close

एलन मस्कको टेस्लाको कथाः सुरु भएको १५ वर्षमै यसरी बन्यो विश्वकै टप कम्पनी

टेकपाना टेकपाना

बैशाख २९, २०७९ २०:४२

एलन मस्कको टेस्लाको कथाः सुरु भएको १५ वर्षमै यसरी बन्यो विश्वकै टप कम्पनी

काठमाडौँ । टेस्लाका मालिक एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्वीटर खरिद गर्न लागेको विषय लगातार समाचारको हेडलाइन बनिरहेको छ । उनले त्यसका लागि ४४ अर्ब डलर लगानी गर्दैछन् । सन् २०१८ मा टेस्लाले कम मूल्यको विद्युतीय कार मोडल थ्रीको उत्पादन सुरु गरिरहेको थियो ।

त्यसैबेला यो कम्पनीमा आर्थिक अभावका कारण विभिन्न समस्या आउन थालेका थिए । त्यसताका कम्पनीको टाट पल्टिने सम्भावना उच्च थियो । त्यसैक्रममा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा एलन मस्क दिनको २२-२२ घण्टा टेस्लाको कारखानामा बिताउने गर्थे ।

एलन मस्क आफैँले पछि एक अन्तरवार्तामा कम्पनी समाप्तिको अवस्थासम्म पुगेको कुरा स्वीकार गरेका थिए । तर दुई वर्षमा अवस्था बदलियो ।

कार बजारमा आइसकेको थिएन, तर कम्पनीको शेयर आश्चर्यजनक रुपमा बढिरहेको थियो । जसमा ५० प्रतिशतभन्दा अधिकको बढोत्तरी देखियो । सन् २०२० मा लगातार चार त्रैमासिकसम्म कम्पनीलाई नाफा भयो ।

कोरोना महामारीको दौरानमा जब कार कम्पनीहरूले सेमिकन्डक्टरको अभावसँग जुधिरहेका थिए, टेस्लाले भने नाफामा ‘रेकर्ड’ कायम गरिरहेको  थियो । सन् २०२१ मा टेस्लाको बजार मूल्य १.२ ट्रिलियन अर्थात १२ खर्ब डलरसम्म पुग्यो र एप्पल, माइक्रोसफ्ट, अल्फाबेट, अमेजनपछि विश्वको सबैभन्दा ठूलो कम्पनीको सूचीमा सामेल भयो ।

कार निर्माता कम्पनीहरूमा यो सबैभन्दा छिटो १ ट्रिलियनको आँकडासम्म पुगेको थियो र ब्रान्ड मूल्यको मामिलामा सबैभन्दा ठूलो बन्यो । उत्पादनको मामिलामा टेस्ला, टोयोटा, भक्सवागन, फोर्ड र होन्डा लगायतका कम्पनीहरूको तुलनामा निकै पछाडि थियो ।

तर यसको मूल्य टोयोटा, भक्सवागन र होन्डाको कुल मूल्य भन्दा पनि माथि पुगिसकेको थियो । यानिकी दुई वर्षअघि धराशायी हुने अवस्थामा रहेको टेस्ला विश्वको सबैभन्दा ठूलो कार निर्माता कम्पनी बन्न सफल भयो । 

यस्तोमा टेस्ला विश्वको सबैभन्दा ठुलो विद्युतीय कार निर्माता कम्पनी कसरी बन्यो, टेस्लाको शेयरको मूल्य किन यति धेरै किन छ, आदि विषयमा आज हामी चर्चा गर्दैछौँ । 

एलन मस्क प्रतिको विश्वाश:

जेनी पोर्ट्स आईटी कन्सल्टेन्ट हुन् र उनी अस्ट्रेलियाको भिक्टोरियामा बस्दै आएकी छन् । उनी आफू स्वयम्‌लाई एलन मस्कको ‘फ्यान’ भएको बताउँछिन् । उनी भन्छिन्, ‘केही वर्ष अगाडि मेरा साथीहरूले मलाई तपाईँको नजर टेस्लामाथि हुनुपर्ने बताएका थिए । त्यस समय मलाई एलन मस्क वा टेस्लाको बारेमा केही थाहा थिएन । पे-पल पेमेन्ट कम्पनीको पछाडि समेत मस्क नै रहेका थिए भन्ने कुरा समेत मेरा साथीले भनेका थिए ।’

