२०७९, ३१ श्रावण मंगलबार   |  
Tuesday 16th August 2022

यसरी सजिलै बुझ्नुहोस् एआर र भीआर प्रविधि

differences between AR and VR

काठमाडौं । प्रविधि विश्वमा नयाँ नयाँ आयाम देखापर्ने क्रम जारी छ । प्रविधि विकाससँगै निश्चित समयमा आम जनजीवनको हिस्साको रुपमा उपयोग हुने कुरा पनि स्वभाविक बनिसक्यो ।

तपाईं हाम्रो पहुँचमा आइसकेका प्रविधिमा समेत थप उन्नती हुनेक्रम चलिरहेकै हुन्छ । यही क्रममा रहेका दुई प्रविधि हुन् भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी ।

आम सर्वसाधारणको पहुँचमा अझै नपुगिसकेका यी प्रविधिको बारेमा धेरैमा उत्सुकता हुनु स्वभाविक नै हो । आज हामी तपाईंलाई यी कस्ता प्रविधि हुन् र भिन्नता के छ भन्ने बारमाे बताउँदै छौं ।

भर्चुअल रियालिटी

सबैभन्दा पहिले तपाईंले भर्चुअल रियालिटी अर्थात् भीआरको बारेमा बुझ्नुपर्ने हुन्छ । भर्चुअल रियालिटी शब्दबाट नै स्पष्ट ।

भर्चुअल रियालिटी अर्थात जुन वास्तविक जस्तो देखिन्छ तर वास्तविक होइन । भीआरको अवधारणामा तपाईंले एउटा विशेष किसिमको हेडसेट लगाएर एउटा छुट्टै संसारमा पुगेको अनुभूत गर्न सक्नुहुन्छ ।

वास्तवमा तपाईं आफू उभिएकै संसारमा हुनुहुन्छ । तर तपाईंलाई छुट्टै संसारमा पुगेको आभाष हुन्छ । तपाईं जमिनमा उभिरहँदा तपाईको आखाँमा लगाइएको ग्लास, तपाईले हेर्दै गरेको भिडियो कन्टेन्ट र समग्र सफ्टवेयरले तपाईंलाई छुट्टै संसारमा पुर्‍याएको प्रतित हुन्छ । 

भर्चुअल रियालिटीको सबैभन्दा सामान्य उदाहरण भनेको गुगल कार्टबोर्ड नै हो । यसको हाई ईण्ड उदाहरण भनेको अकुलस रिफ्ट हो । त्यस बाहेक सामसङको गियर भीआर, सोनीको प्रोजेक्ट मोर्फस, एचटीसीको भाइभ आदी हुन् । 

यी ग्लास तपाईंले लगाइसकेपछि आफू बसिरहेको संसारसँग कनेक्सन तोडिएको आफू भिन्दै संसारमा पुगेको भान पर्छ । भीआर हेडसेट लगाएर तपाईंले ३६० डिग्रीको भिडियो टाउको घुमाएर हेर्न सक्नुहुन्छ ।

भीआरमा प्रयोग गरिने भिडियोहरुलाई ३६० डिग्रीबाट रेकर्ड गरिने हुँदा जता फर्किए पनि तपाईले त्यहीँ नयाँ दुनियाँभित्रका आयामहरु देख्नुहुन्छ, जुन वास्तविक जस्तै लाग्छन् ।

भीआर एकदमै सस्तो प्रविधि हो । यसको लागि तपाईंलाई एउटा लेन्सवाला हेडसेट मात्र आवश्यक पर्दछ । अरु सबै काम तपाईंको फोनले गर्दछ । फोनले स्क्रिनलाई दुई भागमा बाँडेर त्यसमा भएको एपबाट थ्रीडी अनुभव प्रदान गराउँछ । 

यद्यपी भीआर प्रविधि प्रयोग गर्न तपाईंको फोनमा जाइरोस्कोप भने हुनुपर्दछ । यदि जाइरोस्कोप छैन भने तपाईंले भीआर हेडसेट लगाए पनि फिल्म हलमा गएर ठूलो स्क्रिन हेरेको जस्तो मात्र अनुभूति गर्नुहुन्छ ।  

जाइरोस्कोप एउटा हार्डवेयर हो । यसले फोनको सफ्टवेयरलाई प्रयोगकर्ताले आफ्नो टाउको कुन एंगलमा कति डिग्रीमा राखेको छ भनेर जानकारी दिन्छ र त्यसै अनुसार कन्टेन्ट तयार हुँदै जान्छ । यसकारण जाइरोस्कप तपाईंको फोनमा हुन जरुरी हुन्छ । 

