close

अन्तरिक्ष केन्द्रको जिन्दगी, जहाँ दिसा तान्न ‘भ्याकुम क्लिनर’ चाहिन्छ

टेकपाना टेकपाना

जेठ २६, २०७९ २०:५७

अन्तरिक्ष केन्द्रको जिन्दगी, जहाँ दिसा तान्न ‘भ्याकुम क्लिनर’ चाहिन्छ

काठमाडौं । “म एकदमै आनन्द महसुस गरिरहेको छु, यहाँ मेरो  लागि सबै कुरा राम्रो छ र यो मेरो दोस्रो घर जस्तै छ,” जर्मन अन्तरिक्ष यात्री मार्टियाज भन्छन् । उनी त्यहाँबाट ट्याक्सी बुक गरेर घर फर्किन सक्दैनन् ।

उनी अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र अर्थात आईएसएसमा बस्छन् । अन्तरिक्षमा चारैतर्फ गहिरो र एकदमै अँधेरो छ । भलै उनलाई त्यहाँ घरजस्तै महसुस भइरहेको किन नहोस्, तर उनको शरीर खासगरी दिमाग भार अर्थात तौल विहीन अवस्थाबाट खुसी छैन ।

“बानी पार्न केही समय लाग्यो । मेरो मतलव सुरुवाती दिनमा यहाँ उड्दा रिङ्गटा लाग्छ । तपाईँको दिमागले लगातार थ्रीडी परिवेशबाट कसरी पार पाउने भन्ने कुरा सिकिरहेको हुन्छ । मतलब तपाईँ हर दिशामा काम गर्नुहुन्छ, हरेक पर्खालमा तल माथि हरेक स्थानमा ।”

जर्मन अन्तरिक्ष यात्री मार्टियाज । स्रोतः डीडब्लू न्युज

मार्टियाज भन्छन्, “सुरुवातमा तपाईँ धेरै सामान हराउने गर्नुहुन्छ । त्यसैले तपाईँ आधा समय त हराएको सामान खोज्ने कार्यमा लगाउनु हुन्छ । तर म भन्छु करिब १० दिनमा तपाईँ यो नयाँ परिवेशमा शून्य गुरुत्वाकर्षणमा अभ्यस्त बन्न सक्नुहुन्छ ।” 

तर हप्तौँसम्म अन्तरिक्षमा रहँदा पछि पनि यी जर्मन अन्तरिक्ष यात्री अझै त्यति धेरै खुशी छैनन् । “म आफैँलाई निकै सानो भएको महसुस हुन्छ । मेरो मतलब रिँगटाबाट हैरान भएर होइन कि जब तपाईँ बिहान पख उठ्नुहुन्छ, तब तपाईँको दिमागले पूर्ण किसिमले काम गरिरहेको हुँदैन ।”

“तपाईँलाई राम्रोसँग ब्युँझिनका लागि केही मेहनत गर्नुपर्ने हुन्छ । यस दौरान तपाईँ शतप्रतिशत तरोताजा हुनुहुन्न, म भन्छु त्यस्तै ९५ प्रतिशत । यसले अन्तरिक्षमा कामलाई अझ मुस्किल बनाइदिन्छ । किन भने तपाईँ गल्ति गर्नुहुन्छ । चाँडै कुराहरू बिर्सिनुहुन्छ । जस्तै मेरा साथीहरू भन्छन् धर्तीको तुलनामा अन्तरिक्षमा गणित ज्यादा मुस्किल छ ।” उनी भन्छन् । 

अन्तरिक्षमा तपाईँ बिना रोकतोक तैरिन सक्नुहुन्छ । “तपाईँले तस्वीरमा हेर्नु भयो भने पनि अन्तरिक्ष यात्री धर्तीमा फरक देखिन्छ र अन्तरिक्षमा आएपछि अलग । यहाँ तपाईँको अनुहार केही मोटो हुनपुग्छ, गोलाकार । म त भन्छु तपाईँको अनुहार चन्द्रमा जस्तै गोल भइदिन्छ ।”

“यस्तो किन हुन्छ भने मुटुबाट रगत हाम्रो शरीरका बिभिन्न भागमा जान्छ । धर्तीमा गुरुत्वाकर्षण हुन्छ, जसले गर्दा रगत खुट्टातर्फ जान्छ । तर यहाँ अन्तरिक्षमा मेरा खुट्टा पातला भइसकेका छन् । किन भने रगत धर्तीमा जस्तो खुट्टातर्फ जाँदैन । मुटुबाट पम्प हुने रगत शरीरको माथिल्लो भागमा जाने गर्दछ । त्यसै कारण तपाईँलाई मेरो अनुहार केही रातो देखाइरहेको छ,” अन्तरिक्ष यात्री मार्टियाज भन्छन् ।

स्रोतः डीडब्लू न्युज

यद्यपि शीर ठूलो हुनुको अर्थ स्याम्पु पनि धेरै आवश्यक हुन्छ । यसलाई अन्तरिक्षको भाषामा “पप्पी फेस, चिकेन लेग सिन्ड्रोम” भनिन्छ । यसबाट त्यस्तो धेरै समस्या त हुँदैन । तर जब दिमागतर्फ रगत धेरै जाने हुँदा त्यहाँको स्थान कम हुन्छ ।

