close

ट्वीटरमा पराग अग्रवालको भविष्य अब एलन मस्कको हातमा

टेकपाना टेकपाना

बैशाख १३, २०७९ १६:११

ट्वीटरमा पराग अग्रवालको भविष्य अब एलन मस्कको हातमा

काठमाडौं । टेस्लाका मालिक एलन मस्कले ४४ अर्ब डलर अर्थात करिब ५४ खर्ब रूपैयाँमा ट्वीटर खरिद गर्ने भएका छन् । ट्वीटर खरिदका लागि मस्कले गरेको प्रस्तावमा कम्पनीसमेत सहमत भइसकेको छ ।

यस्तोमा केही समय अघिमात्रै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका पराग अग्रवालको भविष्य के हुन्छ भन्ने विषयमा चासो बढिरहेको छ ।

ट्वीटरका संस्थापक तथा पूर्वसीईओ ज्याक डोर्सीले ट्वीटरको पद छाडेलगत्तै भारतीय मूलका अमेरिकी नागरिक अग्रवाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को भूमिकामा आएका आएका थिए । उनी कम्पनीको प्रमुख भूमिकामा आएको ६ महिना पूरा हुँदैछ ।

१५ वर्ष ट्वीटरको नेतृत्व गरेका डोर्सीपछि ट्वीटरको नेतृत्वमा आएका अग्रवाल ठूला प्रविधि कम्पनीका कान्छा नेतृत्वकर्तामध्ये एक हुन् । उनी ३७ वर्षको उमेर ट्वीटरजस्तो ठूलो कम्पनीको सीईओ बनेका हुन् ।

ट्वीटरका इन्जिनियरको रुपमा सन् २०११ मा काम सुरु गरेका उनी सन् २०१७ मा ट्वीटरको प्रमुख प्राविधिक अधिकृतमा बढुवा भएका थिए ।

डोर्सीको नजिक रहेर ट्वीटरका विभिन्न परियोजनामा संलग्न भएर काम गरेका अग्रवाल डोर्सीकै परिकल्पना अन्तर्गत कम्पनीको सीईओ नियुक्त भएका थिए ।

सीईओको रुपमा कम्पनीको नेतृत्वमा आएको केही समय नहुँदै कम्पनी बिक्री हुँदा अग्रवालको भविष्य के हुन्छ ? धेरैले उनको भविष्य अनिश्चित भएको बताएका छन् ।

किनभने मस्कले ट्वीटरको सम्पूर्ण शेयर खरिद गरेसँगै पक्कै पनि कम्पनीको नेतृत्वमा उनले आफ्नै मान्छे ल्याउने निश्चत नै छ । त्यो हुँदा अग्रवाल कम्पनीबाट बाहिरिनुपर्ने हुन सक्छ ।

हुन त यसअघि अग्रवाल कम्पनीको सीईओको रुपमा नियुक्त हुँदा मस्कले उनको प्रशंसा गर्न भ्याएका थिए । त्यो हिसाबले कतै मस्कले अग्रवाललाई विश्वास गर्छन् कि भन्ने पनि आश भने छ ।

तर, मस्कले के सोचिरहेका छन् भन्ने विषय कसैले अनुमान गर्न सक्दैनन् । मस्कले कम्पनी खरिद गर्ने निर्णय भएसँगै अग्रवालले आफ्नो वक्तव्य जारी गर्दै ‘ट्वीटर विश्वभर नै प्रभावकारी माध्यम हो ।

मलाई आफ्नो टिमप्रति गर्व छ,’ अग्रवालले भनेका छन् । उनले आफ्नो टिमप्रति विश्वास व्यक्त गरेको भएपनि वार्षिक १० लाख डलर तलब र करिब १५ लाख डलर बोनस लिनेगरी नियुक्त भएका उनलाई मस्कले विश्वास गर्छन्, गर्दैनन् भन्ने कुरा महत्वपूर्ण हो ।

यदि मस्कले विश्वास नगरेर अग्रवाललाई हटाउने निर्णय गरेको खण्डमा अग्रवालले चार करोड २० लाख अमेरिकी डलर अर्थात पाँच अर्ब १४ करोड रुपैयाँ प्राप्त गर्नेछन् ।

उनीसँग भएको सम्झौताअनुसार नियुक्ति भएको १२ महिनाअघि नै पदबाट हटाएको खण्डमा कम्पनीले उक्त रकम भुक्तनी गर्नुपर्ने भनी सम्झौता भएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२