close

विद्यार्थीलाई अनलाइनबाटै कोडिङ सिकाउँदै ‘मेरो कोडिङ क्लास’

हिक्मत आचार्य हिक्मत आचार्य

चैत ७, २०७८ १२:३०

विद्यार्थीलाई अनलाइनबाटै कोडिङ सिकाउँदै ‘मेरो कोडिङ क्लास’

काठमाडौं । यो प्रविधिको युग हो । प्रविधिलाई समयमै प्राथमिकता दिने देशहरू आज धनी र शक्तिशाली बनेका छन् । अनि प्राथमिकता नदिने देश पछि परेका छन् ।

भनिन्छ नि बालबालिका भविष्यका कर्णधार हुन्, आज उनीहरूले कस्तो ज्ञान पाएका छन्, भोलि देशको भविष्य त्यस्तै हुन्छ । यही कुरालाई आत्मसात् गर्दै करिब तीन वर्षअघि वसन्त पन्त र उनका केही युवा साथीले बालबालिकालाई प्रविधिसँग जोड्ने नौलो अभियान सुरु गर्ने योजना बनाए ।

कोभिडको महामारीले गर्दा मानिस प्रविधिसँग नजिक त भए, तर वसन्त लगायत उनका साथीले सुरु गर्न आँटेको योजना पूर्वाधार अभावका कारण ठप्प रह्यो ।

कोभिड महामारी नियन्त्रणमा आइसकेपछि उनीहरूले आफ्नो योजनाको पहिलो पाइला अघि सारे । २०२१ को अप्रिलमा उनीहरूले मेरो कोडिङ क्लास नामको साइट लन्च गरे ।

‘साना बालबालिकालाई प्रविधिसँग जोड्ने उद्देश्य पहिलेदेखि नै थियो,’ उनले भने, ‘कोभिड महामारीले सबैलाई प्रविधिसँग चिनाएको भए पनि हामीले सुरुवातमा धेरै कुराको अभाव झेल्याैं ।’

मेरो कोडिङ क्लासको उद्देश्य बालबालिकालाई आज अपरिहार्य मानिएको कोडिङसँग परिचित गराउनु हो । हरेक कुरा डिजिटलाइज भइरहँदा त्यसले कसरी काम गर्छ भन्ने जान्नु उत्तिकै आवश्यक हुन्छ ।

नेपालमा केही अभिभावक आफै कोडिङमा निपुण भएर वा त्यसको महत्व बुझेर आफ्ना बालबालिकालाई कोडिङतर्फ आकर्षित गराएको देखिन्छ भने अधिकांशलाई यसको महत्वबारे जानकारी नहुँदा बालकालिका भोलिको अपरिहार्य तत्व कोडिङबारे जान्न वन्चित भएको पन्तको बुझाइ छ ।

टेकपानासँग कुरा गर्दै उनले भने, ‘विदेशमा बालबालिकाको विकासका लागि भइरहेको यो अवधारणा नेपालमा पनि गरौँ भन्ने चाहना भयो । त्यसैलाई अघि बढाउन हामीले मेरो कोडिङ क्लास सुरु गरेका हौं ।’

मेरो कोडिङ क्लास नेपालमा नयाँ अवधारणा रहे पनि बाहिरी देशमा निकै परिचित छ । केही देशका बालबालिकाले आफ्नो पाठ्यक्रममा नै यसलाई पढ्नपर्ने हुन्छ । नेपालको हकमा भने विद्यालय स्तरमा कम्प्युटर विषय समावेश भए पनि कोडिङबारे सामान्य जानकारी मात्र दिने गरेको पाइन्छ ।

त्यही कुरालाई मध्यनजर गर्दै कमर्श ब्याकग्राउन्डका वसन्त पन्त र उनका साथीले प्रविधि क्षेत्रमा नेपालका बालबालिकालाई जोड्न मेरो कोडिङ क्लास सुरु गरेका थिए ।

