close

क्यूआर भुक्तानीमा क्रान्ती ल्याउँदै फोनपे

टेकपाना टेकपाना

फागुन २७, २०७८ ११:१३

क्यूआर भुक्तानीमा क्रान्ती ल्याउँदै फोनपे

काठमाडौं । अहिले क्यासलेश अर्थात् नगदरहित भुक्तानी लोकप्रिय बनिरहेको छ । कोभिड १९ महामारी सुरु भएपछि आर्थिक क्रियाकलापको स्वरुपमा निकै बदलाव आएको छ । भुक्तानीका लागि नयाँ नयाँ प्रविधिको अभ्यास बढेको छ । यसैमध्येको एक प्रविधि हो, क्यूआर ।

दुई वर्षदेखिे फोनपे नेटवर्कले नेपालमा आक्रमक हिसाबले क्यूआर भुक्तानी सेवा विस्तार गरिरहेकोे छ । विभिन्न बैंक, वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकसँग सहकार्य गरी फोनपेले छोटो अवधिमै क्यूआर भुक्तानी सेवालाई देशभर पुर्‍याउन थालेको छ ।

बिहीवारमात्रै कम्पनीले भिसा नेटवर्कसँग समेत सहकार्य गरेको छ । योसँगै विदेशी पर्यटक नेपाल आउँदा फोनपेको क्यूआरमार्फत भुक्तानी गर्न सक्नेभएका छन् ।

हाल साना व्यवसायदेखि ठूलाठुला मल, होटेल, अस्पताल, एयरलाइन्स, रेस्टुरेन्टहरूमा भुक्तानीका लागि फोन पेको क्युआर कोड नै प्रयोग भइरहेको छ । त्यतिमात्रै नभई ट्राफिक जरिवाना तिर्न क्यूआर कोडको प्रयोग हुन थालेको छ । मन्दिरमा भेटी चढाउन क्यूआर प्रयोग भइरहेको छ ।

यसरी पैसाको कारोबार निकै छिटो, छरितो हुन थालेको छ । साथमा नगद नबोकी निर्धक्क बाहिर निस्कन सक्छौं । अनि धेरै पैसा बोकेर कतै हिँड्दा हराउँला कि भन्ने चिन्ता टरेको छ ।

फोनपेका विभिन्न सेवामध्ये क्यूआर भुक्तानी सेवाले सेवाग्राहीलाई सजिलो बनाएको छ । हाल फोन पेको क्यूआरमार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोडभन्दा माथिको कारोबार हुँदै आएको छ ।

यस्तै फाेनपेका अन्य सेवाहरू अन्तरबैंक रकम ट्रान्स्फर, फोन पे डाइरेक्ट लगायत गरी दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ ।

पसल व्यवसायहरूमा अनलाइन भुक्तानीका लागि डिजिटल वालेट कम्पनी र बैंक तथा वित्तीय संस्थाहरूले क्यूआर कोडको विस्तारलाई आक्रामक बनाएका छन् । जसले गर्दा क्यूआर कोडको प्रयोग उल्लेखनीय रुपमा बढ्दै गएको हो ।

क्यूआर कोडले कसरी काम गर्छ ?

क्यूआर कोड अनौठो प्याटर्न जस्तो देखिन्छ । वास्तवमा क्यूआरको अङ्ग्रेजी पूरा पुरा रुप क्विक रेस्पोन्स अर्थात तत्कालै प्रतिक्रिया जनाउने भन्ने हुन्छ । यस किसिमको कोड तुरुन्तै पढ्न सकिने गरी बनाइएको हुन्छ ।

कुनै विशेष किसिमको जानकारीलाई सांकेतिक शब्दमा परिवर्तन गर्नका लागि  यसको उपयोग गर्ने गरिन्छ । क्यूआर कोड वास्तवमा बारकोडकै उन्नत स्तरको संस्करण हो । तर यसमा बारकोडको तुलनामा कयौँ धेरै सूचना राख्न सकिने क्षमता हुन्छ ।

बारकोडको तुलनामा यसले निकै विस्तारित किसिमले तथा तीव्र रुपमा काम गर्न सक्छ । क्यूआर कोड सन् १९९४ मा कार निर्माता कम्पनी टोयोटा ग्रुपका एक जापानी सहायक डेन्सो वेभले विकास गरेका हुन् ।

पहिलो पटक अटोमोबाइल, फर्मास्युटिकल र रिटेल इन्डस्ट्रिमा इन्भेन्टरीलाई ट्र्याक गर्नका लागि यसको प्रयोग गरिएको थियो । त्यतिखेर निकै धेरै कामका लागि यसको उपयोग गरिन्थ्यो । क्यूआर कोड उपयोग गरेर तपाईं पेजहरू शेयर गर्न पनि सक्नुहुन्छ ।

क्रोम ब्राउजरबाट कुनै वेब पेजलाई अरुसँग शेयर गर्नका लागि तपाईंले क्यूआर कोड बनाउन सक्नुहुन्छ । यसका लागि सबैभन्दा पहिला आफ्नो कम्प्युटरमा क्रोम ब्राउजर खोल्नुहोस् । त्यसपछि उक्त पेजमा जानुहोस्, जसलाई तपाईं शेयर गर्न चाहनुहुन्छ ।

त्यसपछि माथि एड्रेसबारमा क्लिक गर्नुहोस् अनि दायाँतर्फ रहेको क्यूआर कोड आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले क्यूआरकोडको लिङ्क कपी गर्न सक्नुहुन्छ । साथै कुनै अर्को डिभाइसको क्यामेराबाट स्क्यान गर्न अथवा वेब पेजको क्यूआर कोडलाई फोटोको रुपमा सेभ गर्न पनि सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२