close

तपाईंले खेल्ने अनलाइन गेममा यस्तो आउँदै छ परिवर्तन

गणेश सुवेदी गणेश सुवेदी

फागुन २७, २०७८ १६:५३

तपाईंले खेल्ने अनलाइन गेममा यस्तो आउँदै छ परिवर्तन

काठमाडौं । कुनै समय गेम भन्नेबित्तिकै कुद्नुपर्ने खेल्न भन्ने बुझिन्थ्यो । समय परिवर्तन हुँदै गयो । कम्प्युटर बने । त्यसपछि कम्प्युटरका गेम बने । कम्प्युटर हुँदै कन्सोल र मोबाइलमा पनि गेम आउन थाले ।

यस्ता गेममा पछिल्लो केही वर्ष ह्वात्तै क्रेज बढेको छ । विशेषगरी मानिसले लकडाउनमा समय कटाउने माध्यम भिडिओ गेमलाई बनाए । फलतः यो अवधिमा भिडिओ गेमिङ इन्डस्ट्रीले राम्रै उपलब्धि हासिल गर्‍यो ।

याे इन्डस्ट्रीले २०२० मा करिब १७८ अर्ब डलर कमायो । २०२१ मा करिब १७६ अर्ब कमायो । दिनदिनै नयाँ प्रविधिको विकास हुँदा गेमिङ इन्डस्ट्रीले निकै फाइदा लिनसक्छ ।

अहिले उपलब्ध भएका चिजहरुलाई हेरेर पनि हामी गेमिङको भविष्य नियाल्न सक्छौं । त्यस्तै कुरालाई ध्यानमा राखेर आज हामी तपाईंलाई भविष्यको गेमिङ दुनियाँमा लाँदै छौं ।

१. भर्चुअल रियालिटी

भर्चुअल रियालिटी (भीआर) भनेको वास्तविक जस्तै देखिने कम्प्युटरबाट बनाइएको दुनियाँ हो । यसमा थ्रीडी वातावरण हुन्छ, जुन दुनियाँको मज्जा तपाईंले एउटा हेडसेट लगाएर लिनसक्नु हुन्छ ।

यसमा तपाईंलाई विभिन्न सेन्सर तथा उपकरणको प्रयोग गरेर वास्तविकताको जस्तै अनुभव दिइन्छ । भविष्यको गेमिङ भीआरमा हुनेछ । पब्जी, फ्री फायर जस्ता अन्य गेमहरु तपाईंले भीआरभित्र अनुभव गर्न पाउनुहुनेछ ।

भीआरभित्रको सुविधालाई प्रयोग गरेर तपाईं बक्सिङ कार रेस जस्ता अन्य गेम पनि खेल्नसक्नु हुनेछ । अहिले पनि यो टेक्नोलोजी केही प्रयोग भइरहेकाले भविष्यमा झनै धेरै प्रयोग हुने निश्चित छ ।

२. अगमेन्टेड रियालिटी

भविष्यमा अगमेन्टेड रियालिटीको पनि धेरै प्रयोग नै हुने निश्चित छ । अगमेन्टेड रियालिटी भनेको कुनै पनि वास्तविक दुनियाँमा कम्प्युटरबाट बनाइएको कुनै चिज तथा अवास्तविक वस्तुलाई राख्नु हो ।

अहिले यो पोकेमन गो जस्ता गेममा प्रयोग गरिएको छ । भविष्यमा हामीले यस्ता टन्नै गेम हाम्रो दुनियाँमा कम्प्युटराइज्ड चिजसँग खेल्न पाउने छौं । एआर र भीआरबारे थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

३. आर्टिफिसियल इन्टेलिजेन्स

आर्टिफिसियल इन्टेलिजेन्स अहिले पनि धेरै गेममा प्रयोग भएका छन् । यसको सरल उदाहरणका लागि हामी चेस, लुडोलाई लिन सक्छौँ । कम्प्युटरमा चेस खेल्दा कति पटक त हामी हारेका पनि छौँ होला ।

यसरी कम्प्युटरसँग हार्नुको पछाडि हामी यसमा प्रयोग भएको एआईको हात छ । यो त उदाहरण मात्र भयो । अहिलेका अधिकांश गेममा पनि एआईको प्रयोग भएको छ ।

भविष्यमा यस्ता कयौं गेम बन्ने भएकाले गेम खेल्नेलाई अझै धेरै चुनौती हुने निश्चित छ ।

४. क्लाउड गेमिङ

भविष्यमा गेम खेल्न तपाईंलाई कुनै राम्रो डिभाइस तथा मोबाइल चाहिँदैन । सिधै तपाईंले सर्भरबाट गेम खेल्न सक्नुहुनेछ । न राम्रो प्रोसेसर भएको डिभाइस चाहिने, न त मोबाइलमा मेमोरीको नै झन्झट हुने ।

त्यसैले क्लाउड गेमिङ भविष्यमा झनै लोकप्रिय हुने देखिन्छ । यसको अर्को फाइदा भनेको क्लाउड गेमिङमा तपाईंले कम्प्युटरको गेम पनि आफ्नो पुरानो मोबाइलमा खेल्न सक्नुहुनेछ ।

यसको एउटा बेफाइदा भनेको यसलाई धेरै स्पिड भएको इन्टरनेट आवश्यक पर्छ । तर पनि संसारभर विस्तार भइरहेको फाइभजीले यसको बाटो सहज बनाउने अनुमान गरिएकाे छ छ ।

क्लाउड गेमिङको सोच धेरै पहिले आएको थियो । तर यसलाई स्लो इन्टरनेटका कारण प्रयोगमा भने ल्याउन सकिएको थिएन ।

५. मेटाभर्स

मेटाभर्स भनेको इन्टरनेटको अर्को दुनियाँ हो, जहाँ तपाईंले आफ्नो अवास्तविक संसार बनाउन सक्नुहुनेछ । मेटाभर्समा तपाईंले आफ्नो अवतार बनाएर भर्चुअल रूपमा अरुलाई भेट्न, घर बनाउन सबै गर्न सक्नुहुनेछ ।

वास्तविक दुनियाँमा पुरा हुन नसकेका आफ्ना सपनालाई त्यहाँ पुरा गर्न सक्नुहुनेछ ।

अब कुरा गरौं, मेटाभर्समा गेम कसरी खेल्न सकिन्छ त ? मेटाभर्समा वास्तविक संसारको जस्तै गरी गेम खेल्न सक्नुहुनेछ । टेवल टेनिस, चेस, ब्याडमिन्टन जस्ता गेमका साथै क्रिकेट फुटबल र बक्सिङ जस्ता गेमको आनन्द पनि यहीँबाट उठाउन सक्नुहुनेछ ।

यसमा पनि भीआर टेक्नोलोजीसँग सँगै वास्तविक जस्तै अनुभव दिन केही सेन्सरको पनि प्रयोग गरिएको हुन्छ । मेटाभर्सका बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२