अग्मेन्टेड रियालिटी

अग्मेन्टेड रियालिटी (एआर) भर्चुअल रियालिटीभन्दा एक कदम अगाडि पुगेको प्रविधि हो । यो भीआरभन्दा धेरै आधुनिक, महंगो र रोचक छ । 

अग्मेन्टेड रियालिटीमा तपाईंले  पुरै हेडसेट लगाउनु पर्दैन । उदाहरणका लागि गुगल ग्लास । गुगल ग्लास एकदमै साधारण प्रविधि हो । 

यसको कुनामा एउटा सानो डिस्प्ले हुन्छ । तपाईं यदि कुनै ठाउँमा काम गर्दै हुनुहुन्छ भने तपाईको दुनियाँ त्यहीँ वास्तविक दुनियाँ हुन्छ । केही कुरा परिवर्तन भएको हुँदैन । 

तर एआरमा तपाईंको ग्लासको कुनामा एउटा डिस्प्ले देखिन्छ । यसले तपाईंलाई बारम्बार केही नोटिफिकेसन दिइरहन्छ ।

उदाहरणका लागि यदि तपाईं कुनै सडकमा बाइक चलाइरहनु भएको छ भने तपाईंले सडक र अरु सबै कुरा वरिपरी देख्नुहुन्छ । तर रोडसँगै कुनामा एउटा डिस्प्ले पनि देख्न सक्नु हुन्छ । 

वास्तवमा अग्मेन्टेड रियालिटीले भीआरले जसरी तपाईलाई त्यही ठाउँमा केही नयाँ कुरा सृजना गरेर देखाइदिन्छ । यसको सबैभन्दा राम्रो उदाहरण भनेको माइक्रोसफ्टको होलोलेन्स हो ।

यदि तपाई गेम खेलिरहनु भएको छ भने तपाईलाई एउटा प्रतिद्वन्द्धिको आवश्यकता पर्दछ । तपाईं जब त्यो होलोलेन्स लगाउनुहुन्छ, त्यसमा रहेको स्क्रिनभित्र तपाईं बसेकै सबै वातावरण देखिन्छ ।

साथसाथै तपाईंलाई चाहिएको प्रतिद्वन्द्धि पनि त्यसमा आफै सिर्जना हुन्छ । अग्मेन्टेड रियालिटीले तपाईंको वास्तविक वातावरणको दृश्यमा एउटा किसिमको हस्तक्षेप गरेर तपाईंले चाहेको पात्र खडा गरिदिन सक्छ ।

यसकारणले भीआरभन्दा यसलाई राम्रो र अत्याधुनिक प्रविधि बनाएको हो । गुगल ग्लास, माइक्रोसफ्टको होलोलेन्स, सोनीको म्याजिक लेन्स यी एकदमै महंगा एआर ग्लास हुन् । 

एआर भीआरभन्दा महंगो र अत्याधुनिक छ भन्दैमा भीआर खराब भन्न चाहिँ मिल्दैन । यी दुवैको आआफ्नै गुण र विशेषताहरु छन् । 

नेपालमा पनि अपार नामको एउटा स्टार्टअप कम्पनी छ । यो कम्पनीले एआर र भीआरमा काम गरिरहेको छ । एआरका सीईओ धिरेन कार्कीले शिक्षामा एआर प्रविधिको प्रयोग गर्न सकिने सिस्टममा काम गर्दै आइरहेका छन् । 

पुस्तकमा बाघ देखेका विद्यार्थीहरुलाई त्यसको बारेमा राम्रो थाहा हुन्न । तर अपारको एपमा मोबाइल स्क्रिनमै एउटा भर्चुअल बाघ प्रकट हुन्छ ।

त्यस बाघलाई विद्यार्थीले हरेक कोणबाट हेर्नसक्छन् । त्यो बाघ तपाईंको पुस्तकमा राखिएको प्रिन्ट जस्तो हुन्न । यसमा देखा परेको बाघ हिँडडुल गर्ने किसिमको हुन्छ । तपाईंको विद्यमान स्थानमै त्यो बाघ आएर हिँडडुल गर्न थाल्छ ।

भर्चुअल रियालिटी थ्रीडी म्याप, थ्रीडी टूल तथा थ्रीडी फिल्मका लागि प्रयोग हुन्छ । तर अग्मेन्टेड रियालिटी चाहिँ खास गरेर गेमिङ,अन्तरक्रियात्मक सामग्री तथा आफू बसिरहेको ठाउँमा केही कुरा उत्पन्न गराएर हेर्नमा प्रयोग गरिन्छ ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team