सन् १९७१ मा दक्षिण अफ्रिकाको प्रिटोरियामा जन्मिएका एलन मस्ककी आमा क्यानडाली मूलकी हुन् भने बुबा अफ्रिकी मूलका । ‘साइन्स फिक्सन’ (अन्तरिक्ष, टाइम ट्राभल, अन्य ग्रहहरूमा हुनसक्ने  जीवन जस्ता भविष्यको वैज्ञानिक तथा प्राविधिक उन्नतिको विषयमा परिकल्पनामा आधारित विषयवस्तु) मा रुचि भएका मस्क सानै उमेरमा बुबाको साथमा अमेरिका गए ।

सन् १९९५ मा २५ वर्षको उमेरमा मस्कले जिप टु नामक कम्पनी सुरु गरे । उनले तीन सालपछि उक्त कम्पनी बिक्री गरिदिए । त्यसपछि सन् १९९९ मा उनले एक्स डटकम नामक कम्पनी स्थापना गरे । जुन पिटर थिलको कम्पनी कन्फिनिटीमा विलय भयो । जसको नाम परिवर्तन गरेर पेपाल राखियो र पछि त्यसलाई ईबेले डेढ अर्ब डलरमा खरिद गर्‍यो । 

जेनी भन्छिन्, “मैले टेस्ला र एलन मस्कको बारेमा पढ्न सुरु गरेँ, म उनको बारेमा जति बुज्दै गएँ, मेरो रुचि त्यति नै बढ्दै गइरहेको थियो ।”

सन् २००२ मा मस्कले अन्तरिक्ष अनुसन्धान तथा अन्तरिक्ष पर्यटनको क्षेत्रमा काम गर्नका लागि स्पेस-एक्स स्थापना गरे । पछि सुरुङ बनाउने बोरिङ्ग कम्पनी र मानव मस्तिष्कमा चिप प्रत्यारोपण गर्ने सम्भावनामाथि अनुसन्धान गर्न  न्यूरालिङ्क खोले । 

सन् २००३ मा जब मस्क स्पेस एक्समा लागिरहेका थिए, उनका साथीहरू मार्टिन एबरहार्ड र मार्क टारपेनिङ भने इलेक्ट्रिक कार कम्पनी टेस्ला स्थापना गरिरहेका थिए । त्यसका लागि लगानीको व्यवस्था मस्कले गरिरहेका थिए । पछि उनी कम्पनीको बोर्ड अध्यक्ष बने । 

प्रविधिमा चाँसो भएकाले उनको रुचि उत्पादनमा थियो । सन् २००७, २००८ मा टेस्ला आफ्नो पहिलो कारको बनाइरहेको थियो, तर अवस्था बिग्रिँदै गएको थियो । एबरहार्डले कम्पनी छोडिदिए र मस्क कम्पनीको सीईओ तथा प्रोडक्ट आर्किटेक्ट बन्न पुगे । 

जेनी भन्छिन्, “मलाई आफ्नो कार धेरै मन पर्छ । कारमा बस्दा तपाईँलाई न त कुनै बटन दबाउन पर्छ, न कुनै चाबी लगाउनु पर्छ । कारलाई तपाईँ आएको थाहा हुन्छ । ब्रेक दबाएर गेयर बदल्नुहोस्, कार ‘स्टार्ट’ भइहाल्छ । बन्द गर्न एक्सेलेरेटरबाट आफ्नो खुट्टा उठाउनुस् अथवा गेयर स्टिकमा रहेको बटन थिच्नुहोस् । यो निकै सहज छ ।”

टेस्लाले सन् २०१७ मा सस्तो मूल्यको विद्युतीय कार मोडेल थ्री बजारमा उतार्‍यो । ४० हजार डलरको यो कार एकपटक चार्ज गर्दा पाँच हजार २० किलोमिटरसम्म गुड्न सक्छ । जेनी पोट्सले करिब ८५ हजार अमेरिकी डलरमा कार खरिद गरिन् । त्यसअघि उनको साथमा एउटा जिप थियो ।

