close

फोनमा स्टोरेज फुल भएर भएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

हरिजङ्ग थापा हरिजङ्ग थापा

माघ ८, २०७८ २०:३६

फोनमा स्टोरेज फुल भएर भएर दिक्क हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । मोबाइलको स्टोरेज फुल भएर हैरान हुनुहुन्छ भने यो सामग्री तपाईंका लागि उपलब्धिमूलक हुनसक्छ । आज म मोबाइलको स्टोरेज व्यवस्थापन गर्ने उपाय सुझाउँदै छु ।

मोबाइल फोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बनिसकेको छ। नबनोस् पनि कसरी ? हिजोका दिनमा फोन र म्यासेज पठाउनका लागि मात्रै मोबाइलको प्रयोग हुन्थ्यो । आजभोलि वर्षौंदेखिका फोटो र भिडियओ यसैमा सम्झनास्वरुप संग्रह गरेर राखिन्छन् ।

दैनिक जीवनलाई सहज बनाउनेदेखि देश दुनियाँलाई जोड्ने दर्जनौं एप्लिकेशनहरु मोबाइलमै अटाएका छन्। त्यसैले १६ वा ३२ जीबी इन्टर्नल मेमोरी भएका फोन पनि एकदमै छिटो भरिन्छन् ।

यसो सोच्दा पहिला ४ वा ८ जीबीमा पनि कति धेरै फोटो, भिडिओ र एप्लिकेशनहरु अट्थ्यो भन्ने पनि लाग्न सक्छ । तर विगतको र अहिलेको फोटो वा भिडिओ क्वालिटीमा धेरै नै फरक छ ।

एप्लिकेशनहरु पनि उत्तिकै अपडेटेड र परिमार्जित भइरहेका छन् । फलस्वरुप यिनीहरुले स्टोरेज पनि बढी ओगट्छन् र धेरै स्पेस भएको हाम्रो फोन पनि चाँडै भरिन्छन् ।

फोनको स्पेस भरिने बित्तिकै मोबाइल स्लो हुने र ह्याङ हुने समस्या धेरै नै देखिन्छ । जसले तपाईं हामीलाई साह्रै नै दिक्क बनाउँछ । त्यसैले विभिन्न क्लिनिङ एपहरु प्रयोग गर्नु हाम्रो बाध्यता बनेको छ ।

मेरो विचारमा यस्ता क्लिनिङ एपले क्षणिक समयका लागि जंक, डुप्लिकेट वा क्यास फाइल डिलिट गरेर थोरै स्पेस त खाली गरिदिन्छ । तर केही दिन वा हप्तामा फेरि उही समस्या दोहोरिन्छ ।

यो भनेको एन्टिबायोटिक जस्तो मात्रै हो । तैपनि मेरो अनुभवमा यो कामका लागि गुगलकै फाइल्स एप अलि बढी प्रभावकारी छ ।

पहिलो कुरा फाइल्स एपले क्लिनिङका लागि विभिन्न सुझाव दिन्छ । यसले फोनमा स्पेस ओगटेर बसेका अनावश्यक फोटो, भिडिओ र एपहरु सजिलै हटाउन सकियो ।

भिडिओ, फोटो र एपले कति स्पेस ओगटेको छ, सजिलै थाहा पाएर व्यवस्थापन गर्न सकिन्छ । सँगै मोबाइलमा धेरै स्टोरेज ओगटेका फाइलहरु डेटा बिना नै अर्को फोनमा ट्रान्सफर गर्न सकिने सुविधा पनि यही एपमा छ । एपको क्यास फाइल डिलिट गर्न पनि यही एपबाट सकिन्छ ।

यस्तो काम हप्ता वा महिना दिनमा एकपटक गर्न त ठीकै हो, तर दिनदिनै गर्न भने झन्झटिलो हुन सक्छ । त्यसैले वाईफाईको पहुँचमा हुनुहुन्छ भने क्लाउड स्टोरेजको उपयोग गर्नु सबै्भन्दा राम्रो विकल्प हो। धेरै स्पेस खाने फोटो र भिडिओ डिलिट गर्न पनि माया लाग्छ, त्यसैले सम्झनाका लागि संगालेर राख्न क्लाउड स्पेस नै जाती हुन्छ ।

धेरै स्पेस ओगट्ने फोटो भिडिओलाई हामीले गुगल ड्राइभ वा त्योजस्तै अन्य निःशुल्क क्लाउड स्टोरेजहरुमा स्टोर गर्न सक्छौं । गुगल ड्राइभ वा फोटोज त अधिकांशलाई थाहा छ, तर १५ जीबीमा मात्रै सीमित भएकाले यसको विकल्प अरु के होला भन्ने लागेको छ भने म त्यो पनि बताइहाल्छु ।

Degoo नामको क्लाउड स्टोरेजमा हामीले १०० जीबीसम्म डेटा सित्तैमा स्टोर गर्न सक्छौं । आफ्नै जीमेल आईडीबाट यसमा सजिलै अकाउन्ट बनाउन सकिन्छ । जहाँ हामीले मोबाइलमा जस्तै फोटो भिडिओ र अडियो ग्यालरी बनाएर स्टोर गर्न सक्छौं ।

क्लाउड स्टोरेजका लागि Mega अर्को विकल्प हो । जसमा हामीले खाता खोल्ने बित्तिकै २० जीबी फ्रि स्पेस पाउँछौं ।

त्यस्तै Box, pCloud, Icedrive, Mediafire, Mimedia लगायतका क्लाउड स्टोरेजमा चाहिँ १० जीबी डेटा स्टोर गर्न सक्छौं । यसरी स्टोर गरेर राखेका फोटो वा भिडिओ हामीले इन्टरनेट भएपछि जुनसुकै बेला हेर्न वा डाउलोड गर्न मिल्छ ।

त्यसैले ठूला फाइलहरुलाई क्लाउड स्टोरेजमा अपलोड गरेर मोबाइलबाट हटाउन सकिन्छ । जसले फोटो र भिडिओहरु सुरक्षित रुपमा स्टोर गरी मोबाइल फोनको स्पेस खाली गर्न सहयोग पुर्‍याउन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२