close

दृष्टिविहीनका लागि आँखाको काम गर्ने चस्मा

टेकपाना टेकपाना

बैशाख ९, २०७९ ७:३७

दृष्टिविहीनका लागि आँखाको काम गर्ने चस्मा

काठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि प्रविधि वरदान सावित भएको छ । प्रविधिको सहयोगमा उनीहरूले अन्य सामान्य मानिसजस्तै आफ्नो काम गर्न सक्छन् । आज हामी एउटा यस्तो डिभाइसका बारेमा चर्चा गर्छौँ, जो दृष्टिविहीनका लागि आँखाको काम गर्छ ।

अपाङ्गता भएका व्यक्तिका लागि उपकरण निर्माण गर्दै आएको नेदरल्यान्ड आधारित कम्पनी इन्भिजनले यस्तो स्मार्टग्लास सार्वजनिक गरेको हो ।

इन्भिजन स्मार्ट ग्लास एउटा त्यस्तो डिभाइस हो, जसले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी दृष्टिविहीन वा थाेरै देख्नसक्ने व्यक्तिले आफ्ना वरपरका कुरा थाहा पाउनसक्छन् ।

यो एउटा यस्तो स्मार्ट ग्लास (चस्मा) हो, जसको एउटा छेउमा क्यामेरा जडान गरिएको हुन्छ । सोही क्यामेराले शब्दहरू पढ्ने, मानिस पहिचान गर्ने र कतै भएका वस्तु स्क्यान गर्ने गर्छ ।

ती पहिचान गरेका जानकारी चस्मामा भएको स्पिकरले पढेर सुनाउँछ । जसले गर्दा उनीहरूले आफ्ना वरपर भएका सबै जानकारी थाहा पाउनसक्छन् ।

इन्भिजनले को व्यक्ति आउँदै छ वा कसले के गर्दै छ अथवा कोठामा के के भन्ने कुराको सम्पूर्ण जानकारी दिन्छ । प्रयोगकर्ताले इन्भिजनको प्रयोग गरी कुनै साथीको सहयोग लिनसक्छन् ।

त्यसका लागि उनीहरूले सोही चस्माको सहायताले आफूले चिनेको साथीलाई कल गर्नपर्ने हुन्छ । कल गरिसकेपछि कलमा आउने व्यक्तिले अगाडि पछाडि के के कुराहरू छ भन्ने कुरा भिडिओको माध्यमबाट देख्नसक्छ ।

सोही जानकारीका आधारमा उनीहरूले वरपर के भइरहेको छ भन्ने बताइदिन सक्छन् । इन्भिजन ग्लास गुगल ग्लासको इन्टरप्राइस एडिसनमा निर्माण भएका छन् ।

गुगलले आफ्ना माताहतका स्मार्ट ग्लास २०१३ मा नै सार्वजनिक गरेको थियो । त्यसको माध्यमबाट प्रयोगकर्ताले कल उठाउन, मेसेज पठाउन, फोटो खिच्न, म्याप हेर्न सक्थे । तर, केही समयमा नै गुगलको त्यो प्रडक्ट असफल भयो ।

त्यसको केही वर्षपछि गुगलले ग्लासको इन्टरप्राइस एडिसनमा काम गर्न थाल्यो । त्यसैमा इन्भिजन निर्माण भयो । त्यो चस्मा यसरी डिजाइन गरिएको छ कि, त्यसले देखेका सबैजसो जानकारी कैद गर्छ । जस्तो अन्य सामान्य व्यक्तिले देखेका हुन्छन् ।

‘इनभिजन ग्लासले प्रयोगकर्ताको वरपर भएका सम्पूर्ण कुराको जानकारी लिन्छ । त्यसलाई प्रशाेधन गरेर त्यो जानकारी आवाजका रूपमा प्रयोगकर्तासम्म पुर्‍याउँछ,’ इन्भिजनका सह-संस्थापक कार्थिक कन्ननले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२