जसको मूल्य टेस्ला मोडल थ्रीकोभन्दा आधा थियो । जुन २०२१ मा दश लाख बिक्रीको आँकडा पार गर्ने यो विश्वको पहिलो विद्युतीय कार थियो । जेनी भन्छिन्, “कारमा विद्युतीय मोटर छ, जुन आमरूपमा प्रयोग हुने कम्बस्चन इन्जिन भन्दा फरक छ । त्यसैले यसको सर्भिसको खर्च लगभग शून्य छ । हो, टायर फेर्दा भने खर्च गर्नुपर्छ ।”

अष्ट्रेलियामा टेस्लाले आफ्नो ब्याट्री प्रविधिको समेत राम्रो प्रदर्शन गरिरहेको छ । सन् २०१७ मा कम्पनीले त्यहाँ विशाल लिथियम-आयन ब्याट्री बनायो । त्यसको कहानी पनि रोचक छ ।

जेनी भन्छिन्, “दक्षिण अष्ट्रेलियाको एक विद्युतीय ग्रिड सौर्य र हावाबाट बिजुली उत्पादन गर्ने विषयलाई लिएर समस्या झेलिरहेको थियो । जसका कारण सम्पूर्ण राज्यमा लोडसेडिङ हुने गर्थ्यो । यो ठूलो राजनीतिक मुद्दा बनिसकेको थियो । एलन मस्कले ट्वीटरमार्फत सय दिनभित्र त्यहाँ आफूले ब्याट्री लगाउने र नसकेको खण्डमा त्यसलाई निःशुल्क रुपमा उपलब्ध गराउने घोषणा गरे । राज्य सरकारले परियोजनाका लागि स्वीकृति दियो । यसरी ३० सेप्टेम्बर २०१७ मा काम सुरु भयो र ६० दिनमा काम सम्पन्न भयो ।”

१०० मेगावाट क्षमताको उक्त ब्याट्री त्यसताका विश्वको सबैभन्दा ठूलो लिथियम आयन ब्याट्री थियो । जुन एउटा ग्रिड प्रणालीमा आधारित थियो र त्यसमा टेस्ला कारमा हुने प्रविधि राखिएको थियो । त्यसबाट निकै प्रभावित जेनीले टेस्लामा लगानी गर्ने निर्णय लिइन् ।

उत्पादन र कम्पनीको मूल्य

क्रिस्टोफर रोसबाक जे. स्टर्न एण्ड कम्पनीका म्यानेजिङ पार्टनर तथा प्रमुख लगानी अधिकृतका रुपमा कार्यरत छन् । उनी लगानीको विषयमा सल्लाह दिने गर्दछन् ।उनी भन्छन्, “एलन मस्क दूरदर्शी र जादुगरी व्यक्तित्वका धनी छन् । उनले टेस्लालाई संसारको सबैभन्दा ठूलो विद्युतीय कार कम्पनी बनाए । उनी उद्योगका त्यस्ता व्यक्तिहरूमा पर्छन्, जसले पहिलो कदम उठाउने जोखिम लिए । तर यसको सम्बन्ध शेयरसँग हुनुहुँदैन ।”

वितेको समयमा टेस्लाको मूल्यमा दश गुणासम्म बढोत्तरी भएको छ । यसको शेयरको मूल्य ५० डलरबाट बढेर एक हजार डलरसम्म पुग्यो र बजार मूल्य १२ खर्ब डलर सम्म पुग्यो ।

क्रिस्टोफर भन्छन्, “टेस्लाको शेयरमा फोकाहरू छन् मतलब यसको मूल्य जति हुनुपर्ने थियो त्यसभन्दा निकै धेरै छ । मलाई लाग्दैन कि कम्पनीको आधारभूत मूल्याङ्कन अथवा नाफा गर्ने  सक्षमताको तर्कबाट यसलाई सही साबित गर्न सकिन्छ ।”

त्यसो हो भने फेरि कम्पनीको शेयर तथा यसको मूल्यमा यति धेरै वृद्धि किन ? क्रिस्टोफर स्पष्ट पार्छन् कि केही मानिसहरू टेस्लालाई गुगल तथा अमेजनको जस्तै प्रविधि कम्पनी ठान्दछन्, जुन सही होइन । उनी यसलाई सामान बनाउने कम्पनी भन्दछन् । 

