close

नेपाली युवाले बनाए मृत्युपछि परिवार तथा आफन्तलाई गोप्य मेसेज पठाउने एप 

गोपाल साउद गोपाल साउद

चैत ९, २०७८ १९:४१

नेपाली युवाले बनाए मृत्युपछि परिवार तथा आफन्तलाई गोप्य मेसेज पठाउने एप 

काठमाडौं । हाल अस्ट्रेलियामा बस्दै आएका एक नेपाली युवाले मृत्युपछि परिवार तथा आफन्तलाई गोप्य सन्देश पठाउन सकिने एप ‘सेफक्रेट’ बनाएका छन् । मोबाइल एप तथा वेबसाइट दुवै प्लेटफर्ममा प्रयोग गर्न सकिने  गरी उक्त एप बनाइएको छ ।

वास्तवमा मानिसको जीवनमा कतिखेर कहाँ के हुन्छ, अनिश्चित छ । यही अनिश्चितताले गर्दा अल्पआयुमा अथवा अचानक मृत्युवरण गर्नेहरूसँगै आफ्ना नजिकका परिवारजन, आफन्त र साथीभाइलाई भन्नैपर्ने कुराहरू बिलाएर गइरहेका हुन्छन् ।

जसमा व्यक्तिगत लेनदेनका कुरा, धनसम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको वासलात मात्र नभएर व्यक्तिका अन्तिम इच्छा  र अन्य प्रकारका सन्देशहरू हुनसक्छन् । यही विषयलाई सम्बोधन गर्न अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका ३१ वर्षीय युवा अनुप कट्टेलले सेफक्रेट तयार पारेका हुन् ।  

काठमाडौं विश्वविद्यालयमा आईएससीको पढाई पूरा गरेपछि कट्टेल उच्च शिक्षाका लागि अस्ट्रेलिया गए । त्यहाँ सफ्टवेयर इन्जिनियरिङ पढ्दा पढ्दै फर्मेसन टेक्नोलोजिज नामक स्थानीय कम्पनीमा काम गर्न थाले । 

करिब छ वर्षअघि सिड्नीमै रहेका उनका फुपू छोरा (भाइ) सुतेकै अवस्थामा बिते । पोस्टमार्टम रिपोर्टमा खासै केही देखिएन । ‘विदेशी भूमिमा एउटै सहरमा रहेको भाइका लागि केही गर्नै पाइनँ,’ कट्टेल सुनाउँछन् ।

‘के थाहा, उसलाई त्यस्तो कुनै समस्या पो थियो कि, तनावमा थियो कि, कति ठाउँमा लिनदिन बाँकी थियो होला, घरमा कसैलाई केही भन्नु थियो होला, परिवारका लागि केके सोचेको थियो होला । सबै कुरा सधैँका लागि उसैसँग रहस्यको गर्भमै बिलाए । भाइका कुरा सुन्न पाएको भए मैले पनि उसका लागि केही गर्न सक्थेँ होला । यस्तोमा शून्यता जस्तो खल्लो अनि पश्चाताप महसुस हुँदो रहेछ ।’

यो घटनाले अनुपलाई पिरोल्नुसम्म पिरोल्यो । यस्तैमा उनी अनेक किसिमका कल्पनामा हराउन थाले । ‘मृत्यु अनिश्चित छ । आजको भोलि कसलाई के हुन्छ कुनै ठेगान छैन । यदि त्यस्तो कुनै माध्यम भइदिए कथंकदाचित आफ्नो मृत्यु भइहाले पनि आफ्नालाई भन्नैपर्ने कुराहरू रहस्यमै बिलाउने थिएनन् भनेर सोच्थेँ,’ उनी भन्छन् । 

हुन त अनुप नेपालमै छँदा उनकी सानिमाका छोरा ओस्टेसार्कोमा नामक हड्डीको क्यान्सर लागेर अल्पआयूमै बितेका थिए । ‘मृत्युलाई मान्छेले सकेसम्म स्वीकार गर्नै चाहँदैन,’ कट्टेल आफ्नै अनुभव सुनाउँछन्, ‘भाइलाई क्यान्सर लागेको भए पनि ऊ केही दिनमै मर्दैछ भन्ने कुरा स्वीकार्नै सकिएन । उसका पनि त अरुलाई केही भन्नु र सुनाउनुपर्ने केही कुरा थिए होलान् ।’

आफ्ना प्रिय आफन्तजनको अनपेक्षित मृत्युकै घटनाले अनुपमा ‘सेफक्रेट’ तयार पार्ने सोच पलायो । करिब तीन वर्षअघिदेखि उनले यो एप बनाउन सुरु गरे । कुनै पनि व्यक्तिले आफ्नो मृत्युपछि मात्रै अरुले थाहा पाऊन् भनेर चाहेका कुरा निकै गोप्य र संवेदनशील हुने विषय अनुपले राम्रैसँग बुझेका छन् । 

