close

जुकरबर्गको मेटाभर्समा लगानी गर्न किन आनाकानी गर्दैछन् लगानीकर्ता ?

टेकपाना टेकपाना

बैशाख १८, २०७९ १८:२३

जुकरबर्गको मेटाभर्समा लगानी गर्न किन आनाकानी गर्दैछन् लगानीकर्ता ?

काठमाडौं । गत अक्टोबरमा मेटाका संस्थापक मार्क जुकरबर्गले आफू पूर्णरुपमा मेटाभर्समा लागिरहेको र आउने दिनमा यो महँगो हुँदै जाने बताएका थिए । समयसँगै उनको मेटाभर्सको मूल्यभन्दा पनि मेटा कम्पनीको शेयर मूल्य घट्दै गएको छ ।

कम्पनीको पहिलो त्रैमासिक आम्दानीको तथ्याङ्क सार्वजनिक गर्ने बेलामा जुकरबर्गले हालको व्यावसायिक वृद्धिलाई हेर्ने हो भने मेटाले केही लगानी गुमाउनसक्ने बताएका थिए । यसको अर्थ हो, घट्दै गएको कम्पनीको आर्थिक वृद्धिदरले लगानीकर्ता मेटादेखि टाढिन खोजिरहेका छन् ।

कम्पनीको पहिलो त्रैमासिक प्रतिवेदन अनुसार मेटाले ७.५ अर्ब डलर नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको नाफा रकमभन्दा २१ प्रतिशतले कम हो ।

७ प्रतिशतले वृद्धि भएको आम्दानी पहिलो त्रैमासिकमा २७.९ अर्ब डलर पुगेको छ, यद्यपि यो कम्पनीको अहिलेसम्मको सबैभन्दा कम वृद्धि हो ।

यो रकम कम्पनीले लक्ष्य राखेको भन्दा तीन अर्ब डलरले कम छ । जुकरबर्ग अझै पनि मेटाभर्सका लागि आवश्यक विभिन्न डिभाइस र सफ्टवेयर निर्माण गर्न अर्बौं डलर खर्च गरिरहेका छन् ।

मेटाभर्स भोलिको दिनमा मोबाइल इन्टरनेटको रुपमा विकास हुने उनको विश्वास छ । मेटाको भीआर हेडसेट र एआर चस्मा बनाउने ल्याबमा मात्र मेटाले १७ हजारलाई रोजगारी दिएकाे छ ।

यसका लागि मात्र कम्पनीले योभन्दा अगाडिको त्रैमासिकमा तीन अर्ब डलर खर्च गरेको थियो । नाफा केही पनि नभएको तर लगानी मात्र गइरहेको देखेर भने मेटाका लगानीकर्ता अहिले हिच्किचाइरहेका छन् ।

यसको एउटा प्रमाण कम्पनीको स्टक मूल्य पनि हो । गत पाँच वर्षको वृद्धिलाई हावामा उडाउँदै मेटाको शेयर मूल्य ५० प्रतिशतले कम भइसकेको छ ।

फेसबुकलाई रिब्रान्ड गरेर मेटा नाम दिएसँगै कम्पनीको शेयरमूल्य पनि घट्न थालेको हो । कम्पनीको एउटा आशा विज्ञापन पनि थियो, जसको आधारमा लगानीकर्ताहरूले लगानी गर्न सक्थे ।

यद्यपि पछिल्लो समयमा फेसबुकले आफ्नो ठूलो संख्याको प्रयोगकर्ता गुमाइरहेकाे छ ।

टिकटकले फेसबुक र इन्स्टाग्रामको प्रयोगकर्तालाई आफूतिर आकर्षित गरिरहेको छ भने अर्कोतिर एप्पलको नयाँ विज्ञापन नीतिले मेटालाई पहिले नै घाटामा पारिसकेको छ ।

यसको अर्थ फेसबुक डुबिसकेको नै भन्ने चाहिँ होइन, तर फेसबुकमा आफ्नो इतिहासकै सुस्त वृद्धि देखिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२