“यहाँ क्रेनियल प्रेसर धेरै हुने गर्छ । यसले गर्दा धेरै तरल दिमागमा जान्छ, जसले अप्टिकल नर्भमा दबाब पर्छ । साथै आँखामा समेत दबाब पार्न सक्छ । अन्तरिक्षमा हाम्रो हेराइमा फरक आउँछ । आँखाको हेराइ धमिलिँदै जान्छ ।”

“यसको अर्थ टाढा रहेको चिजलाई पढ्न बढी कठिन हुन्छ । यद्यपि मलाई कम असहज छ । तर केही अन्य व्यक्तिहरूलाई चस्माको आवश्यकता पर्छ, भलै उनीहरू धर्तीमा चस्माको प्रयोग गर्दैनन् । मेरो साथमा नजिक र टाढा दुवै किसिमका चस्मा छन् । तर मलाई यी मध्ये कुनैको आवश्यकता पनि परेको छैन ।”

स्रोतः डीडब्लू न्युज

स्पेस स्टेसनमा एउटै जस्तो देखिने निरस दृश्यले गर्दा आँखाको कुनै विशेष कसरत गराउँदैन । स्पेस एजेन्सीका डाक्टर आँखाको यस किसिमको समस्याको पछाडि एउटा अर्को कारण देख्छन् । अन्तरिक्षमा आँखाले कुनै कुनै बेलामा मात्र टाढा केन्द्रित गर्न सक्छ । 

स्रोतः डीडब्लू न्युज

अन्तरिक्ष यात्रीहरूसँग यस्ता दृश्य देख्नका लागि कहिले काहीँ मात्र खाली समय हुन्छ । मार्टियाज भन्छन्, “आशा छ जब म धर्तीमा फर्किनेछु, आँखाको हेराइ फेरि ठीक हुनेछ । केही अन्तरिक्ष यात्रीहरूका लागि यस किसिमको परिवर्तन अन्तरिक्षमै रहँदाको बखत देख्न मिल्छ । कसैको हेराइमा यस्तो असर लगातार रहिरहन्छ, अन्तरिक्षबाट फर्किएपछि पनि ।”

नाक समेत तौल शून्यतामा अभ्यस्त हुने गर्छ । त्यसै पनि स्पेस स्टेसनमा त्यस्तो चिज धेरै छैन, जसले नाकलाई काममा लगाइरहोस् । माथिल्लो हिस्सामा तरल पदार्थ बढी हुने भएकाले सुँघ्ने नसाहरूमा दबाब बढ्न पुग्छ ।

उनी भन्छन्, “वास्तवमा मेरो सुँघने चेतना बदलिएको छ । मेरो नाक लामो छ र पहिला म मजाक उडाउँथे कि मेरो दिमागमा गन्ध पुग्नु अघि त्यो मेरो लामो नाकमा अड्किरहन्छ । त्यहाँ पनि मेरो सुँघ्ने क्षमता त्यति धेरै थिएन । तर अन्तरिक्षमा यो अझ सुस्त भइसकेको छ । स्वादको चेनामा पनि केही त्यस्तै भइदिन्छ, जब हामी कम खाना खाने गर्दछौँ ।”

त्यसैले अन्तरिक्षमा पठाउने खाना निकै मसालेदार हुने गर्दछ । भलै त्यो ट्युब तथा ब्यागमा आउने नै किन नहोस्, त्यसका लागि अन्तरिक्ष यात्रीहरूमा उत्साह हुने गर्छ । 

पेट समेत अन्तरिक्षमा भारहीन हुने गर्छ । धर्तीमा हुँदा पेटको ग्यास सतहमा आउँछ र केही साना हिस्सा पेटको भित्री भागमा जाने गर्दछन् । यसैबीच पाचन प्रक्रिया हुने गर्दछ । भार शून्यताको स्थितिमा डकारमार्फत ग्यासको साटो ठोस पदार्थ शरीरबाट बाहिर आउन सक्छ । जुन राम्रो होइन । त्यसैले अन्तरिक्षमा ग्यासयुक्त पेय पदार्थमा रोक लगाइएको हुन्छ । 

“तर यहाँ अन्तरिक्षमा डकार आउँदैन । त्यसैले ग्यासबाट छुट्कारा पाउने एउटै तरिका छ, पाद्नु । यहाँ स्पेस स्टेसनमा अन्य कयौँ गन्ध हुने गर्दछन् । त्यसैले यिनलाई नाकले नसुँघ्नु यो परिस्थितिमा एक तरिकाको फाइदा हो,” मार्टियाज भन्छन् ।

तर तर जब प्रेसर बढ्छ, त्यसका लागि स्पेस स्टेसनमा ट्वाइलेट समेत छ । यद्यपि यो भ्याकुम क्लिनर जस्तै छ । किन कि भार हीनताको स्थितिमा कुनै पनि चिज निर्धारित स्थानमा खस्दैन । “म भन्छु कि हामी धेरै जसो समयमा पाद्ने काम गर्दैनौँ । किन कि हामी आम मानिस जस्तै हौँ,” उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६