त्यसैले त उनले ‘सेफ’ (सुरक्षित) र सिक्रेट (गोप्य) दुई अङ्ग्रेजी शब्दलाई मिलाएर एपको नाम ‘सेफक्रेट’ राखेका छन् । विश्व बजारलाई लक्षित गरी बनाइएको सेफक्रेट अहिले अङ्ग्रेजी, नेपाली, जापानी, चिनियाँ गरी १२ भाषामा उपलब्ध छ । एप चलाउनका लागि भने शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

‘सेफक्रेटको सेवा गोपनीयता र विश्वसनीयतामा आधारित भएकाले डेटा बिक्री अथवा विज्ञापन राखेर निःशुल्क प्रयोग गर्न दिने विकल्पमा नगएको अनुपको तर्क छ । यति मात्र होइन, निःशुल्क बनाउँदा एकैपटक अनपेक्षित रुपमा प्रयोगकर्ता आउन सक्ने र त्यस्तो अवस्थामा व्यवस्थापन गर्न नसक्दा निम्तिन सक्ने जोखिमको डर समेत उनमा छ ।

‘अहिलेको समयमा सेफक्रेटको शुल्क तिर्न डलर कार्ड प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ,’ टेकपानासँगको कुराकानीमा उनी भन्छन्, ‘क्रमशः नेपाली प्रयोगकर्ताको सहजताका लागि स्थानीय वालेटलाई समेत यसमा जोड्ने योजना छ ।’

विगत एक वर्षदेखि आफ्नो जागिर समेत छोडेर अनुप सम्पूर्ण रूपमा एपमै केन्द्रित भएका छन् । सिड्नीमै स्टार्टअप कम्पनी दर्ता गरी उनले कार्यालय समेत खोलिसकेका छन् ।

अहिलेसम्म एपमा आफ्नो एक करोड रुपैयाँ जति खर्च भइसकेको बताउने अनुप आगामी एक वर्षको अवधिमा एपको सुरक्षाका लागि थप एक करोड लगानी गर्ने योजनामा छन् । कम्पनी बिक्री गर्ने वा नयाँ लगानीकर्ता भित्र्याउने विषयमा आफूले अहिलेसम्म केही नसोचेको अनुपको भनाई छ ।

सेफक्रेटले कसरी गर्छ काम ?

सेफक्रेट एपमा प्रयोगकर्ताका लागि हाल दुई ओटा प्याकेज राखिएको छ । जसमा एक वर्षे र पाँच वर्षे प्याकेज छन् । सेफक्रेटको वेबसाइट वा मोबाइल एपबाट अकाउन्ट खोलि सकेपछि आफ्नो अनुकूलतामा उपलब्ध मध्ये एउटा प्याकेज छनौट गर्नुपर्ने हुन्छ । 

त्यसपछि आफ्नो मृत्युपछि पठाउन चाहेको गोप्य सन्देश राख्नुपर्ने हुन्छ । हाल यसमा अङ्ग्रेजी चार हजार क्यारेक्टर लामो सन्देश लेख्ने सुविधा छ । अनि सँगसँगै उक्त मेसेज पठाउन चाहेको मोबाइल नम्बर तथा ईमेल आईडी उल्लेख गर्नुपर्ने हुन्छ । प्याकेज लिने र सन्देश लेख्ने त सामान्य कुरा भयो ।

एपले सम्बन्धित प्रयोगकर्ताको मृत्यु भए नभएको कसरी यकिन गर्छ भन्ने कुरा मुख्य चाँसोको विषय हो । प्याकेज लिँदै गर्दा एपमा ‘रेगुलर पिङ्ग्स’ (नियमित घण्टी अर्थात् नोटिफिकेसन) र ‘एस्कलेटेड पिङ्ग्स’ (चेतावनी घण्टी) छनौट गर्न पाइन्छ ।

यसै आधारमा एपले अन्तिम पटक लगइन भएको दिनबाट निश्चित समयावधिमा ईमेल तथा मोबाइल नम्बरमा ‘नियमित घण्टी’को रुपमा नोटिफिकेसन पठाउँछ ।

त्यसअनुसार यदि तपाईँले कुनै प्रतिक्रिया जनाउनु भएन अथवा एपमा लगइन गर्नु भएन भने आफूले मिलाएको सेटिङको आधारमा तीन देखि पाँच पटकसम्म दैनिक, साप्ताहिक वा मासिक गरी तपाईँको मोबाइल नम्बर वा ईमेलमा ‘चेतावनी घण्टी’को रुपमा नोटिफिकेसन आउँछ ।

