close

को होला नेपाल टेलिकमको नयाँ एमडी ? यसरी हुँदैछ छनौट

टेकपाना टेकपाना

चैत २०, २०७८ १५:३

को होला नेपाल टेलिकमको नयाँ एमडी ? यसरी हुँदैछ छनौट

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रबन्ध निर्देशक चयन गर्ने प्रक्रिया अगाडि बढेको छ । सर्वोच्च अदालतमा दायर रिट खारेज भएसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकम प्रमुख नियुक्तिका लागि आवेदन दिने उम्मेदवारहरूको अन्तर्वार्ता र प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयले गत मङ्सिरमै टेलिकम प्रबन्ध निर्देशक नियुक्तिका लागि आवेदन माग गरेकोमा नौ जनाले आवेदन दिएका छन् । उम्मेदवारी दिएका नौ जना सबैको दरखास्त स्वीकृत भएको छ ।

मन्त्रालयले त्यसै आधारमा मङ्गलबार र बुधबार व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि मिति र समय तय गरेको हो । जसअनुसार अर्जुनबाबु ढकाल, अमलेन्दु नारायण सिंह र दीपक बहादुर शाहीको कार्ययोजना प्रस्तुतिकरणको समय मङ्गलबार बिहान ७ बजेदेखि १० बजेसम्म तय गरिएको छ ।

यसैगरी नगेन्द्रकुमार दास, प्रदीपराज उपाध्याय र बुद्धिप्रसाद आचार्यले मङ्गलबार बेलुकी ५ बजेदेखि ८ बजेसम्मको अवधिमा आफ्नो व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण दिनेछन् । संगीता पहाडी, सुनिल पौडेल र सुरजसिंह थापाको लागि भने बुधबार बिहान ७ बजेदेखि १० बजेबीचको समय निर्धारण  गरिएको छ ।

हरेक उम्मेदवारहरूका लागि कार्ययोजना प्रस्तुतिको समय ३० मिनेट निर्धारण गरिएको छ । यस क्रममा उनीहरूले टेलिकमको प्रमुख नियुक्त भएको खण्डमा कम्पनीलाई व्यावसायिक रुपमा कसरी सफल बनाउने भन्ने विषयको आफ्नो कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ ।

यस किसिमको प्रस्तुतिकरण, अन्तर्वार्ता, अन्य योग्यता आदिका आधारमा छनौट समितिले तीन जनाको शर्ट लिस्ट प्रकाशित गरी नयाँ प्रबन्ध निर्देशक नियुक्तिका लागि सिफारिस गर्नेछ । त्यसैमध्ये एक जनालाई मन्त्रिपरिषद्‌ले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्ति गर्नेछ ।

निवर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकाल सकिएपछि पुस यता टेलिकम निमित्त प्रबन्ध निर्देशककै भरमा चलिरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३