नेपालमा सबैभन्दा नौलो प्रयास भएकाले सुरु गर्न गाह्रो नै थियो । उनीहरूसँग पाठ्यक्रममा कस्तो कुरा समावेश गर्दा बाल मनस्थितिलाई राम्रो प्रभाव पर्छ भन्ने कुरा जानकारी भए पनि पाठ्यक्रममा स्रोत उपलब्ध थिएनन् ।

पाठ्यक्रममा लागि उनीहरूले अमेरिकाको एक संस्थासँग सहकार्य सुरु गरे ।

मेरो कोडिङ क्लास अनलाइनमार्फत बालबालिकालाई कोडिङबारे ज्ञान र सीप उपलब्ध गराउने प्लेटफर्म हो । यसमा बालबालिका र विज्ञहरू जुममार्फत जोडिन्छन् । यस्तो अनलाइन क्लास त बालबालिकाले पढिरहेका हुन् । केही नयाँ भए राम्रो भन्ने चाहना धेरैको हुनसक्छ । यो हामीले देखिरहेको शैक्षिक शिक्षाभन्दा नयाँ छ ।

यसलाई सिकाइभन्दा पनि प्रयोगात्मक वा भनौँ व्यावहारिक सिकाइका रूपमा हेर्नु उपयुक्त हुन्छ । यो यस्तो सिकाइ हो, जसलाई बालबालिकाले यो पढाइ हो भन्ने बिर्सिएर एउटा कुनै अनलाइन गेम भन्ने बुझ्छन् । जसले गर्दा त्यस क्षेत्रमा उनीहरूको लगाव धेरै नै हुन्छ ।

विशेषगरी बालबालिकामा मात्र केन्द्रित भएको मेरो कोडिङ क्लासले बालबालिकालाई कोडिङमार्फत अगाडि ल्याउन सहयोग गर्छ ।

‘पाँचदेखि १८ वर्ष उमेर समूहलाई लक्षित गरेर हामीले सुरु गरेका छौं’ उनले भने, ‘विशेषगरी बालबालिकामा केन्द्रित रहने भएकाले भविष्यमा पनि हामी बालबालिकामा नै केन्द्रित रहने छौं ।’

मेरो कोडिङ क्लासमा विभिन्न उमेर समूहका बालबालिकालाई उमेर अनुसारको कोर्षको व्यवस्था गरिएको हुन्छ । यसमा ५-७ वर्षका बालबालिकालाई लिटिल कोडर्स वा कोडिङका लागि आवश्यक सूक्ष्म कुराको ज्ञान दिइने र बाँकी उमेर समूहका बालबालिकालाई पाइथनबारे जानकारी दिने पन्तले बताए ।

८-११ वर्षका बालबालिकालाई लेभल १,२ र ३, १२-१४ वर्षका बालबालिकका लागि लेभल एम, जसमा लेभल ४, ५ र ६ सिकाइन्छ  । त्यस्तै १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लेभल एच वान र एच टु जसमा लेभल ७, ८, ९ र १० समावेश छन् ।

‘उमेर अनुसार बालबालिकालाई कस्तो पाठ्यक्रम उपयुक्त हुन्छ भन्ने विषयलाई केन्द्रित गरेर पाठ्यक्रम तयार पारेका छौं ।’ उनले भने, ‘सबैभन्दा पहिले आधारभूत कोर्ष अध्ययन गराइन्छ । त्यसपछि बालकालिका कोडिङतर्फ धेरै आकर्षित भए भने उनीहरूका लागि अरू कोर्षको व्यवस्था गरेका छौं ।’

कोडिङ सिकिरहँदा बालबालिकाले भोलि गएर सफ्टवेयर नै विकास गर्नुपर्ने भन्ने नभएको पन्तको बुझाइ छ । कोडिङ सिकेपछि कुन-कुन प्रविधिले कसरी काम गर्छ भन्ने कुराको जानकारी हुने हुँदा उनीहरूमा तार्किक विचार विकास गर्ने उनको विश्वास छ ।