उनी भन्छन्, “टेस्लाले कार बनाउँछ, त्यसमा लागत धेरै हुने गर्छ । कम्पनीले अन्य उत्पादककै जस्तो गरी कारमा लाग्ने पाटपुर्जा खरिद गर्नुपर्ने हुन्छ, ब्याट्री बनाउनुपर्ने हुन्छ । यस्तोमा गुगल, अमेजन र फेसबुकको तुलनामा उसको ‘प्रोफिट मार्जिन’ (खुद मुनाफा) कम हुनेगर्छ ।”

क्रिस्टोफरका अनुसार अन्य कार कम्पनीसँग टेस्लाको शेयरको तुलना गर्ने हो भने यसको मूल्य अवास्तविक छ । सन् २०२१ मा टेस्लाले नौ लाखभन्दा बढी कारहरू बनायो जब कि टोयोटाले ७६ लाखभन्दा बढी, फक्सवागनले ८३ लाखभन्दा बढी र होन्डाले ४५ लाखभन्दा बढी कार बनाए ।

उनी भन्छन्, “यदि टेस्लाका कारको बिक्री तथा आम्दानीलाई हेर्ने हो भने सन् २०२० मा ३१ अर्ब डलर थियो र सन् २०२१ मा बढेर ५३ अर्बभन्दा अधिक हुन पुग्यो । टेस्लाले यदि कार उत्पादनको मामिलामा टोयोटा वा फक्सवागनको बराबरी गर्‍यो भने पनि यसको कम्पनीको शेयरको मूल्यलाई अवास्तविक नै भन्नु उचित हुनेछ ।”

जानकारहरूको बुझाईमा टेस्लाले सबैभन्दा सस्तो ब्याट्री बनाउँछ । त्यसबाट कारको मूल्यमा फरक त पर्छ तर यस क्षेत्रमा अन्य कम्पनीहरू टेस्लालाई चुनौती दिन तयार छन् । अनि आजभन्दा २५ वर्षपछिको स्थिति के होला कसैलाई थाहा छैन ।

क्रिस्टोफर भन्छन्, “यदि तपाईँ कार उद्योगको भविष्यको बारेमा सोच्दै हुनुहुन्छ भने, तपाईँले मान्नैपर्ने हुन्छ कि सडकमा कम कारहरू हुनेछन् र ‘कार पूल’ (कार शेयर गर्ने प्रचलन) अधिक हुनेछ । यो पनि सम्भव छ कि सडकमा चालकविहीन तथा स्वचालित पडहरू हुनेछन् । यद्यपि कुनै न कुनै कम्पनीले नै यसको व्यवस्था गर्नेछ । तर त्यो टेस्ला वा वा फक्सवागनकै जस्तो कार कम्पनी हुनेछ वा गुगल जस्तो सफ्टवेयर कम्पनी, अहिले नै त्यसको अन्दाज गर्न मुश्किल छ । टेस्लाको संसाधन तथा उसको काम हेर्ने हो भने उसले यो काम गर्छ जस्तो लाग्दैन ।”

लगानी र भविष्य

मालकम म्याकपार्टलिन एगोन एसेट म्यानेजमेन्ट नामक एक कम्पनीमा लगानी प्रबन्धकको रुपमा कार्यरत छन् । यही कम्पनीले टेस्लामा १५ करोड डलर लगानी गरेको थियो, जब  कम्पनी मोडल थ्रीको उत्पादनको विषयलाई लिएर कठिनाइसँग जुधिरहेको थियो । 

उनी भन्छन्, “त्यतिबेला कम्पनी आफ्नै लागि लगानीको व्यवस्था गर्ने र उसको भविष्यलाई लिएर चिन्ता गरिदै थियो । जब कम्पनी आफ्नो कठिनाइबाट पार पाउनेछ भन्ने कुराको संकेत हामीलाई प्राप्त भयो, त्यसपछि हामीले यसमा लगानी गर्‍यौँ ।”

त्यसपछि टेस्लाले केवल आफ्नो मात्रै समस्या समाधान गरेन, बरु बजारमा एउटा नयाँ कार समेत उतार्‍यो । तर पछि टेस्लाले आफैँ एक नयाँ चुनौति सिर्जना गर्‍यो । सन् २०२० मा लगानीकर्ताहरूको वार्षिक बैठकमा मस्कले सस्तो कार बनाउन तीन वर्षभित्र ब्याट्रीमा लाग्ने ब्याट्री सेलको भारी मात्रामा उत्पादन सुरु गर्ने बताए । 

