काठमाडौं । गुगलले प्ले स्टोरबाट कल रेकर्डिङ गर्ने थर्ड पार्टी एपहरू हटाउने घोषणा गरेको छ । आगामी मे ११ देखि एप डेभलपरले थर्ड पार्टी एपका माध्यमबाट कल रेकर्डिङ फिचर उपलब्ध गराउनसक्ने छैनन् ।
कम्पनीले हालसालै गुगल प्ले स्टोरको नीतिमा परिवर्तन ल्याउँदै कल रेकर्डिङ गर्ने सम्पूर्ण एप हटाउने योजना बनाएको हो ।
नयाँ नीतिअनुसार कल रेकर्ड हुने त्यस्ता एपले कल रेकर्डिङका लागि एपीआई एक्सेसिबिलिटी प्रयोग गर्न पाउने छैनन् ।
यसको अर्थ अब स्मार्टफोन प्रयोगकर्ता, जसले फोनमै भएको कल रेकर्डर प्रयोग नगरी थर्ड पार्टी एपका माध्यमबाट कल रेकर्ड गर्थे, उनीहरूले मे ११ बाट त्यसरी कल रेकर्ड गर्नसक्ने छैनन् ।
यदि प्रयोगकर्ताको स्मार्टफोनमा बिल्ट-ईन-कल रेकर्डिङ फिचर छ भने प्रयाेगकर्ताले त्यो फिचर पहिलेजस्तै प्रयोग गर्न पाउनेछन् । तर, थर्ड पार्टी एपबाट भने रेकर्ड गर्नसक्ने छैनन् ।
साओमी, सामसङ, गुगल पिक्सेल लगायतका फोनमा कल रेकर्डिङ फिचर सिस्टममा नै उपलब्ध हुन्छ । सिस्टममा प्रि-इन्स्टल भएर आउने भएकाले त्यो फिचरका लागि केही अनुमति चाहिँदैन ।
कुनै डिभाइसले गोपनीयतालाई प्राथमिकता दिन कल रेकर्डिङ हुनुपूर्व दुवै पक्षलाई जानकारी दिन्छन् भने कतिपयले दिँदैनन् ।
गुगलले केही समय पहिलेदेखि एन्ड्रोइड डिभाइसहरूमा कल रेकर्डिङ फिचर बन्द गर्ने प्रक्रियामा काम गरिरहेको छ ।
कम्पनीले एन्ड्रोइड ६ मा रियल टाइम कल रेकर्ड फिचर निषेधित गरेको थियो भने एन्ड्रोइड १० मा माइक्रोफोनका माध्यमबाट हुने कल रेकर्डिङमा प्रतिबन्ध लगाएको थियो ।
त्यसपछि एन्ड्रोइड १० र त्यसपछिका फोनमा कल रेकर्ड गर्न त्यस्ता एपले एक्सेसिबिलिटी सर्भिस प्रयोग गर्दै आइरहेका छन् ।