त्यति मात्र नभई पछिका दिनमा उनीहरूले आफ्नो पेसाका साथसाथै कोडिङ रहरका लागि गरेर पनि आम्दानी गर्न सक्छन् ।

‘भोलि गएर बालबालिका डाक्टर नै भए पनि, उनीहरूले कहिँ कतै कोडिङको पनि महत्वपूर्ण योगदान रहेको आभास गर्न सकून्’ उनले भने, ‘त्यसैले पनि कोडिङ जुनसुकै क्षेत्रमा जान चाहने बालबालिकका लागि अपरिहार्य छ ।’

हाल यसमा एउटा ‘आवर अफ कोड’ भन्ने विशेषता छ । यो केही समय दिनको एक घन्टा निःशुल्क हुन्छ । यदि बालाबालिका र उनका अभिभावकलाई कोर्ष रोचक लाग्यो भने शुल्क तिरेर जोइन गर्न सकिन्छ ।

कोडिङ क्याम्प बालबालिकाको बिदाको समयमा करिव १० दिन सिकाइ हुने अभियान हो । यसका लागि अभिभावकले ६ हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ । यसमा विशेषगरी पाइथन र कोडिङका आधारभूत कुरा सिकाइन्छ । 

त्यसपछि फुल कोर्षमा सहभागी गराउने इच्छा भए लेभल अनुसार हुन्छ । त्यसमा स्कुलको जस्तो प्रणाली हुन्छ । एउटा लेभल सकेर पास भएको खण्डमा अर्को लेभलमा सहभागी गराउने व्यवस्था छ । शुल्क त्यही अनुसार छुट्टाछुट्टै हुने पन्तले बताए ।

यस संस्थामा हाल १०० काे हारहारीमा बालबालिका कोडिङ सिकिरहेका छन् ।

क्लास सानो हुने र त्यहाँ भएका प्रशिक्षकले एउटा एउटा बालबालिकालाई ध्यान दिने भएकाले बालबालिकामा सकारात्मक सिकाइ बढ्ने पन्तको आशय छ ।

त्यस्तै एउटा क्लासमा जम्मा छ जना समावेश गरिएको हुन्छ । यसले गर्दा पनि सबै बालबालिकाले उत्तिकै समय पाउनेछन् । यसमा मनोरञ्जन बढी हुने भएकाले बालबालिकाले पढाइमा भएजस्तो चाप यसमा लिन नपर्ने पन्तको भनाइ छ ।

बालबालिकाको व्यावहाहिक सिकाइलाई अघि बढाउन मेरो कोडिङ क्लासले निकै महत्वपूर्ण भूमिका खेल्नसक्छ ।

बालबालिकाले सानै उमेरमा विना कुनै झन्झट एनिमेसन, भिडिओ इडिटिङ, ग्राफिक्सले कसरी काम गर्छ भन्ने कुराको जानकारी पाउँछन्, जसले गर्दा भोलिका दिनमा साथमा केही नहुँदा सोही काम गरेर स्वरोजगार हुन सक्छन् ।

‘कोडिङ सिक्नु भनेको साइकल सिक्नुजस्तै हो । एकपटक साइकल सिकेपछि लामो समयसम्म पनि बिर्सिन सकिँदैन ‘ उनले भने, ‘अभिभावकले मेरा बालबालिकाले बिर्सिन्छन् कि भन्ने चिन्ता नलिए हुन्छ किनभने आजकालका बालकालिका धेरै तिक्ष्ण विवेकका भइसकेका छन् ।’

विद्यालयले पनि सधैँ सैद्धान्तिक शिक्षालाई केन्द्रित बनाउनभन्दा केही व्यावहारिक शिक्षामा पनि केन्द्रित हुन आवश्यक रहेको उनी बताउँछन् ।

हाल राजधानीमा केन्द्रित यो सेवा विद्यालय तथा अभिभावकले सहकार्य गरे आगामी दिनमा देशका विभिन्न स्थानमा विस्तार गर्नसक्ने उनी बताउँछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३