माल्कम भन्छन्, “टेस्लाको बारेमा हामीलाई यही थाहा छ कि कम्पनी कहिलेकाहीँ आफ्ना लागि ठूलो उद्देश्य तय गर्छ, जसलाई पूरा गर्न कम्पनीका लागि सम्भव हुनसक्दैन । भलै यसमा ढिलाई होस्, तर जुन उत्पादन उसले बनाउँछ, त्यो उत्कृष्ट हुन्छ । म उनीहरूको दाबीमाथि विश्वास गर्दिनँ, तर उत्पादनहरूमा गर्छु ।”

माल्कमको बुझाईमा नवप्रवर्तनको विषयलाई लिएर टेस्लाको काम गर्ने तरिका हेर्ने हो भने कम्पनीले प्रति कारमा हुने आफ्नो नाफा बढाउन सक्छ । सायद टेस्लाको शेयरको मूल्य बढी हुनुको कारण यही हुन सक्छ । 

कम्पनीको भनाई छ कि सन् २०२३ सम्ममा उसले २५ हजार डलरको इलेक्ट्रिक कार बजारमा उतार्नेछ । जुन सम्भवतः चालक रहित हुनेछ । अनि आउने समयमा कम्पनीले अरूको लागि पनि ब्याट्री बनाउन सक्छ ।

उनी भन्छन्, “तपाईँले यसलाई मोटामोटी दुई भागमा हेर्न सक्नुहुन्छ । बिजुली सञ्चय गर्नका लागि पावर ग्रिड र औद्योगिक प्रयोगका लागि ब्याट्री, जुन उसले अस्ट्रेलियामा गर्‍यो र घरहरूका लागि स्टोरेज ब्याट्री । नियमित ऊर्जाको भविष्यको हिसाबले यो महत्त्वपूर्ण हुनेछ ।”

तर माल्कम टेस्लामा रहेको आफ्नो केही शेयर बिक्री गरिरहेका छन् । यसो गर्नुको उनको कारण पनि स्पष्ट छ । 

उनी भन्छन्, “पोर्टफोलियोमा कुनै एउटा कम्पनीको सेयरको मूल्य धेरै बढ्दा त्यो पोर्टफोलियोकै ठूलो हिस्सा बन्नेगर्छ । यसबाट जोखिम बढ्छ, जसलाई कम गर्नका लागि हामी यसको शेयर बेचिरहेका छौँ र पैसा अर्को कम्पनीमा लगाइरहेका छौँ । कुनै पनि पोर्टफोलियो म्यानेजरले गर्ने नै यही हो ।”


टेस्लाको अगाडि चुनौती:

अञ्जन कुमार कन्सल्टेन्सी फर्म फस्ट एन्ड सुलिभानका अनुसन्धान प्रबन्धक हुन् । उनी समग्र कार उद्योगमा टेस्ला नवप्रवर्तन तथा आविष्कारको मामिलामा अन्य कम्पनीभन्दा निकै अगाडि रहेको ठान्छन् ।

उनी भन्छन्, “खासगरी नयाँ प्रविधिसँगै उत्पादन बढाउनु सबैभन्दा मुश्किल काम हुने गर्छ । कार कम्पनीको रूपमा टेस्लाको सबैभन्दा ठूलो उपलब्धि भनेकै उसले ब्याट्रीबाट चल्ने कारहरू बनायो र त्यसमा नाफा कमायो ।”

सन् २००३ मा सुरुवात गरेपछिको टेस्लाको यात्रा हेर्न लायक रहेको छ। यद्यपि टेस्ला विद्युतीय कारको बजारमा अगाडि हुन चाहने एक्लो कम्पनी भने होइन ।

उनी भन्छन्, “टेस्लाको क्षमता उसको सफ्टवेयर थियो । पछि कम्पनीले आफूलाई परिभाषित गर्‍यो र इन्जिनियरिङ कम्पनी बन्यो । अब ऊ उत्पादनमा पनि अगाडि छ । तर अर्कोतर्फ रिभियन, फिस्कर र बाइटन जस्ता नयाँ पुस्ताका विद्युतीय कार निर्माता कम्पनीहरू पनि छन् । जो सफ्टवेयर र आर्टिफिसियल इन्टेलिजेन्स (कृतिम बौद्धिकता)  को मामिलामा राम्रा छन्।”