अन्तिम चेतावनी घण्टी आउँदा समेत लगइन गर्नु भएन भने एपले तपाईँ यो संसारमा नरहेको यकिन गर्छ र निर्धारित मोबाइल तथा ईमेलमा स्वतः तपाईँको गोप्य मेसेज जान्छ । 

‘गम्भिर प्रकृतिको रोग लागेकाले मात्र नभएर सामान्य व्यक्तिले समेत यो एप प्रयोग गरुन् भन्ने अपेक्षा हो,’ अनुप भन्छन्, ‘हुन त आफू मर्छु जस्तो कसैलाई लाग्दैन । आखिर हामी सबै एक न एक दिन मर्ने नै हो । तर कुन दिन आफू मरिन्छ, कसलाई पो थाहा छ र !’

आफू जीवित रहँदा भन्न नसकेको र मृत्युपछि मात्रै जानकारी गराउन खोजेको कुरा निकै संवेदनशील र गोप्य प्रकृतिको हुन्छ । यस्तोमा सेफक्रेट एपमा रहेको मेसेज सुरक्षित हुन्छ कि हुँदैन भन्ने प्रश्न तपाईँको मनमा हुनसक्छ । 

अनुप आफ्नो सम्पूर्ण प्रयास एप तथा मेसेजको सुरक्षा बढाउनेतर्फ केन्द्रित रहेको बताउँछन् । ‘एपमा रहेको डेटा सर्भरमा इन्क्रिप्ट भएर बसेको हुन्छ,’ उनी दाबीका साथ भन्छन्, ‘यसका लागि एईएस-२५६ इन्क्रिप्सन र आरएसए ४०९६ विथ हार्डवेयर सेक्युरिटी मोडेल प्रयोग गरिएको छ । एईएस २५६ क्वान्टम कम्प्युटरले पनि तोड्न नसक्ने दाबी गरिन्छ ।’ 

उनका अनुसार प्रयोगकर्ताको निधन भएको अन्दाजका आधारमा प्रापकलाई ‘…ले तपाईँको नाममा गोप्य सन्देश छोड्नु भएको छ, हाल उहाँसँग सम्पर्क नभएकोले यो मेसेज पठाइएको हो’ भन्दै मेसेज जान्छ । तर सुरुमै मेसेज खोलेर हेर्न भने नमिल्ने अनुपको भनाई छ ।

‘त्यसमा एउटा कोड हुन्छ । सेफक्रेटको एप वा वेबसाइटमा गएर उक्त कोड राख्नुपर्ने हुन्छ र निर्धारित मोबाइल वा ईमेलमा भेरिफिकेसनका लागि ओटीपी कोड आउँछ,’ उनी भन्छन्, ‘त्यस्तो कोड राखिसकेपछि मात्रै आएको मेसेज हेर्न मिल्छ ।’

प्रयोगकर्ताको डेटा चोरी भएको अवस्थामा पनि मेसेज डिक्रिप्ट गर्न नसकिने गरी एपलाई सुरक्षित बनाइएको उनको दाबी छ । ‘फेसबुक, गुगल जस्ता ठूला कम्पनीको हकमा पनि विश्वासकै कुरा हो ।

फेसबुकले ह्वाट्सएप खरिद गरेपछि केही प्रयोगकर्ताले ह्वाट्सएप नै चलाउन छोडेका थिए,’ अनुपको तर्क छ, ‘त्यसैले ठूलो कम्पनीले ल्याएको सेवा मात्रै विश्वसनीय हुन्छ भन्ने हुँदैन ।’ 

आफन्त तथा परिवारजनलाई सुनाउन चाहेको आफ्नो गोप्य सूचना तथा सामग्री घर वा कोठाको कुनै निश्चित स्थानमा सुरक्षित राखी त्यसको जानकारी दिने विकल्पको रुपमा समेत एप प्रयोग गर्न सकिने उनको भनाई छ । एपमा सब्सक्रिप्सन शुल्क एकदमै सस्तो राखिएको छ ।

हाल वार्षिक प्याकेजका लागि एक अमेरिकी डलर र पाँच वर्षका लागि करिब पाँच अमेरिकी डलर निर्धारित छ । प्याकेजको म्याद सकिनु अघि नवीकरणका लागि प्रयोगकर्तालाई मोबाइल तथा ईमेलमा नोटिफिकेसन आउँछ । प्रयोगकर्ताले एपमा राखेको मेसेज, प्रापकको ईमेल तथा मोबाइल नम्बर जुनसुकै बेला परिवर्तन गर्न सकिन्छ ।

सेफक्रेट मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् र आईएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२