफल परीक्षण

काठमाडौं । नेपालमा पहिलो पटक स्काई वाकरको सफल नमुना परीक्षण गरिएको छ । नेपाली युवा वैज्ञानिक कपिल पौड्यालको टोलीले बुधवार ताप्लेजुङमा स्काई वाकरको सफल नमुना परीक्षण गरेको हो । उक्त यन्त्रले सामान ढुवानीका साथै मानिस आवतजावत गर्नसमेत मिल्ने पौड्यालकाे दावी छ ।

उनी भन्छन्, ‘सामान्य ड्रोन त जसले पनि बनाउँछ । तर तीनवटा ड्रोन संयोजन गरी स्काई वाकर बनाइएको हो ।’

उक्त डिभाइस नेपालमा मात्रै नभएर विश्वमै पहिलो अन्वेषण भएको उनको दावी छ । ‘स्काई वाकरले ५० केजीसम्मकाे तौल धान्न सक्छ,’ उनले भने ।

विद्युतबाट चल्ने स्काई वाकरको एउटा फड्को २ किलोमिटरको हुन्छ र प्रत्येक फड्कोमा एउटा स्टेशन बनाएर चलाउनुपर्ने उनको भनाइ छ ।

‘नेपालका विभिन्न विकट स्थानमा औषधि पुग्नसमेत मुश्किल छ । ग्रामीण भेगका जनताको सास्ती कम गर्न यो अन्वेषण सहयोगी हुने आशा छ,’ उनले भने ।

करिब ७५ लाखको बजेटमा सम्पन्न भएको यो योजनाले पूर्णरुप पाउन झण्डै दुई वर्ष लागेको उनले बताए । जसका लागि उनको व्यक्तिगत लगानीका साथै स्थानीय संस्था सीएमडीएस ‘CMDS’ सँग सहकार्य गरेको उनले बताए ।

परियोजनाको खोज, अनुसन्धान र सोच आफ्नो भएतापनि थुप्रै इन्जिनियर साथीको साथ र सहयाेगका कारण सफल भएको पौड्याल बताउँछन् । आगामी परियोजनाको डीपीआरको काम समेत सुरू भइसकेको उनले बताए ।

उक्त परियोजनालाई सबै निकायले साथ दिएमा कोही पनि जनता समयमा गन्तव्यमा पुग्नबाट वञ्चित नहुने उनको दावी छ । नेपालको भौगोलिक अवस्थासँग मिल्दो प्रविधि भएकाले स्थानीय सरकार र प्रदेश सरकारले समेत यसमा चासो देखाएको उनले बताए ।

यो आफैंमा ठूलो बजेट र नेपालको भूगोलका लागि आवश्यक परियोजना भएकाले सरकारी निकायकाे साथ पाउने कुरामा आशावादी रहेको उनले बताए । अहिलेको अवस्थामा भने स्काई वाकरलाई निरन्तर पावर प्लग्डइन नै हुनुपर्छ ।

आगामी दिनमा पावर स्टेशनमार्फत ड्रोनको ब्याकअप र चार्ज गर्ने एउटा रोबोटिक सफ्टवेयरमै प्रोग्राम फिक्स गरेर स्वचालित बनाउने तयारी रहेको उनले बताए । आगामी दिनमा कम्तिमा सय जना यात्रुसम्म बोक्नसक्ने स्काई वाकर निर्माण गर्ने परिकल्पना पौड्यालले गरेका छन् ।

यसअघि स्काई वाकरको पुल्चोक इन्जिनियरिङ्ग क्याम्पसमा सफल नमुना परीक्षण गरिएको थियो । उच्च पर्वतीय भू-भागका लागि भने आज ताप्लेजुङमा परीक्षण गरिएको उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२