close

फ्री वाई-फाईमा अनलाइन कारोबार गर्दा हुनसक्छ यस्तो जोखिम

टेकपाना टेकपाना

असार ७, २०७९ १३:१५

फ्री वाई-फाईमा अनलाइन कारोबार गर्दा हुनसक्छ यस्तो जोखिम

काठमाडौं । हामीमध्ये धेरैले पब्लिक वाई-फाई आफ्नो स्मार्टफाेनमा कनेक्ट गर्नुअघि एक पटक पनि सोच्दैनौं । तपाईंको पनि फ्री वाई-फाई पाउनासाथ हत्तपत्त कनेक्ट गरिहाल्ने बानी हाेला । घर, कार्यालयजस्तै सार्वजनिक स्थलमा हुने फ्री वाई-फाई पनि उस्तै हो भन्ने सोच होला ।

अर्कोतर्फ कतिपयलाई पब्लिक वाई-फाई प्रयोग गर्नुपर्ने बाध्यता पनि होला । घरबाहिर जाँदा इन्टरनेट पहुँचमा रहन मोबाइल डेटा लिनुको सट्टा यस्ता फ्री वाई-फाई प्रयोग गर्न सकिन्छ ।

यतिमात्रै होइन, पसल, रेस्टुराँ वा अन्य ठाउँमा जाँदा अनलाइन भुक्तानीका लागि पनि हामीलाई इन्टरनेट चाहिन्छ । यस्तो अवस्थामा पब्लिक वाई-फाईमार्फत् मोबाइल बैंकिङ वा डिजिटल वालेटबाट भुक्तानी गर्ने गर्छौं ।

अनलाइन भुक्तानी गरिरहँदा कतै हाम्रो बैङ्क अकाउन्ट वा वालेट त जोखिममा छैन भन्ने प्रश्व उठ्नसक्छ । वास्तवमा इन्टरनेट प्रयोग गर्दा जोखिम त जहाँकहीँ पनि हुन्छ नै । तपाईं कत्तिको सजग हुनुहुन्छ भन्ने कुराले साइबर सुरक्षालाई निर्धारण गरेको हुन्छ ।

सार्वजनिक स्थलमा हुने सशुल्क वा निःशुल्क वाई-फाईमा जोखिम त हुन्छ । तर, कस्तो किसिमको जोखिम भन्ने कुरा आउँछ ।

नेपालमा अहिले प्राय सार्वजनिक स्थलमा वर्ल्डलिङ्क कम्युनिसेन्सले फ्री वाई-फाई सुविधा दिइरहेकाे छ ।

साे कम्पनीका प्रमुख प्राविधिक अधिकृत समित जन थिङ भन्छन्, ‘इन्टरनेटको क्षेत्रमा सुरक्षाको जोखिम त हुन्छ नै । निःशुल्क उपलब्ध हुने वाई-फाईमा चैं केही कुरामा सजग हुनुपर्छ ।’

उनी अगाडि थप्छन्, ‘यदि प्रयोगकर्ताले घर/अफिसकै वाई-फाई प्रयोग गरेर पनि अनाधिकारिक साइटमा लगईन गरिरहेको छ भने उसको डेटा ब्रिच हुने सम्भावना बढी हुन्छ । उनीहरूको बैङ्क विवरण कसैको कब्जामा हुने सम्भावना धेरै हुन्छ ।’

थिङका अनुसार वर्ल्डलिङ्कको फ्री वाई-फाई त्यत्तिकै सुरक्षित छ, जत्तिको घरको वाई-फाई छ । घरको वाई-फाई र फ्रि वाई-फाईमा पासवर्ड हान्न नपर्ने बाहेक अन्य भिन्नता नभएको उनी बताउँछन् ।

‘तर, सुरक्षित छ भन्दैमा आँखा चिम्लेर पनि विश्वास गर्नुहुँदैन,’ उनी भन्छन्, ‘फ्री वाई-फाई उपलब्ध गराउने संस्था वर्ल्डलिङ्क नभएर अरू कोही पनि हुनसक्छ । उदाहरणका लागि कुनै पनि व्यक्तिले आफ्नो फोन वा कम्प्युटरबाट फ्रि वाई-फाई हटस्पट माध्यमबाट उपलब्ध गराएको हुनसक्छ । जुन प्रयोगकर्ताको डेटा लिने उद्देश्यले सञ्चालन गरिएको हुन्छ । त्यसैले निःशुल्क प्रयोग गरिरहेको भए पनि नाम ख्याल गरेर, कस्तो वेबसाइटमा लगईन गरिरहेको छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ ।’

फ्री वाई-फाईलाई आधार बनाई ह्याकर वा साइबर अपराधीले प्रयाेगकर्ताकाे व्यक्तिगत वा वित्तीय जानकारी लिने मनशाय राख्नसक्छन् । यदि फ्री वाई-फाई उपलब्ध गराउने व्यक्तिले तपाईंको बैङ्क अथवा ई-सेवा, खल्तीको डिटेल पाएको खण्डमा आफ्नो डिभाइसमा लगईन गर्न ओटीपी आवश्यक पर्छ । जुन तपाईंले उपलब्ध नगराएसम्म सो व्यक्तिले आफ्नो डिभाइसमा लगईन गर्न सक्दैन ।

कतिपय व्यक्तिले फ्री वाई-फाई त्यसरी बनाएका हुन्छन्, जहाँ इन्टरनेट प्रयोग गर्न उनीहरूले उपलब्ध गराएको साइट भिजिट गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा तपाईंका डेटा चोरी हुनसक्ने सम्भावना प्रबल रहन्छ ।

यसमा तपाईं कत्तिको सजग हुनुहुन्छ वा इनसेक्युअर (असुरक्षित) साइटबारे कत्तिको जानकार हुनुहुन्छ भन्ने कुराले फ्री वाई-फाई चलाउने नचाउने कुरा निर्धारण गर्छ ।

यसकारण अनलाइन काराेबारका लागि भरसक फ्री वाई-फाई प्रयोग नगर्नुहोस् । यदि प्रयोग गर्नैपर्ने अवस्था आएमा सुरक्षाका उपाय अपनाउनुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३