ठूलो मात्रामा उत्पादन गर्नसक्ने टेस्लाको क्षमताका कारण यो कम्पनी अरूभन्दा एक कदम अगाडि छ। यद्यपि विद्युतीय कार क्षेत्रमा उल्लेखनीय प्रगति गर्नको लागि टेस्लालाई अन्य प्रतिस्पर्धी आवश्यक रहेको अञ्जन कुमार बताउँछन् ।

अञ्जन कुमार भन्छन्, “तपाईँले विश्वभरका सडकमा करिब दुई अर्ब कार पाउनु हुनेछ । तर तिनीहरूको तुलनामा विद्युतीय कारको सङ्ख्या एक करोड मात्र छ । टेस्ला एक्लैले बजारको आवश्यकता पूरा गर्न सक्ने छैन । बजार र उपभोक्ताका लागि टेस्ला बाहेक मर्सिडिज बेन्ज, बीएमडब्लू, फक्सवागन, अडी, फोर्ड, टोयोटा, हुन्डाई सबैले विद्युतीय कार बनाउ जरुरी छ ।”

तर टेस्ला महत्वाकाङ्क्षी छ । कम्पनीले टेक्सास, बर्लिन र साङ्घाईमा कारखाना बनाइरहेको छ । सन् २०२० को आफ्नो ‘इम्प्याक्ट रिपोर्ट’ (प्रभाव सम्बन्धी प्रतिवेदन) मा उसले सन् २०३० सम्ममा प्रत्येक वर्ष दुई करोड विद्युतीय कार उत्पादन गर्ने लक्ष्य राखेको छ ।

अञ्जन कुमारको बुझाईमा यी सबै प्रयासहरूमा कम्पनी विद्युतीय कार बनाउने दाउ खेलिरहेको छ, जसमा ठूलो जोखिम हुनसक्छ ।

अञ्जन कुमार भन्छन्, “कल्पनामै सही मानौँ यदि विद्युतीय यकार असफल भइदिए भने के होला ? यदि अचानक हाइड्रोजन फ्युल सेलमा कुनै ठूलो खोज हात लाग्यो भने यो प्रविधि टेस्लासँग छैन । टोयोटा र मर्सिडिज जस्ता कार निर्माता कम्पनीहरू विभिन्न प्रविधिहरूमा काम गरिरहेका छन् । उनीहरू विद्युतीय कारका साथै फ्युल सेल र हाइब्रिड कारहरू बनाइरहेका छन् । यो मामिलामा टेस्ला पछाडि छ।”

अब मूल प्रश्नमा फर्कौं – एलन मस्कको टेस्ला छोटो समयमै विश्वको प्रमुख विद्युतीय कार कम्पनी कसरी बन्यो र यसको अगाडिको भविष्य के होला ?

यसमा कुनै शंका छैन कि टेस्ला एउटा महत्वाकाङ्क्षी कम्पनी हो । जोसँग प्रभावकारी प्रविधि छ । कम्पनीले पहिलो पटक सन् २०२० मा लगातार चार त्रैमासिकसम्म नाफा कमाएको थियो । साथै सन् २०२१ मा पहिलो पटक नौ लाख तीस हजार कार बिक्री गर्‍यो । 

तर कम्पनीको भविष्य साँच्चिकै सुनौलो छ भन्ने विषयलाई लिएर चर्चा अझै सकिएको छैन । नवप्रवर्तनको मामिलामा कम्पनीलाई आफ्ना प्रतिस्पर्धीभन्दा अगाडि रहनुपर्नेछ, सस्तो कार बनाउनुपर्नेछ, आफ्नो उत्पादन बढाउनुपर्नेछ र नयाँ बजारको खोजी गर्नुपर्नेछ ।  

यो अलिकति मुश्किल त छ, तर असम्भव भने छैन । साथै यो कुरा पनि साचो हो कि आउँदा दिनमा टेस्ला ठूलो खेलाडी होस् वा नरहोस्, विद्युतीय कारको मैदानमा नयाँ खेलाडी उसका प्रतिद्वन्द्वी बन्नेछन् र उसलाई कडा चुनौती समेत दिनेछन् ।

बीबीसीको सहयोगमा 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२